BIZMANDU
www.bizmandu.com

थोरै कमाउने पनि होलान् त घरजग्गा परियोजनाको मालिक, स्टक ब्रोकरले दिए सेयर बजारमा ल्याउन सुझाब


Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौंसहित देशका ठूला सहरहरुमा करोड घटी घरजग्गा जोड्न असम्भव छ। घरजग्गा परियोजना विकास गर्नै पनि व्यवसायीहरुले अर्बौं लगानी नगरी बन्ने अवस्था छैन।

व्यवसायीलाई चुनौतीसँगै जग्गाको भाउ अचाक्ली चर्किँदा करोडौं रुपैयाँ जोहो गर्न नसक्नेहरुका लागि काठमाडौंसहित देशका ठूला सहरहरुमा घरजग्गा जोड्ने अब सपना मै सीमित भइसकेको छ।

स्वयं डेभलपरहरु नै ठूलो लगानी गरेर ल्याइएको रियल इस्टेट परियोजना उपभोक्ताले खरिद गर्नै नसक्ने बताउन थालेका छन्। साथै, बनेका घरजग्गा परियोजनाहरु पनि अब लाखौं वा करोडौं कमाउने व्यक्तिले मात्रै किन्ने अवस्था बनेको छ। 

न्यून वा कतिपय अवस्थामा मध्यम आय भएका व्यक्तिहरुले पनि घरजग्गा जोहो गर्न सक्ने क्षमता छैन। घरजग्गा जोड्ने भन्दा पनि घरजग्गा परियोजना निर्माणमा नै कम आय भएका व्यक्तिहरुलाई समेट्न पुँजी बजारमा ल्याउनुपर्ने स्टक ब्रोकरको निष्कर्ष छ।

घरजग्गाको मुबोली भाउको च्याँखे थापेर मोटो रकम निश्चित व्यक्तिको खल्तीमा अट्दा घरजग्गा परियोजनाको सेयरधनी बनाउने उद्देश्यले सामुहिक लगानी कोष नै खडा गर्न उनीहरु लबिङमा जुटेका छन्।

चन्द्रागिरि हिल्स वा अन्य कुनै पनि कम्पनीले प्राथमिक सेयर निष्कासन गर्दै पुँजीसँगै परियोजनामा सर्वसाधारणलाई सेयर बिक्री गरेर अपनत्व हासिल गरेजस्तै ब्रोकरहरु घरजग्गाका परियोजनामा लगानी कोषमार्फत् कम आम्दानी हुने लगानीकर्ताबाट स्रोत जुटाउन लागेका हुन्।

कम्पनीमार्फत् घरजग्गामा लगानी हुँदा पारदर्शितासँगै सरकारको करको दायरसमेत फराकिलो हुने भन्दै स्टक ब्रोकर एशोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सुझाव दिँदै इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट ट्रष्ट र रियल स्टेट इन्भेष्टमेन्ट ट्रष्टको स्थापना गर्न आवश्यक नीतिगत व्यवस्था गर्न माग गरेको छ।  

सेयर बजारमा वित्तीय क्षेत्रका कम्पनीहरुको उपस्थिति धेरै भएकाले लगानी विविधीकरणका लागि नयाँ अवसर स्वरुप यो कन्सेप्ट ल्याइएको एसोसियसनका अध्यक्ष सन्तोष मैनालीले बिजमाण्डूलाई जानकारी दिए। 

नयाँ अवसर नहुँदा लगानीकर्ता अस्थिर भएको भन्दै पुँजी बजारमा लगानीका नयाँ माध्यम भित्र्याउनु पर्नेमा उनको जोड छ।

'सेयर बजार बढेको समयमा लगानीकर्ता भित्रिने तर, घटेको बेला पलायन हुने प्रवृत्तिलाई रोक्न लगानी विविधीकरण गर्नुपर्ने समय आएको छ। लगानीका नयाँ अवसरहरु आए लगानीकर्ता बाहिरिने संख्या घटेर सेयर बजार सरल रुपमा अघि बढ्न सहयोग पुग्छ,' मैनालीले भने।

