BIZMANDU
www.bizmandu.com

मंगलबारको सेयर बजारः छिनमै हरियो छिनमै रातो, ४ घण्टामा ७ पटक फेर्यो रङ, कारोबार रकम पनि घट्यो

२०७८ बैशाख ७

मंगलबारको सेयर बजारः छिनमै हरियो छिनमै रातो, ४ घण्टामा ७ पटक फेर्यो रङ, कारोबार रकम पनि घट्यो
मंगलबारको सेयर बजारः छिनमै हरियो छिनमै रातो, ४ घण्टामा ७ पटक फेर्यो रङ, कारोबार रकम पनि घट्यो

 

Tata
GBIME
Nepal Life


काठमाडौं। मंगलबार सेयर बजारमा तीब्र उतारचढाव देखिएको छ। बजारले सुरुवाती २ घण्टा सम्म हरेक आधा घण्टामा आफ्नो रङ फेरेको छ। 

प्रि-ओपन सेसनमा १० अंक भन्दा धेरै उकालो लागेको बजार सामान्य सेसनमा भने सुरुवाती आधा घण्टा भित्र १२ अंक सम्म ओरालो लागेको थियो। तर आधा घण्टापछिनै बजार फेरी एकै पटक २२ अंक सम्मले उकालो लागेको थियो।

तर उक्त वृद्धि पनि धेरै बेर भने टिक्न सकेन र अर्को आधा घण्टामा बजार पुन: ८ अंकले ओरालो लाग्यो। त्यसको आधा घण्टामै बजार पुनः १० अंकले उकालो लाग्यो। आधा आधा घण्टामा उतारचढाव हुने क्रम १ बजे सम्मै चलिनै रह्यो।

अन्तत १ बजे पछि बजार विस्तारै घट्दै गएर पौने ३ बजे सम्म ४ अंक सम्म घटेको थियो। तर अन्तिम ५ मिनेट भने बजार उकालो लाग्दै २ अंक भन्दा धेरैको वृद्धि सहित २६६४ बिन्दुमा बन्द भएको छ।

अधिकांस उपसमूह हरियो भएको बजारमा जीवन बीमा समूह सर्वाधिक ५३ अंकले बढेको छ। सर्वाधिक घट्नेमा निर्जीवन बीमा समूह २४ अंकले ओरालो लागेको छ। अन्य समूहहरुमा सामान्य अंकको घटबढ देखिएको छ।

युनाइटेड मोदी हाइड्रोपावर, महिला लघुवित्त, ज्योति लाइफ र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीनै बृद्धि भएको छ। समृद्धि फाइनान्स, ओरियन्टल होटल र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य २/२ प्रतिशतले घटेको छ।

मंगलबार पनि नागरिक लगानी कोषको सर्वाधिक २१ करोड रुपैयाँको किनबेच भएको छ। निफ्राको २० करोड, नबिल बैंकको १६ करोड, एनआइसी एसिया लघुवित्तको १५ करोड र अरुण काबेली पावरको १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२१६ कम्पनीको एक करोड २३ लाख कित्ता सेयर पाँच अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएका छन्। १८ कम्पनीको मूल्य स्थिर रहँदा ५६ कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।