BIZMANDU
www.bizmandu.com

सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्र, ‘सम्भव भएसम्म सबै काम विद्युतीय माध्यमबाट गर्नू’

२०७८ बैशाख १६

सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्र, ‘सम्भव भएसम्म सबै काम विद्युतीय माध्यमबाट गर्नू’
सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको पत्र, ‘सम्भव भएसम्म सबै काम विद्युतीय माध्यमबाट गर्नू’

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले कोरोना संक्रमणको दोस्रो लहरसँगै सेवा प्रदायकहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गरेको छ। 

प्राधिकरणले दूरसञ्चारसँगै इन्टरनेट सेवा प्रदायकहरुलाई सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाई साथ पालना गर्न निर्देशन दिएको छ। सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपायहरु अबलम्बन गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ।

प्राधिकरणले सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था गरी सेवा प्रवाह गर्ने र सेवाको महशुल भुक्तानीलगायतका अन्य सेवाहरु सकभर विद्युतीय माध्यमबाट गराउन सबैलाई आग्रह गरेको छ।  

सेवा प्रदायकहरुको सर्भिस सेन्टरबाट हुन सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न झ्याल, ढोका खुला राख्दै स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ। 

यस्तै, बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरु सबै भर्चुअल माध्यमबाट गर्न आग्रह गरेको छ। कार्यालयमा कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य गर्ने वातावरण मिलाउन र आवश्यकताका आधारमा वर्क फ्रम होम, सिफ्टमा कार्यसम्पादन लगायत उपाय अबलम्बन गर्न पनि सूचित गरेको छ।

त्यसैगरी, कर्मचारीहरुमा संक्रमणको शंका लागेमा अविलम्ब पीसीआर परिक्षण गर्ने व्यवस्था मिलाउन र संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसनमा राख्ने तथा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीहरुलाई तुरुन्त क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सेवा प्रदायकहरुलाई आग्रह गरेको छ। 

प्राधिकरणले सेवा प्रदायक संस्थाहरुले कोभिड-१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि व्यवस्थापन समूह गठन गरी सो समूहलाई सक्रिय रुपमा परिचालन गर्न अनुरोध गरेको छ।