नेपाली अर्थतन्त्रमा तीव्र गतिमा रियल इस्टेट बजार वृद्धि भइरहेको र यसको लाभ पैसा हुने वा पहुँच पुगेका व्यक्तिहरुसँग मात्रै रहेकाले कोष मार्फत् थोरै पुँजी भएका व्यक्तिहरुलाई पनि लाभ पुर्‍याउनु पर्ने उनले बताए। 

 नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष भेषराज लोहनी घरजग्गा व्यवसायलाई पनि सेयर बजारमा ल्याउने योजना राम्रो रहेको बताउँछन्।

विभिन्न देशहरुमा धेरै सहकारीहरु मिलेर घरजग्गा विकास गरेको उदाहरण प्रस्तुत गर्दै लोहनीले यसो हुन सके नेपालको रियल इस्टेट क्षेत्रको संस्थागत विकासमा व्यवसायिकता ल्याउने जानकारी दिए।

देशभित्र घरजग्गा कारोबारमा अनौपचारिक प्रवृत्ति मोलाएको भन्दै उनले कम्पनीमार्फत् परियोजना विकास भए उपभोक्ता, डेभलपरदेखि सरकारसम्मलाई फाइदा पुग्ने बताए।

कसरी काम गर्छ कोषले?

कुनै पनि लगानीकर्ताले कोषको निश्चित कित्ता सेयर खरिद गरेर लाभ लिन सक्ने बताइएको छ। घर, जग्गा वा पूर्वाधारमा लगानी गर्ने क्षमता नभएका लगानीकर्ताहरुले आफ्नो हैसियतअनुसार कोषमा युनिट खरिद गर्न पाउने मैनालीले बताए। 

'लगानी कोषले रियल इस्टेट परियोजना जस्तै हाउजिङ, अपार्टमेन्ट, जग्गा विकास, होटल, व्यापारिक कम्प्लेक्स अथवा अन्य पूर्वाधारमा लगानी गर्छ। लगानीबाट आएको लाभ लगानीकर्ताहरुलाई वितरण हुन्छ,' मैनालीले भने। 

घरजग्गामा लगानी गर्न ठूलो पुँजी चाहिने अहिलेको अवस्थामा सानो पुँजी लगानी गरेर लाभ पाउन सक्ने माध्यम अहिले छैन। रियल इस्टेट वा पूर्वाधारमा प्रत्यक्ष लगानी नगरे पनि लगानीकर्ताहरुले अप्रत्यक्ष बाटोबाट आफ्नो पुँजी परिचालन गर्ने अवसर पाउने दाबी मैनालीको छ।  

यस्तै, कोषबाट पूर्वाधार सम्बन्धी परियोजना निर्माणको लागि पुँजीको उपलब्धता बढ्ने दाबी एशोसिएसनको छ। 

कोष खडा गरेर पूर्वाधार र रियल इस्टेटमा लगानी गर्ने चलन पश्चिमा देशहरुसँगै विगत ६/७ वर्षदेखि भारतमा पनि सुरु भएको उनले बताए। 

रेमिट्यान्सबाट भित्रिने ठूलो रकम घरजग्गा कारोबारमा प्रयोग भइरहेकाले कोष निकै उपयोगी हुने उनले बताए। यस्तै, कोषबाट युनिट किनेरै प्रतिफल पाउने भएकाले जग्गा खण्डीकरणसमेत घट्ने दाबी मैनालीको छ। कोषमार्फत् लगानी र प्रतिफल आउने भएकाले सरकारलाई करको दायरा विस्तार गर्न टेवा पुग्ने उनले बताए। 

एशोसिएसनले यस्ता कोषहरुलाई प्रोत्साहन गर्न निश्चित अवधिका लागि कर छुटलगायतका सुविधा उपलब्ध गराइ साना लगानीकर्ताहरुले समेत लाभ पाउने परिस्थिति निर्माण गर्न सरकारसँग माग गरेका थिए।

सरकारले आवश्यक नीतिगत व्यवस्था लागु गरेर सेयर बजारलाई परिस्कृत गर्दै लैजानु पर्ने माग ब्रोकरहरुको छ। कर छुटलगायतका माध्यमबाट पूर्वाधार र घरजग्गालाई पुँजी बजार प्रवेश गराउनु पर्ने तर्क ब्रोकरको छ।