Bizmandu
www.bizmandu.com

‘अर्ब गुमाएकोले अर्ब कमाउँछु भन्ने कुरा मनमा तुरुन्त आइहाल्छ, राजेन्द्र शाक्यको अन्तर्वार्ता

‘अर्ब गुमाएकोले अर्ब कमाउँछु भन्ने कुरा मनमा तुरुन्त आइहाल्छ, राजेन्द्र शाक्यको अन्तर्वार्ता




राजेन्द्र शाक्य घरजग्गा व्यवसायीमा चर्चित नाम हो। परम्परागत सुन व्यापारसँगै घरजग्गा कारोबारबाट उनी नेपालको अर्बपति व्यापारीका रूपमा चिनिए।

गुण समूहका नाममा सिनेमा हल, हवाई कम्पनीदेखि बैंक तथा वित्तीय संस्थासम्म उनको होल्ड थियो। शाक्यको व्यवसायिक साम्राज्यमा राष्ट्र बैंकले ०६५ पुस २ गते ल्याएको नीतिले ठूलो धक्का लाग्यो। त्यही नीतिले घरजग्गाको कारोबार घट्यो र शाक्यको दुर्दिन सुरु भयो। उनका अर्बौ सम्पत्ति कौडीको मोलमा बेच्नुपर्‍यो।

अर्बपति व्यापारी शाक्यले भाडासमेत तिर्न नसकेपछि अफिस छोड्नुपर्‍यो। ७ वर्षको अवधिमा शाक्य फेरि रिभाइभ गरेर व्यवसायिक यात्रामा तीव्र बेग हान्दैछन्। उनै शाक्यलाई बिजमाण्डूका विज्ञान अधिकारीसुदर्शन सापकोटाले सोधे-०६५ पुस २ गते अघि तपाइँ बिलेनियर हुनुहुन्थ्यो। तपाइँका अघिपछि बैंक तथा वित्तीय संस्थाका सीइओ हुन्थे। तर, पुस २ गतेको राष्ट्र बैंकको नीतिले तपाइँको व्यवसायिक साम्राज्य एकाएक धर्मरायो। कमजोर जगमा व्यवसाय भएर त होला नि होइन?

त्यो बेला सेयर बजार र रियलस्टेट असाध्यै फस्टाएको थियो। हामी व्यवसायी र बैंकका सीइओ साबहरुलाई के हुन्छ भने- हामी व्यवसायीलाई पनि पैसा लिनु छ र बैंकका सीइओ साबहरुलाई पनि लगानी नै गर्नु छ। ऊ पनि व्यापारी नै हो। अझ भन्ने हो भने- बैंक भनेको त 'प्रफिट पार्टनर' हो। उहाँहरुलाई कहिले पनि घाटा हुँदैन, घाटा हुने भनेको हामीलाई मात्र हो। घाटा भए पनि हामीलाई नै हुने हो, नाफा भए पनि हामीलाई नै हो। बैंकहरु निश्चित प्रतिशतको 'नाफा पार्टनर' हो।

जुन हिसाबले घरजग्गामा भाउहरु बढ्यो, त्यो बेलामा त्यति धेरै बढ्न नहुने थियो। बढ्नुको अर्थ- बैंकबाट धेरै पैसा फ्लो भएरै हो। जस्तो मेरो क्यापासिटी जति छ त्योभन्दा पाँच गुणा बढी पैसा दिइरहेको छ भने म त धेरै किन्छु नि। व्यापार बढाउनु छ। त्यसले गर्दा पनि त्यो बेला भाउहरु बढ्यो। हुन त हरेक एउटा-एउटा साइकलमा व्यापारहरु क्र्यास हुने र फेरि उत्रिने यो त भइरहने कुरा हो- रियलस्टेटको केसमा।

त्यो बेलामा त्यस्तो हुँदा हुँदै ठ्याक्कै राष्ट्र बैंकले एउटा नीति ल्यायो। त्यो नीति ल्याउँदा घरजग्गा मूल्याङ्कन गरेर पैसा दिने भयो। मैले कतिमा किनेको थिएँ भन्ने सरोकार थिएन- आजको जस्तो पनि होइन। आज बुकमा पनि हेर्ने गरिन्छ। जस्तै रजिष्ट्रेसन दस्तुर अर्थात थैलीका आधारमा आजका दिनमा पैसा दिन्छ। त्यो बेला थैलीका आधारमा होइन, त्यसबेलाको मूल्यको आधारमा दिन्थ्यो।

