BIZMANDU
www.bizmandu.com

उत्पादकहरुले सप्लाई बढाउँदा फोन आयात बढ्यो, चैतमा ३ अर्ब ३३ करोडभन्दा बढीको आयात


उत्पादकहरुले सप्लाई बढाउँदा फोन आयात बढ्यो, चैतमा ३ अर्ब ३३ करोडभन्दा बढीको आयात
उत्पादकहरुले सप्लाई बढाउँदा फोन आयात बढ्यो, चैतमा ३ अर्ब ३३ करोडभन्दा बढीको आयात

Tata
GBIME
Nepal Life

काठमाडौं। फागुनमा ओरालो लागेको फोनको आयात चैतमा भने उकालो लागेको छ। विश्व बजारमा चिप्स अभावले फोन उत्पादन नै कम हुँदा आयात घटेको थियो। तर, चैतमा फागुनको तुलनामा एक लाख ८१ हजार आठ सय ६१ थान बढी फोन भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाउँछ। 

फागुनमा ६ लाख २४ हजार पाँच सय ७९ थान स्मार्टफोन भित्रिएकोमा चैतमा तीन अर्ब ३३ करोड ६३ लाख ४३ हजार रुपैयाँबराबरको आठ लाख ६ हजार चार सय ४० थान फोन आयात भएको छ।

फागुनमा दुई अर्ब २३ करोड ७३ लाख २५ हजार रुपैयाँबराबरका स्मार्टफोन आयात थियो। चैतमा सरकारले फोन आयातबाट ५२ करोड ८० लाख ६४ हजार रुपैयाँ भन्सार संकलन गरेको छ।

उत्पादक कम्पनीहरुले पछिल्लो समय बजारमा बढी फोन पठाइरहेकाले नेपालमा पनि आयात बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन एवम् आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले जानकारी दिए। 

माग अनुसार स्मार्टफोन आयात नहुँदा फागुनमा उपभोक्ताहरुले आफुले खोजेअनुसारका मोडल किन्न पाएका थिएनन्। आयात बढेकाले माग अनुसारको स्मार्टफोन अब बजारमा भेटिने व्यापारीहरुले बताएका छन्।  

'चिप्स अभावले महिनौंदेखि फोनको सप्लाई मागअनुसार हुन सकेको थिएन। तर, पछिल्लो समय उत्पादकहरुले बढी मात्रामा आफ्ना उत्पादन बजार पठाइरहेकाले अभाव हट्ने देखिन्छ।,' मल्होत्राले भने।

सरकारले शैक्षिकसँगै अन्य सबै गतिविधिहरु पुन: भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएकाले मोबाइल फोनको माग फेरि बढ्ने अवस्था आएको मल्होत्राले बताए। कोरोना महामारीको दोस्रो लहर सुरु हुनु अघि शैक्षिक संस्था, कार्यालयहरु अनलाइनभन्दा भौतिक उपस्थितिमै सञ्चालन हुने क्रम बढेपछि स्मार्टफोनको माग घटेको थियो। 

यस्तै, कुनै समय खुलेआम अवैध तरिकाले भित्रिएका फोन बिक्री भएपनि अहिले त्यो निकै घटेकाले फोनको माग बढ्दै जाने उनले बताए।

चालु आवको चैतसम्म २९ अर्ब ६४ करोड १८ लाख ३८ हजार रुपैयाँबराबरको ५७ लाख ९९ हजार आठ सय ९१ थान फोन आयात भएको छ। जसबाट सरकारले चैतसम्म चार अर्ब ६९ करोड १३ लाख ८५ हजार रुपैयाँ भन्सार उठाएको छ।