BIZMANDU
www.bizmandu.com

सरकारले क्लिनचिट दिएपछि खानेतेल उद्योगको बदमासी, अन्तर्राष्ट्रिय बजार देखाउँदै मूल्य बढाउँदै


सरकारले क्लिनचिट दिएपछि खानेतेल उद्योगको बदमासी, अन्तर्राष्ट्रिय बजार देखाउँदै मूल्य बढाउँदै
सरकारले क्लिनचिट दिएपछि खानेतेल उद्योगको बदमासी, अन्तर्राष्ट्रिय बजार देखाउँदै मूल्य बढाउँदै


Tata
GBIME
Nepal Life

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको दाबी गर्दै उद्योगले खानेतेलको मूल्य साप्ताहिक रुपमै बढाउन थालेका छन्।सरकारको नियमन फितलो भएको मौका छोप्दै उद्योगले तेलको मूल्य बढाएका हुन्।

एक तेलको होलसेल व्यवसायीका अनुसार भारतीय नाकाबन्दीमा जस्तै अहिले उद्योगले तेलको मूल्य बढाएका छन्। नाकाबन्दीको समयमा केही उद्योगले दैनिक रुपमा तेलको मूल्य बढाएका थिए। त्यसपछि सरकारले ती उद्योगलाई कारवाही गरेको थियो।

‘ठ्याक्कै नाकाबन्दीमा जस्तै उद्योगले आफुखुशी मूल्य बढाएका छन्। सरकारी निकायले सुरुमा केही उद्योगको कच्चा पदार्थ ल्याएको बिल हेरेजस्तो गरे,’ ती बिक्रेताले भने, ‘अनुगमन गर्ने निकाय बाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले अन्तर्राष्ट्रिय स्तरमै कच्चा पदार्थको मूल्य बढेको भनेर क्लिन चिट दियो। त्यसपछि हौसिएर उनीहरुले ७/७ दिनमा मूल्य बढाउन थालेका छन्।‘ विगतमा महिनामा केही रुपैयाँ मात्रै तेलको मूल्य बढाउँथे।

कोरोना संक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा खानेतेलको कच्चा पदार्थ बढेपनि अहिले यहाँ उद्योगले बढाएको मूल्य भने न्यायसंगत नदेखिएको ती बिक्रेता बताउँछन्। ती बिक्रेताका अनुसार एक वर्षको अवधिमा सबैजसो तेल उद्योग ठूलो मुनाफा लिएका छन्। ‘कोभिडपछि सबैभन्दा राम्रो मुनाफा गर्नेमा तेल उद्योगीनै छन्। उनीहरुले उपभोक्तालाई दोहन गरेर मनग्ये कमाएका छन्,’ ती बिक्रेताले भने, ‘उनीहरुले सामान्य व्यवसायिक ‘इथिक्स’ पनि नराखी मुनाफालाई ध्यान दिएका छन्।’

कोभिड नियन्त्रणका लागि सरकारले लकडाउन लगाउँदा सुरुवातमा खाद्य उद्योगले मूल्य बढाएनन्। तर जब लकडाउन खुल्यो,  त्यसपछि सबै उद्योगले आफखुशी तेलको मूल्य बढाउन थालेका हुन्। जेठमा सनफ्लावर तेलको मूल्य लिटरको १ सय ६० रुपैयाँ थियो। अहिले यो तेलको मूल्य २ सय ५० नाघिसकेको छ। भटमासको तेल लिटरको १ सय ५५ रुपैयाँबाट २ सय ४० रुपैयाँ पुगेको छ।

खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले साप्ताहिक रुपमै तेलको मूल्य बढाउन थालिएको बताउँदै उपभोक्तालाई बुझाउनै कठिन भइरहेको बताए। ‘लकडाउन खुलेपछि अन्धधुन्द रुपमा तेलको मूल्य बढाइएको छ। विगतमा दुई रुपैयाँ बढाउन समेत डराउँथे। तर अहिले उद्योगले साप्ताहिक रुपमै तेलको मूल्य लिटरमा १५ रुपैयाँसम्म बढाउन थालेका छन्’, उनले बिजमाण्डूसँग भने।

उनका अनुसार गत वैशाखमा सुर्यमुखी तेल प्रति कार्टुन १२ सय देखी १२ सय ५० रुपैयाँ सम्म थियो। भट्मासको तेल प्रति कार्टुन ११ सय ५० रुपैयाँ थियो।अहिले सुर्यमुखी २३ सय ५० रुपैयाँ र भटमासको तेल २१ सय ५० रुपैयाँ प्रति कार्टुन पुगेको छ।  केही दिन अघिसम्म सुर्यमुखी २२ सय ५० देखी २३ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो। भट्मासको तेल प्रतिकार्टुन २ हजार देखी ५० सम्म थियो। मानन्धरका अनुसार तोरीको वाहेक तीन दिन अघि कार्टुनमा सबै तेलको मूल्य ५० रुपैयाँ बढेर आएको छ।

तर उद्योगी व्यवसायिक इथिक्स नराखी मूल्य बढाइएको मान्न तयार छैनन्।  केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक कुमुद दुगडले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा आयात गर्न समेत मुस्किल भएको बताउँदै त्यसको प्रभाव तेलको मूल्यमा परेको दाबी गर्छन्।

‘तेलको मूल्य पहिलो पटक यसरी आकासिएको हो। लिटरको दुई सय रुपैयाँ भन्दा माथि जान्छ भनेर हामीले कल्पना समेत गरेका थिएनौ,’ उनले बिजमाण्डूसँग भने, ‘कोभिडका कारण विदेशमा सुर्यमुखी, तोरी र भटमासको उत्पादन कम भयो। त्यसले मूल्यवृद्धि हुँदा हामीलाई पनि बढाउनुपर्ने बाध्यता भएको हो।’

उनले सन् २०२१ भरीनै खानेतेलको मूल्य बढ्ने संकेत देखिएको बताउँदै कोभिड नियन्त्रण नभएसम्म केही भन्न नसकिने बताए। ‘तेलको कच्चा पदार्थको मूल्य नघटेसम्म यहाँ घटाउन सक्ने कुरा भएन। अहिलेसम्म तेलको मूल्य घट्ने देखिदैन्,’ दुगडले भने, ‘सस्तो भएका बेलामा हामीले घटाएरनै दिएका छौं। महँगो भएका बेलामा कसरी सस्तोमा दिने?’