मैले कुनै जग्गा ५० लाखमा किनेको छ भने त्यसको भ्यालुएसन केही समयपछि एक करोड भयो भने त्यसकै आधारमा पैसा पाइन्थ्यो बैंकबाट। त्यसैले मेरो ऋण लिने क्षमता त बढ्यो। फेरि त्यो बेला मूल्याङ्कनको ७० प्रतिशतसम्म अर्थात एक करोड मूल्यांकन भयो भने ७० लाख रुपैयाँ ऋण पाइन्थ्यो। मैले एक महिनाअघि ५० लाखमा किनेको जग्गा बैंकमा धितो राखेर ७० लाख ऋण लिन पाउने अवस्था थियो।

सेयरमा पनि त्यस्तै थियो। मेरो १०० रुपैयाँको सेयर बढ्दा बढ्दा एक हजार पुग्यो। त्यो बेला पनि ७० प्रतिशत लिन पाइन्थ्यो। राष्ट्र बैंककै नीतिका कारण ऋण लिने क्षमता निक्कै उच्च थियो। यसले गर्दा व्यापार बुम भयो। त्यस्तो अवस्थामा राष्ट्र बैंकले क्याप लगाइदिएपछि गाह्रो भयो। एकातिर कुल लगानीको २५ प्रतिशतमा झार्न भन्यो भने अर्कातिर मूल्याङ्कन र सीमा पनि घटाइदियो। संस्थापक र साधारण सेयरबीच अन्तर गरियो। सबै सेयर त साधारण हुँदैन। संस्थापक सेयरमा ऋणै लिन नपाउनेजस्तो गरी क्याप लगाइ दियो भने सर्वसाधारणमा पनि निकै नै घटाइदियो।

यो नीतिले रियलस्टेट र सेयर दुवैमा हान्यो। यो दुवै क्षेत्रमा मेरो धेरै एक्सपोजर थियो। अरु भनेको मेरो सानोतिनो लगानी थियो। ठूलो क्षेत्रमा हानेपछि जग्गाको भाउ घट्न थाल्यो। ब्याज तिर्नु पर्‍यो। ब्याज भनेको त्यही नै र मेटेरियल वा क्यास फ्लो थियो। जग्गा बेचेर आउने हो ब्याज वा क्यासफ्लो। बेच्न राखेपछि माग कम आपूर्ति ज्यादा भयो। राष्ट्र बैंकले २५ प्रतिशतमा झार भनेपछि बैंकले ब्याज मात्र होइन कि साँवा पनि माग्न थाले। त्यसले गर्दा ठूलो समस्या भयो।

हजार रुपैयाँ मूल्यको सेयरलाई बैंकमा राखेर थप सात सय रुपैयाँ लिइराखेको अवस्था थियो। त्यो पनि क्याप लगाएपछि सात सयको २ सय पनि लिन नपाउने अवस्था थियो। त्यहाँ के भयो भने ब्याज तिर्नु त छँदैछ त्यसमा समस्या भएन। मार्जिन कल तिर्दा तिर्दा फेरि हैरान भइयो। हजार रुपैयाँ पुगेको सेयरको भाउ २ सयमा आयो।

तरलताको मुख्य स्रोतमै हिट गर्‍यो राष्ट्र बैंकले!

हो। मेजर स्टक यो दुवै क्षेत्रमा थियो। दुईटैमा हान्दा धेरै नै गाह्रो भयो। अर्बौं रुपैयाँ गुमाउनु पर्‍यो।

तपाइँलाई रियलस्टेट र सेयर भन्दा सहकारीले झन् ठूलो समस्यामा पार्‍यो होइन?

हो। सहकारी व्यापार भनेको सर्वसाधारणसँग जोडिने विषय भयो। जसले गर्दा मलाई सम्हाल्न निकै गाह्रो पर्‍यो। मेरो बैंकिङ ऋण मात्रै भएको भए समस्या हुँदैन थियो। किनभने बैंकलाई मैले तिर्न सकिन भने उसले आफ्नो पैसा उठाउन मेरो सम्पति लिलाम गर्थ्यौ वा सकार्थ्यौं।

सहकारीमा हामीले त्यहाँबाट ऋण दिइरहेको हुन्छ, त्यो तुरुन्त उठ्दैन। लिन आउनेहरु भने लाइन लाग्यो र त्यसले गाह्रो पार्‍यो।

शिखरमा पुगेको मान्छे तपाइँ। जब राष्ट्र बैंकको नीति आयो त्यसपछि बैंकका सीइओले पनि लखेट्न थाले होला होइन ?

