BIZMANDU
www.bizmandu.com

बिआरआईलाई निरन्तरता दिने चीनको प्रतिबद्धता, अवसरका रुपमा प्रयोग गर्न सबै मुलुकलाई आग्रह

२०७८ बैशाख ७

Tata
GBIME
Nepal Life

चीनका राष्ट्रपति सी जिनपिङले 'बेल्ट एन्ड रोड' (बिआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन्।

बोआओ मञ्चको वार्षिक शिखर बैठकको उद्घाटन समारोहमा भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि संक्रामक रोग नियन्त्रण, जनस्वास्थ्य, परम्परागत औषधि र अन्य क्षेत्रमा विभिन्न पक्षसँग स्वास्थ्य साझेदारीका कार्यलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गरेका हुन्।

'चीनले सम्पर्क सञ्जालका लागि सुदृढ साझेदारी निर्माण गर्नेछ, एवं 'हार्ड र सफ्ट' जस्ता सबै किसिमका पूर्वाधार निर्माणलाई प्रबर्द्धन गर्न सबैसँग मिलेर कार्य गर्न चीन तत्पर छ,' उनले भने।

राष्ट्रपति सीले स्वच्छ विकासका लागि चीनले अझ निकट साझेदारी निर्माण गर्ने बताउँदै अन्य मुलुकलाई पनि हरित पूर्वाधार, हरित ऊर्जा र हरित वित्तका क्षेत्रमा पारस्परिक सहयोगलाई थप सुदृढ गर्न आग्रह समेत गरे।

उनले बिआरआई अन्तर्राष्ट्रिय हरित विकास साझेदारीलाई थप सुधार गर्नुपर्ने समेत बताए। साथै बिआरआईलाई गरिबी निवारणको एउटा अवसरका रुपमा उपयोग गर्न पनि उनले सबै इच्छुक साझेदार मुलुकहरुलाई आह्वान गरे।

सन् २०३० सम्ममा बिआरआई परियोजनाले करिब ७६ लाख मानिसलाई चरम गरिबीबाट मुक्त गर्ने तथा तीन करोड २० लाख मानिसलाई मध्यम किसिमको गरिबीबाट माथि उकास्ने बताइएको छ।