BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमका ३ हजारसम्मका प्याक खल्तीमा उपलब्ध, मोबाइल एपबाटै किन्न मिल्ने

२०७८ बैशाख १२

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाट किन्न सकिने भएको छ।

 नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धी सम्झौता भएको हो। खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको  मोबाइल नम्बरका लागि समेत खरिद गर्न सकिने बताइएको छ । सम्झौतापत्रमा  नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे।

नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने जारी बिज्ञप्तीमा जनाइएको छ । यसअनुसार  उपभोक्ताले  नेपाल टेलिकमको विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन् ।

खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमको डाटा प्याकलाई मोबाइल एपमै ल्याएको बताए।

‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरुलाई समेत सजिलो भएको छ।’

नेपाल टेलिकमका १२ रुपैयाँदेखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्ने बिज्ञप्तीमा जनाइएको छ।