१० वर्षको अवधिलाई मैले टुक्र्याएर हेर्छु। सुरुको चार वर्ष त गएगुज्रिएकै जीवन जिइयो। एकदमै तल्लोस्तरको भयो। माथिल्लो स्तरमा पुगेर तल्लो स्तरमा झर्नु भनेको त्यतिबेलाका लागि कल्पनाभन्दा बाहिरको कुरा थियो।

चार वर्षले बैंकिङ पनि सिकायो। सुरुदेखि एकदमै टचमा भएको, सुरुबाटै कारोबार गरेको बैंकहरुले समस्या पर्दा राम्रो सहयोग गरे। त्यो बेला जसले पनि पैसा दिइहाल्छ नि भनेर चाहरेको संस्थाहरुले भने सहयोग गरेनन्। उनीहरुले राम्रो हुँदा पैसा दिए, अप्ठेरो पर्दा सहयोग गरेनन्।

मैले त्यो बेलामा २२ वटा बैंक तथा वित्तीय संस्थामा कारोबार गरेँ। २२ वटा बैंक वित्तीय संस्थासँग ऋण लिनु भनेको संख्यामा निकै धेरै हो। प्रत्येक त्रैमासमा किस्ता तिर्न जाँदा दुई दिन लाग्थ्यो समय। तैपनि धेरै बैंकहरुले मलाई संकटका बेलामा पनि सहयोग नै गरे। केही केही बैंकले मात्र अलिक गाह्रो पार्ने काम गरे।

केही त कतिसम्म पनि गरे भने- यसको नाम (ऋण तिर्न नसकेको भन्दै पत्रिकामा) निकाल्न सक्यो भने म सुपर हिरो हुन्छु भन्ने फिलसम्म गरे। मेरो फोटोसहित निकाल्न पाउँदा गौरव ठान्थे होलान् सायद। त्यस्तो पनि गरे साथीहरुले। तर त्यो बेलामा धेरैले सहयोग गर्नु भयो पनि। सबै एउटै प्रवृत्तिका पनि हुँदैनन्। हामी मान्छे पनि त एउटै हुँदैनौं। बैंक पनि त्यस्तै हो। संकटका बेलामा सहयोग गर्ने बैंकहरु पनि धेरै थिए।

पत्रिकामा नाम एक पटक पनि नआउँदासम्म ननिस्कियोस् भनेर धेरै कोसिसहरु (रोक्नलाई) गरियो। तर जब एक पटक नाम निस्कियो अनि मैले वास्ता गर्न छाडिदिएँ। तर, मेरो एक पटक पनि कुनै पनि सम्पत्ति लिलामीमा भने चढेन। ३५ दिने सूचना त स्वभाविक हो। एक त्रैमास (क्वाटर) नतिर्ने बित्तिकै ३५ दिने निकाल्ने भइहाल्यो।

तपाइँ समस्यामा परेपछि बजारमा हल्ला पनि चल्यो धेरै खाले। तपाइँ बेपत्ता हुनु भयो, तपाइँ डिप्रेसनमा जानु भयो!

म त एकदिन पनि घर छाडिन। म अहिले बसिरहेको घर (कहिलेकाँही कुनै काममा जानु पर्ने बाहेक) कहिले पनि छाडिन। सधैं त्यहीँ बसेँ।

क्राइसिस आउनुभन्दा अगाडि एकदमै टिपटप मान्छे म। क्राइसिस भएपछि दाह्री काट्न त्यति मन नलाग्ने। झुसुङ्ग र कपडा पनि नफेर्ने भयो। उठेदेखि नसुतेसम्म मान्छेहरुसँग कुरा गरेको गर्‍यै। व्यस्तता पनि बढ्यो। आफ्नो शरीर, लुगाफाटासँग मतलब गरिएन। समस्यालाई कसरी पार लगाउने भन्नेतिर समय धेरै लगाइयो। अर्काको पैसा (सहकारीको) कसरी तिर्ने, बैंकलाई कसरी म्यानेज गर्ने भन्नेतिर लागियो। मेरो उद्देश्य नै यही नै रह्यो। सम्पत्ति बेचेर भए पनि सल्टाउनुपर्ने थियो।

त्यो बेलामा तपाइँले घरजग्गा र सेयर मात्रै होइन एयरलाइन्स समेत संचालन गर्नुभएको थियो। तर जोखिम धेरै भएको जग्गा र सेयरमा तपाइँ केन्द्रित हुनु भयो। ब्याकअप प्लान बिनाको लगानी गर्नुभएको थियो नी?

माहोल नै त्यस्तो थियो त्यो बेला। घरजग्गा किन्नेबित्तिकै भाउ माथि पुग्ने अवस्था थियो। एक दुई होइन एकको चारसम्म जग्गाको भाउ बढ्थ्यो। अहिले त्यस्तो ट्रेण्ड छैन। त्यो बेलामा हाउजिङ डेभलपमेन्टमा हामीले असाध्यै राम्रो पनि गरेका थियौं।

राष्ट्र बैंकले ल्याएको नीतिले तपाइँलाई रसातलमा पनि पुर्‍यायो। अहिले फर्केर हेर्दा त्यो नीति कस्तो लाग्छ?

