BIZMANDU
www.bizmandu.com

लकडाउनको हल्लाले लगातार दोस्रो दिन पनि घट्यो सेयर बजार,  कारोबार रकम पौने ७ अर्बमा सीमित

२०७८ बैशाख ६

लकडाउनको हल्लाले लगातार दोस्रो दिन पनि घट्यो सेयर बजार,  कारोबार रकम पौने ७ अर्बमा सीमित
लकडाउनको हल्लाले लगातार दोस्रो दिन पनि घट्यो सेयर बजार,  कारोबार रकम पौने ७ अर्बमा सीमित

Tata
GBIME
Nepal Life

काठमाडौं। लगातार दोस्रो दिन पनि घटेको सेयर बजार दुई दिनमा ७० अंक भन्दा धेरै घटिसकेको छ।

आइतबार ३५ अंकले घटेको बजार सोमबार थप ३७ अंकले घटेको छ। यो सँगै नेप्से सूचक २६६१ बिन्दुमा झरेको छ। आइतबार झण्डै नौ अर्ब रुपैयाँ बराबरको किनबेच भएकोमा सोमबार भने पौने सात अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ।

लगातार बढिरहेको बजारमा यत्तिको करेक्सन आउनु बजारको सुन्दर पक्ष भएको इनभेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए।

‘लगातार बढिरहेको बजार एउटा बिन्दुमा गएर करेक्सन हुनु भनेको पुँजीबजारको जग बलियो हुने आधार बन्नु हो,’ रौनियारले भने, ‘कुनै पनि कोणबाट बजार नेगेटिभ हुने इन्डिकेटर छैनन्। नाफा बुक हुने भए गर्दा राम्रै हो। हैन भने घाटा खाएर सेयर बेच्नुपर्ने अवस्था आएको छैन। तत्काल आउने सम्भावना पनि कम छ।’

त्यस्तै सेयर लगानीकर्ता विष्णु वत्सल सरकारले विद्यालय र भिडभाड हुने सबै क्षेत्र बन्द गर्ने निर्णय गरेकाले लकडाउनको निर्णय गरिहाले सेयर बजार पनि केही दिन बन्द हुन्छ की भन्ने डरले बजार घटेको बताउँछन्।

अनलाइनबाट कारोबार नगर्ने लगानीकर्ताहरु लकडाउन भएमा ब्रोकरहाउससम्म जान सक्दैनन्। त्यसैले उनीहरुले अहिले सेयरबजारबाट आफ्नो पैसा झिक्न खोज्दा बजारमा सामान्य करेक्सन देखिएको लगानीकर्ताको भनाइ छ।

लकडाउन भइहालेमा पनि अनलाइनबाट सेयर किनबेच नरोकिने भएकाले ठूला लगानीकर्ताहरु आउने र बजार सकारात्मक दिशामै जाने उनीहरुको बुझाइ छ।

प्राविधिक रूपमा हेर्दा पनि बजारबाट डराउनुपर्ने अवस्था भने छैन। बजार २६३० देखि २६५० बिन्दुसम्म घटेर केही दिन स्थिर रहने सम्भावना रहेको बजार विश्लेषक विष्णुप्रसाद बस्यालले बताए।

२६३० भन्दा तल आयो भने बजारले २३६९ बिन्दुमा सपोर्ट लिने पनि उनको भनाइ छ। बजारले अर्को रेकर्ड बनाउन भने ३/४ महिनाको अन्तरमा एक पटक २२ सयकै बिन्दुमा आएर फेरि बढ्नुपर्ने बस्यालले बताए।

तर बजारमा करेक्सन नआइ बढेको बढ्यै मात्र भएको खण्डमा भने बजारले २७५० बिन्दुलाई पार गरेपनि उक्त वृद्धि धेरै दिन नटिक्ने उनको भनाइ छ।

१५० बढी कम्पनीको सेयर मूल्य घट्दा पनि सोमबार ज्योति लाइफ र महिला लघुवित्तको सेयर मूल्य भने करिब १० प्रतिशतले बढेको छ। दुवै कम्पनीको प्राथमिक सेयर नेप्सेमा सूचीकृत भए यता एउटा बिन्दुसम्म नपुगेकोले लगातार मूल्य बढिरहेको हो। त्यस्तै चन्द्रागिरि हिल्सको सेयर मूल्य भने करिब १० प्रतिशतले नै घटेको छ।

नागरिक लगानी कोषको सर्वाधिक २८ करोड रुपैयाँको सेयर किनबेच हुँदा, एचआइडिसिएलको २४ करोड, निफ्रा र एनआइसी एसिया लघुवित्तको २३/२३ करोड र माथिल्लो तामाकोशीको २२ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ।

फाइनान्स र हाइड्रोपावर बाहेकका सबै उपसमूहसमेत रातो भएको बजारमा होटल तथा पर्यटन र निर्जीवन बीमा समूहमा ठूलो पहिरो गएको छ।

दुवै समूहको सूचक करिब २४० अंक हाराहारी घटेको छ। जीवन बीमा समूह १२९ अंक र व्यापार समूहसमेत १०७ अंक भन्दा धेरैले घटेको छ।

२१३ कम्पनीको एक करोड ४२ लाख कित्ता सेयर ६ अर्ब ७६ करोड रुपैयाँमा किनबेच हुँदा २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। ४ कम्पनीको मूल्य स्थिर रहे पनि बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।