BIZMANDU
www.bizmandu.com

महिला लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३००० रुपैयाँ नाघ्यो, लगातार डेढ महिनादेखि बढेको बढ्यै 

२०७८ बैशाख १६


काठमाडौं। डेढ महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको महिला लघुवित्तको सेयर मूल्य बिहिबार तीन हजार रुपैयाँ नाघेको छ।

Tata
GBIME

गत वर्ष चैत्र २ गते सोमबार नेप्सेमा सूचीकृत भएको लघुवित्तको सेयर दोस्रो बजारमा चैत ३ गते मंगलबारदेखि कारोबारमा आएको थियो।

कम्पनीको पहिलो कारोबार ४३८ रुपैयाँमा भएको थियो। त्यसपछिको डेढ महिना सम्म ३० करोबार दिनमा हरेक दिन १० प्रतिशतले मूल्य बढ्दै बैशाख १६ गते प्रति कित्ता ३१२५ रुपैयाँमा किनबेच भएको हो।

सुरुवाती दिनमा १/१ कित्ता मात्रै सेयर समेत किनबेच भएको लघुवित्तको सेयर ६०० रुपैयाँ मूल्य पुग्दा सम्म दैनिक औसत २० कित्ता मात्रै किनबेच भएको थियो। १० कारोबार दिन सम्म कम्पनीको २०० कित्ता मात्रै सेयर किनबेच भइ प्रतिकित्ता मूल्य ६०० रुपैयाँ नाघेको थियो।

लगातार १८ कारोबार दिनमा कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढ्दै प्रतिकित्ता मूल्य १००० रुपैयाँ नाघेको थियो। यतिन्जेल कम्पनीको ५०० कित्ता सेयर मात्रै किनबेच भएको थियो।

त्यस्तै २५ कारोबार दिन सम्म पनि १०/१० प्रतिशतले मूल्य बढ्दै प्रतिकित्ता सेयर मूल्य २००० रुपैयाँ नाघेको थियो। त्यसपछि पनि कम्पनीको सेयर आपूर्ति हुन सकेन। 

बिहीबार पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३१२५ रुपैयाँ पुगेपछि लगातार ३० कारोबार दिनसम्म मूल्य बढ्ने दोस्रो कम्पनी बनेको छ। यस अघि चन्द्रागिरी हिल्सको सेयर मूल्य लगातार ३३ कारोबार दिन सम्म बढेको रेकर्ड छ।

बिहीबार पनि कम्पनीको सेयर माग दुई लाख कित्ता भन्दा बढी रहेको छ। समाचार तयार पार्दा सम्म ५०० कित्ता सेयर मात्रै किनबेच भएका छन्। १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सर्वसाधारणलाई चार करोड रुपैयाँको साधारण सेयर बिक्री गरेको थियो।