वास्तवमा चै त्यो नीति राम्रो थियो। त्यो नल्याएको भए त ठूलै क्र्यास हुन सक्थ्यो होला सायद। त्यो नीतिका कारण बच्यो। त्यसमा दुई चार जना समस्यामा परे। म पनि त्यसैमा परेँ। तर नीति नराम्रो भने थिएन।

तपाइँहरु जग्गाजमिन मात्रै होइन, परियोजना पनि बनाउनु हुन्थ्यो। परियोजना बनाउनेलाई समेत समस्या पर्‍यो नी?

हामी त परियोजना नै धेरै बनाउने। त्यो बेलामा सबैको व्यापार नै त्यही भयो। एउटा अफिसको पिउनदेखि हाकिमसम्म एउटै व्यापार गर्न थालेपछि कहाँ हुन्छ?

त्योबेलामा मेरोमा काम गर्ने पिउनले पनि जग्गा खोज्दै हिँड्ने, म पनि जग्गा खोज्दै हिँड्ने। किनभने त्यसमा नाफा धेरै थियो। नाफाकै कारणले त्यस्तो भएको हो त्यो।

त्यो संकटका कारण केही मान्छेहरु जेल गए। बैंकिङ कसुर लाग्यो। त्यही संकटमा परेको तपाइँले सबै समस्या सल्टाउनु भयो। कसरी सम्भव भयो?

संकट परेपछि मैले नाफामा ध्यान दिइन। मलाई नाफासँग मतलब थिएन। कसरी संकटबाट बाहिर निस्कने भन्ने बारेमा मात्र मैले सोचेँ। त्यही अनुसार कामहरु गरेँ। मेरो सोच भनेको बैंकको पैसा कसरी तिर्ने? त्यहाँबाट उब्रिएको पैसा कसरी सहकारीका निक्षेपकर्तालाई तिर्ने भन्नेमा थियो। त्यसैमा लक्षित भएँ। मैले त्यहाँबाट पैसा जोगाएर घर लैजाने, पर्सन एकाउन्टमा राख्ने भन्ने कहिले पनि सोचिन।

सहकारीमा भएको पैसा गइहाल्यो। कम्पनीमा भएको पैसा पनि ल्याएर तिरियो। ऋण चाँही उठेन। झन् बिग्रियो भनेपछि मान्छेहरु पैसा तिर्न नै नआउने रहेछन्। उसलाई अलिकति कडाइँ गरिदियो भने उसले उल्टै १० जना निक्षेपकर्ता भेला पारेर पठाइदिने समेत काम भयो। बैंक बिग्रियो भने राष्ट्र बैंकले हेर्छ तर सहकारीमा त्यस्तो हुँदैन।

तर त्यो बेला जग्गा बिक्री हुँदैन थियो। अर्थात तपाइँसँग लिक्विडिटी नै थिएन नि?

किन नहुनु। लिक्विडिटी थियो नि। जति पनि बैंकमा ऋण लिएको थिएँ नि एकदमै हाइभ्यालु गरेर लिएको थिइन। मान्छेहरुले जतिसम्म पाउँथ्यो सबै लिए।

मेरो त्यो थिएन। मलाई त्यसले फाइदा भयो। भ्यालुएसनले जति दियो त्यति लिएँ। हामी त फेरि घर बनाउने हो। घर बनाउँदा खासै पैसा लिइँदैन। जग्गाका लागि अलिअलि लिने हो । त्यसले गर्दा बेच्दा पनि मलाई आधा पैसाले नै बैंकको तिर्न पुग्थ्यो भने आधा उब्रिन्थ्यो।

कसैकसैको जति ऋण लिएको त्यति तिर्न पनि पैसा नपुग्ने पनि भयो। मेरोमा त्यस्तो भएन। जति सस्तोमा बेच्दा पनि मैले आधा पैसाबाटै बैंक ऋण बुझाउन सक्ने अवस्था थियो। यो मैले आँफैले म्यानेज गरेको भएर सम्भव भयो। घर बनाउने भएकाले जग्गा किनेर घर बनाउँदा समय लाग्छ। घर बनाउँदासम्म जग्गाको भाउ अर्कै भइसक्छ। त्यसले गर्दा म्यानेज गर्न सजिलो भयो। जग्गाहरु धेरै सस्तोमा बेचे। कुनै त ७० प्रतिशतसम्म घटेरसमेत बिक्री गरेँ। टेबलमा जो आयो उसलाई त्यति नै बेला डिल गरेर टुङ्ग्याइ हालेँ।

भनेपछि तपाइँले ऋण तिर्न जग्गा सजिलै बेच्न सक्नु भयो?

बिक्री भयो। घरजग्गा र सेयर बेचेर नै मैले संकट टारेँ नि। सम्पूर्ण कुरा नै बेचेँ नि।

कति बेच्नु भयो?

