BIZMANDU
www.bizmandu.com

एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा अनलराज भट्टराई नियुक्त

२०७८ बैशाख ५

एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा अनलराज भट्टराई नियुक्त
एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा उपेन्द्र महतो र सिइओमा अनलराज भट्टराई नियुक्त

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआरएन डेभलपमेन्ट फण्डको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। महतो गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष हुन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अनलराज भट्टराई नियुक्त भएका छन्।

महतोको नेतृत्वमा एनआरएनका वर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने र एनआरएनमा सक्रिय महेश श्रेष्ठ, गौरीराज जोशी, खगेन्द्र जिसी, बद्री केसी, सोनम लामा लगायतका व्यक्तिहरुको संचालक टिम बनेको छ।

फण्डले निकट भविष्यमै ८ अर्ब रुपैयाँको आइपीओ समेत जारी गर्दै छ। आइपीओ निष्कासनको तयारी तीव्र रूपमा अगाडी बढाइएको कार्यकारी अधिकृत भट्टराईले बताए।

फण्डले पहिलो चरणमा विदेशमा रहेका १० लाख बढी नेपालीलाई लक्षित गरि नेपालमा पहिलोपटक विदेशी मुद्रामा आइपीओ जारी गर्दै छ। नेपाली पुँजी बजारको इतिहासमा विदेशमा बसेका नेपालीका लागि आइपीओ जारी गर्न लागिएको यो नै पहिलोपटक हो।

१० अर्ब रुपैयाँ फण्ड आइसकेपछि दोस्रो चरणमा सहायक कम्पनीहरु स्थापना गरेर नेपालमै बस्ने नेपालीका लागि समेत आइपीओमा लगानी गर्ने अवसर दिइने भट्टराईको भनाइ छ।

अहिले भने जलविद्युत आयोजनामा जसरी स्थानीय प्रभावितको लागि अग्राधिकारसहित आइपीओ जारी गरिन्छ। त्यसैगरी अग्राधिकारसहित एनआरएनका लागि मात्रै आइपीओ जारी गर्न लागिएको उनले बताए।

विदेशमा रहेका नेपालीको सानो सानो पुँजीलाई एकीकृत गरेर स्वदेशको विकास निर्माणमा परिचालन गर्ने उद्देश्यले फण्डको स्थापना गरिएको हो। फण्डले कम्तिमा १० लाख गैर आवासीय नेपालीलाई नेपालको विकास निर्माणमा जोड्ने लक्ष्य लिएको छ।

अहिलेसम्म तीन अर्ब रुपैयाँ भन्दा धेरै रकमको प्रतिबद्धतासमेत आइसकेकाले छिट्टै आइपीओ जारी गर्ने उनले बताए। विदेशी मुद्रा भित्र्याएर नेपालको उद्यम, व्यवसाय, र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने फण्डको तयारी छ। विदेशमा बस्ने श्रमिक, व्यावसायी, पेसाकर्मी सबैलाई आइपीओमा लगानी गर्ने अवसर दिइने छ।