BIZMANDU
www.bizmandu.com

साल्ट ट्रेडिङले फेरि खाद्यान्नको घुम्ती सेवा सुरु गर्‍यो, आवश्यक परे उपत्यकाबाहिर पनि पठाउने

२०७८ बैशाख १४

Tata
GBIME
Nepal Life

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्यान्न घरघरै पुर्‍याउनका लागि घुम्ती सेवा सुरु गरेको छ। निषेधाज्ञाको समयमा खाद्यान्नको आपूर्ति सहज बनाउनका लागि यो सेवा सुरु गरिएको कर्पोरेशनले जनाएको छ।

कर्पोरेशनले गत वर्ष लकडाउन र निषेधाज्ञाको समयमा उपत्यका र बाहिरका जिल्लामा मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेको थियो। कोभिड नियन्त्रण हुन थालेपछि वाणिज्य मन्त्रालयले घुम्ती सेवा सञ्चालनमा रोक लगाएको थियो।

'पूर्व तयारी गर्दैछौं। आजै दुई वटा मोबाइल भ्यान परीक्षणको लागि पठाएका छौं,' साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले भने। 

पहिले दुई वटा मोबाइल भ्यानबाट सुरु गर्ने र पछि उपभोक्ताबाट आएको प्रतिक्रिया हेरेर भ्यान थप्न सक्ने उनले बताए। सर्वसाधारणका लागि टोल टोलमा खाद्यान्न पुर्‍याउने व्यवस्था भएपछि यस अघिको लकडाउनमा साल्ट ट्रेडिङले घुम्ती सेवामार्फत धेरै कारोबार गरेको थियो।

उक्त समयमा एउटा मोबाइल भ्यानबाटै दैनिक एक लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको थियो। अहिले सरकारले बन्दको समयमा खाद्यान्न पसलहरु संचालनका लागि समय तोकेको छ। हाल लकडाउनको समय जस्तो पूरै बन्द नहुने भएकाले खाद्यान्न खरिदको त्यति समस्या देखिँदैन। तर पनि साल्ट ट्रेडिङले पूर्व तयारी थालेको जनाएको छ।

'बजारमा खाद्यान्नको आपूर्तिमा समस्या त नहोला तर कहिँकतैबाट पहिले जस्तो माग आउन सक्छ। यसका लागि हामीले मन्त्रालयमा खबर गरी घुम्ती सेवा सञ्चालन गर्न लागेको बताइसकेका छौं,' सूचना अधिकारी राजभण्डारीले बताए।

सरकारी कम्पनी भएकाले बजारको भन्दा खाद्यान्नहरु सहुलियत मूल्यमा पाइने भएकाले उपभोक्ता साल्ट ट्रेडिङको खाद्यान्न किन्न रुचाउँछन्।

उपत्यकामा मात्र नभइ बाहिरका जिल्लाहरुमा पनि मोबाइल भ्यान मार्फत खाद्यान्न डेलिभरी गर्ने साल्ट ट्रेडिङको योजना छ।

'माग हेरेर उपत्यकाबाहिर पनि मोवाइल भ्यान पठाउने गरिएको छ । अहिले पनि धेरै माग आए हामी पठाउने तयारीमा छौं,' सूचना अधिकारी राजभण्डारीले भने। पहिले पनि नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाहरुमा घुम्ती सेवामार्फत साल्ट ट्रेडिङको खाद्यान्न बिक्री भएको थियो ।

घुम्ती सेवासँगै सबै आउटलेटहरुबाट पनि खाद्यान्न बिक्री हुनेछ। साल्ट ट्रेडिङले चिनी, नुन, गेडागुडी, दाल, चामल र ग्यास बिक्री गरिरहेको छ। घुम्ती सेवामार्फत प्याकिङ गरिएका खाद्यान्नहरु मात्र मोबाइल भ्यानमा उपलब्ध हुने कम्पनीले जनाएको छ।