सेयर त एक करोड कित्ता थियो। धेरै कम्पनीको सेयर मूल्य १२/१३ सय रुपैयाँ थियो। पछि त्यसको भाउ घट्यो। सेयर सबै बेचे।

कतिजति एसेट थियो?

कति थियो अहिले भन्न सक्दिन। तर ऋण सात सय करोड रुपैयाँभन्दा बढी थियो। इक्विटीभन्दा दोब्बर ऋण थियो। अहिले त ऋण धेरै घटिसक्यो। पुरानो ऋण कुनै बाँकी नै छैन। अब नयाँ ऋण मात्र छ।

आजको दिनमा तपाइँको पोजिसन के हो त?

पोजिसन थाहा छैन। काम गरिरहेको छु। पुरानो ऋण छैन। आफूले आफूलाई के भनौं र? जुन हिसाबले मलाई बैंकहरुले बिग्रिएपछि पनि नर्मलमा ल्याउन धेरै सहयोग गर्नु भयो। उहाँहरुकै सहयोगका कारण नयाँ परियोजनाहरु अगाडि बढ्न थालेका छन्। यही हो पोजिसन। म अहिले अप्ठेरोमा छैन्।

तपाइँ जत्रै कारोबार गर्नेहरु त्यो बेलाको संकटमा फसिरहेका छन्। उनीहरु कहाँ चिप्लिएजस्तो लाग्छ?

मलाई अधिकांशले सहयोग गरे। मेरो सहकारी समस्यामा जाँदा पुल्चोकका अहिलेका मेयर चिरिबाबु महर्जनको नेतृत्वमा सम्पूर्ण टोलबाशीहरुले सहयोग गर्नु भयो। म स्थानीय भएकोले बचेको हुँ।

तपाइँको सिम्प्लिसिटी पनि होला नि?

सिम्पल त म सिम्पल नै हो। अहंमता गरिएन। पैसासँग मलाई सुरुदेखि आजसम्म त्यति धेरै मोह पनि छैन। पैसा कमाएर थुपार्नु पर्छ भन्नेतिर सोच भएन। काम गर्नु पर्छ भन्ने नै भयो।

कहाँनेर पुगेर गल्ती गरियो भन्ने लाग्यो?

आफूले महत्वकांक्षी भएर काम गरेको तथा नीति नियम आउँदा त्यसलाई आफुले सम्हाल्न नसकेको  हुँदा गल्ति भएको जस्तो लाग्छ।

जेलै पर्न पनि त सक्नु हुन्थ्यो। अरु थुप्रै परे पनि?

सरकारले पनि सहयोग गर्‍यो भन्नु पर्‍यो। मौका दियो। पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको समितिले सहकारी सञ्चालकहरुलाई मौका दियो। हामी लाइन नै लाग्यौं त्यहाँ। उहाँहरुलाई विश्वास दिलायौं ।उहाँहरुले पनि सकारात्मक रूपमा लिएर सहयोग गर्नु भयो।

एउटा बेला त यस्तो थियो कि सबै जना खेद्ने अवस्थामा थिए। संचारमाध्यमदेखि प्रशासनसम्म, राष्ट्र बैंकदेखि बैंकरसम्म होइन?

मेरो केसमा त्यस्तो भएन। मेरो हिसाबमा विपक्ष भन्ने नै भएन। त्यो बेलामा मैले हरेक पाइलामा सहयोग पाएको हो। सरकार, संचारमाध्यम, राष्ट्र बैंक, वित्तीय संस्था, निक्षेपकर्ता सबैबाट सहयोग पाएको हो। हजारमा एक दुई जना त त्यस्तो भइहाल्छ नि, होइन र? गल्ती मबाट भएका थिए। त्यसमा केहीले फरक आँखाले हेर्नु स्वभाविक पनि हो।

संकटले सिकाउँछ पनि भन्छन्। तपाइँले के सिक्नु भयो?

त्यो बेलामा मेरो गल्ती भनेको जुन परियोजनालाई हामी पैसा लिन्थ्यौं त्यही परियोजनामा प्रयोग हुन्थेन। एक करोड मूल्यांकन भएपछि हामी ७० लाख रुपैयाँ ऋण पाउँथ्यौं। त्यो बेला पाएको कर्जाको रकमलाई अलि महत्वकांक्षी तरिकाले चलाइन्थ्यो।आजको दिनमा ती सबै नियन्त्रण भइसकेको छ। अहिले कसैले पनि त्यसरी प्रयोग गर्न सक्दैन।

जुन उद्देश्यलाई ऋण लिएको हो त्यसैमा प्रयोग गर्नु पर्छ भन्ने ठूलो शिक्षा प्राप्त भयो। यस्तो गर्दा ९५ प्रतिशत समस्यामा परिँदैन। बैंकिङ नियम पालना गर्ने हो भने त समस्यामा खासै परिँदैन।

भनेपछि रियलस्टेट डेभलपर व्यापारी हुँदा समस्या भएको न हो?

दुईटै भएर हो। डेभलपर भनेको रियलस्टेटमा भयो। ट्रेडर सेयर बजारमा भए। राष्ट्र बैंकको नीति दुवैलाई प्रभाव पार्ने गरी आयो। यसमध्ये कुनै एउटामा मात्र हानेको भए पनि मलाई केही फरक पर्दैन थियो। दुईटा यस्तरी आयो कि सक्दै नसक्ने भएँ।

कतिपय सीइओ साबहरु रियस्टेटमा पार्टनर (हिडन) जस्ता पनि थिए होलान् नि?

मेरोमा त्यो भएन।

सहकारीबाट कसरी समस्या भयो?

म अध्यक्ष थिएँ। एयरलाइन्स बन्द भयो। एयरलाइन्स अरु नै कारणले बन्द भएको थियो। उसको फाइनान्सियल ठिकै थियो। यताको पैसा उता उताको पैसा यता भयो। यसले गर्दा समस्या भयो। अनि गुण बन्द भयो भन्ने भयो। गुण एयरलाइन्स बन्द भयो भनेको भए सहकारीलाई हान्दैन थियो।

गुण बन्द भयो भनेपछि सहकारीलाई पनि हान्यो। गुणअन्तर्गत १०/१२ वटा सहकारी थिए। ३ अर्ब निक्षेप तथाअर्ब ऋण थियो। अहिले त्यहाँको समस्या समाधान भइसकेको छ।

जति सम्पत्ति रहेको छ त्यसको भ्यालुएसन पनि त अहिले बढेको छ नि?

पुरानो कामलाई निरन्तरता दिएको छु। नयाँ काम पनि हात हालेको छु। केही प्रोजेक्ट बाँचेका छन्। करिब करिब ८० प्रतिशत सम्पत्ति मैले बिक्री गरेको थिएँ। २०/२५ प्रतिशत जोगिँदा पनि त्यो बेलाको भाउलाई जितिसकेको छ।

फेरि रियलस्टेटमा फर्किनु भयो। बन्द भएको गुण फेरि ब्युँताउनु भयो। जहाँजहाँबाट समस्या भएको थियो, त्यही क्षेत्रमा फेरि आउनु भयो त?

मान्छेहरुको आ-आफ्नो उद्देश्य हुन्छ। सकुन्जेल उद्देश्य पूर्ति गर्नु पर्छ भन्ने मेरो धारणा हो। मैले काम गर्दा जेजति बिगारेको छु नि त्यसलाई ठिक गर्नुपर्ने छ। जति बिग्रिएको कामलाई सही ठाउँमा ल्याउने भन्ने उदेश्य छ। एयरलाइन्स पनि त्यही कारणले ल्याएको हो। त्यो बेला दुई वटा जहाज थिए अब सात वटा हुँदैछ।

एभिएसन यसै त बाघको सवारी भन्छन्। त्यसमाथि कोभिडले यो क्षेत्रलाई निक्कै प्रभावित गरेको छ। त्यत्रो संकटबाट आएको मान्छे फेरि एभिएसन मेरो प्यासन हो भनेर जाँदा अर्को संकट आउँदैन?

जोखिम त पक्कै हुन्छ। जोखिम सधैं हुन्छ व्यवसायमा। एयरलाइन्स भइरहेको कुरै थियो मसँग। आफूसँग भएको कुरालाई थोरै उचाल्न खोजेको मात्र हो। घाटा नहोस् र ब्रेकइभनमा चलाउने भनेर आएको हो।

अहिले जोखिम पनि त छैन नि। हामी ठूलो स्केलमा जाँदैनौं। फेरि मेरो एउटा मात्र सेक्टर छैन। एयरलाइन्समा मात्र काम गरेको भए त्यही अनुसार म गर्थेँ होला। मेरो अरु क्षेत्रमा पनि उत्तिकै लगानी छ। एयरलाइन्स एउटा विङ्स मात्र हो। अहिले जहाज थपेको कारण सबै क्षेत्रमा पुगोस् भनेर हो। दुई वटा जहाजले मात्र ब्रेकइभनमा ल्याउन गाह्रो छ। त्यही भएर थपेका हौं। दुईवटाले मुस्किलले तलब खुवाउन पुग्छ। सात वटा भयो भने एउटा/दुईवटा फ्लाइट क्यान्सिल भयो वा ग्राउन्डेड भयो भने पनि बाँकी चल्छ। त्यही भएर सात वटा पुर्‍याउन लागेका हौं।

तपाइँको हातबाट गुमेको थियो गुण एयरलाइन्स। त्यही भएर आर्थिक पक्ष नहेरी संचालनमा ल्याउन खोज्नु भएको हो की?

होइन गुणलाई त बचाएको हो। गुणलाई बचाउन क्याप्टेन रामेश्वर थापाले सहयोग गर्नु भयो। विभिन्न प्रोजेक्टमा डा.रुप ज्योतिले सघाउनु भयो। केही प्रोजेक्ट देवीप्रकाश भट्टचनले जोगाइदिनु भयो। मेरो परियोजनाहरु यसरी जोगियो।

भनेपछि तपाइँको संकट गहिरिएपछि आफ्ना प्रोजेक्ट नजिकका इष्टमित्रलाई जिम्मा लगाउनु भएको थियो?

हो। जिम्मा लगाएको थिएँ केही समय। म त्यो बेला चलाउन सक्ने अवस्थामा थिइन। मैले सहयोग मागेँ उहाँहरुले सहयोग गर्नु भयो। मैले बेचेको वा छोडेको परियोजनाहरु होइनन् यी। अब धमाधम फिर्ता आउँदैछन्।

अहिले यस्तो पनि भयो- बैंकहरुले पनि पत्याउन थाले। बैंकहरुले पत्याउन थालेपछि त व्यापारी त एकै पटक छलाङ मारिहाल्छ नि। अर्ब गुमाउने मान्छेले अर्ब कमाउन सक्छ। आफू त अर्ब गुमाएको भएकाले अरब कमाउँछु भन्ने कुरा मनमा तुरुन्त आइहाल्छ। सक्ला नसक्ला आफ्नो ठाउँमा छ- तर मनमा तुरुन्त आइहाल्छ।

गुण समूहले एकदमै दुःखहरु देख्यो भोग्यो। अब रिभाइव भइरहेको छ। अब गुणको नयाँ पहिचान के हुन्छ?

रियलस्टेट दुई तीन ठाउँमा आउँदैछ। धुम्बाराहीमा रोकिएको १३ तलाको अपार्टमेन्ट फिनिसिङ हुँदैछ। लाजिम्पाटको पनि आउँदैछ। पुरानो भए पनि यो कम्प्लिट भएको थिएन। सानोतिनो प्रोजेक्ट त हामी निरन्तर गरिरहन्छौं। यी प्रोजेक्टबाट हामीलाई नाफा हुँदैन तर त्यो कमसेकम टुङ्गिन्छ।

विगतको गल्तीलाई हेर्दा लगानीकर्ताले केमा ध्यान दिनुपर्ने रहेछ?

सुरुमा त धेरै काम गर्ने भन्ने सोच हुन्छ। कमाइभन्दा पनि काम कति गर्ने भन्नेतिर लागियो। दायाँबायाँ नहेरी सधैं अगाडि बढियो।

ठूला काम गर्ने भन्ने मात्र सोच हुन्थ्यो। बल्ल बिग्रिएपछि झल्याँस्स भइयो- यसरी ठूलो ठूलो मात्र गरेर अगाडि मात्र हेरेर नहुने रहेछ। ब्रेक गर्दै अगाडि जानु पर्ने रहेछ भन्ने भयो। अहिले यो कोठामा भएको टेबलमा (गुण एयरलायन्सको अफिसको) १७/१८ वटा ठूला ठूला प्रोजेक्ट चल्थ्यो।

बैंकहरु एउटा ऋण दिनु पर्‍यो भने सबै प्रोजेक्ट हेर्न खोज्थे। उनीहरुले एक दिनमा हेर्न भ्याउँदैन थिए। २/३ दिन लगाउँथ्यो। कतिपयले ४/५ वटा परियोजना हेरेपछि पुग्यो भनेर बीचमै छाड्थे।

म त एकदिनमा सक्ने कुरै भएन। कहिले ५/६ दिनमा त कहिले १०/१२ दिनमा मात्र पुग्न सकिन्थ्यो प्रोजेक्ट साइटमा। त्यस्तो किसिमले काम गरियो। त्यसबेलामा हाइराइज पनि भटाभट निकालेका थियौं। कसैलाई आइडियल मानेर पनि अगाडि बढेको पनि होइन र मलाई ठूलो हुनु पनि थिएन। अफिसका नाममा एउटा सानो कोठा थियो। हामी टाट उल्टिएपछि घरबेटीले ताला लगाइदिए। हामी त्यहाँबाट निस्कियौं। पैसा तिर्न नसकेपछि ताल्चा मार्ने नै भयो।

 घरभाडासमेत तिर्न नसक्ने अवस्था आयो?

महा दु:ख पाइयो। मान्छेले कतिसम्म दु:ख पाउँदो रहेछ र कतिसम्म सहनु पर्दो रहेछ भन्ने बुझियो। पैसा हुँदा पनि मैले सानो गाडी नै चढेँ। नहुँदा पनि त्यही चढेँ। आज पनि त्यही गाडी चढिरहेको छु। अहिले त मलाई त्यो गाडीको पनि माया लाग्यो। दुःखका बेलामा पनि त्यो गाडी मसँग थियो त्यही भएर पनि हो।

दु:खका बेलामा साथीभाइ बैंक सबै चिनियो। मैले आफ्नो समस्यामा आफन्त जोडिन। आफन्तलाई जोड्ने बित्तिकै अझ धेरै समस्या हुन्छ। आफन्तहरुलाई मैले इन्भल्ब गराइन। उहाँहरुसँग लेनदेन नै गरिन।

किनभने उहाँहरुबाट मैले सहयोग पाउने भनेको बढीमा २-४ करोड हो। त्यो २-४ करोड त उहाँको घरबाट मेरो अफिस आइपुग्दासम्म सकिसक्छ। अनि के इन्भल्ब गराउनु? त्यो कुरातिर मैले ध्यान दिइन। भएकै सम्पत्ति बिक्री गरेँ।

अप्ठेरोमा परेको भन्दै मौकाको फाइदा उठाउने पनि त भए होलान् नि?

मैले त्यसरी बुझिन्। मेरो लागि त्यो बेलामा जसले मेरो सम्पत्ति किन्दिन्थ्यो त्यो नै ठूलो सहयोग हुन्थ्यो। जग्गा किन्न पनि डराउने अवस्था थियो। मुद्दा हाल्छ भन्ने डर थियो। त्यो बेला प्राइसिङ लिन खोजेको भए त म संकटमै हुन्थेँ। जतिमा हुन्छ बिक्री गरेर नै संकटबाट बाहिर आएँ। प्राइस लिन खोज्दा ३/४ महिना बित्छ।

त्यतिन्जेल बैंकले धितो लिलामी गरी लिन्छ। बैंकले लिएपछि पैसा पनि आउँदैन। अनि त झन् समस्या पर्छ। बैंकसँग पनि सम्बन्ध बिग्रिन्छ। पछि बैंकले अन्याय गर्‍यो भनेर मुद्दा हाल्न मन लाग्ला। त्यसले त समय र पैसा सबै सकिन्छ। त्यही भएर मैले टेबलमा आउनेजति सबैलाई जतिमा हुन्छ त्यतिमै सम्पत्ति बिक्री गरेँ। ४० देखि ७० प्रतिशतसम्म घटाएर बिक्री गरेँ।

तपाइँ कालोसूचीमा त पर्नु भयो नि!

कालोसूचीमा त परेँ तर थोरै समयलाई। बैंकबाट ऋण लिएपछि कालोसूचीमा पर्नु सामान्य हो। मेरो सम्पत्ति भने कहिले पनि लिलाम भएन। मैले जसरी पनि बैंकको पैसा तिरिदिएँ।

मलाई पीडा भनेको पैसा तिर्न नसक्दा हुन्थ्यो। एउटा समय थियो पैसा भनेको केही पनि हो जस्तो लाग्दैन थियो। किनभने जत्ति पनि पैसा थियो। एकबेला यस्तो आयो सानोसानो पैसा पनि दिन नसक्ने अवस्था आयो। यो पीडाले मलाई खुब सतायो।

ओहो म त्यहाँसम्म झरिसकेँ भन्ने हुन्थ्यो। ५० हजार पनि दिन नसक्ने, १० हजार पनि दिन नसक्ने (सहकारीका निक्षेपकर्तालाई) अवस्था थियो। (सहकारीका एक जनालाई होइन धेरै जनालाई) १० हजार भनेको सय जना मान्छेलाई दिनु पर्दा १० लाख हुन्थ्यो। त्यो पैसा हुँदैन थियो। पछि मैले कतिपयलाई जग्गा दिएर पनि मिलाएँ। सेयर दिएर पनि मिलाएँ।

अब नयाँ के गर्नु हुन्छ?

अब हाइड्रोमा गइरहेको छु। नयाँ केही योजनाहरु बनाइरहेको छु। त्यसमा काम भइरहेको छ। पाटनमा एउटा नयाँ हाउजिङ बनाउँदैछु। ग्वार्को गुण सिनेमा हलसँगै एउटा फाइभ स्टार होटल बनाउँदैछु। २/३ वटा हाइड्रो पनि आउँदैछ।

संकटमा पनि तिरेको भएर बैंकले पत्याएका छन्। मेरो एउटा पनि सम्पत्ति लिलाम भएन। यसले गर्दा पनि बैंकहरुले मलाई पत्याए। यसले मेरो गुडविल बढाएको छ।