काठमाडौं। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो सेवा विस्तार गर्ने क्रममा आउँदो वैशाख १८ गतेदेखि पोखरालाई आधार बनाएर तीनवटा प्रदेशका चार गन्तव्यमा नियमित उडान गर्ने भएको छ।
काठमाडौं बेस रही विभिन्न गन्तव्यमा दैनिक एक सय २० वटा भन्दा बढी उडान गर्दै आएको कम्पनीले यात्रु माग र सेव सहजतालाई मध्यनजर गर्दै पोखरा बेस रहेर अन्तर-प्रदेश उडान सुरु गर्न लागेको जनाएको हो।
कम्पनीले आउँदो बैशाख १८ गते 'मे १ तारिख' देखि पोखरा बेस रही प्रदेश २ (सिमरा), प्रदेश १ (विराटनगर), लुम्बिनी प्रदेश (नेपालगञ्ज), लुम्बिनी प्रदेश (भैरहवा) लगायत चारवटा गन्तव्यमा नियमित उडान सुरु गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए।
'मुलुकमा आएको राजनीतिक परिवर्तन र विकेन्द्रीकरणलाई आत्मसात गर्दै बुद्ध एयरले आफ्नो सेवा संघीय राजधानी काठमाडौंबाट मात्र नभइ प्रदेश-प्रदेशलाई पनि जोडेको छ। पछिल्ला उदाहरण हुन्-पोखराबाट भैरहवा, चितवन उडान र विराटनगर-तुम्लिङटार।' प्रबन्ध निर्देशक बस्नेतले भने,'यसकै अर्को कडी हो गण्डकी प्रदेशको राजधानी पोखराबाट विभिन्न प्रदेशलाई जोड्नु। हामीले यी उडान लाई परीक्षणका रूपमा लिएका छौं।'
यी गन्तव्यका लागि कम्पनीले एटीआर-७२ सिरिजको जहाज उडान सञ्चालन खर्चको आधारमा भाडादर निर्धारण गरेको कम्पनीले जनाएको छ।
कम्पनीले सुरुवाती चरणमा यी चार गन्तव्यमा बीचक्राफ्ट जहाजमार्फत उडान सेवा दिने योजना रहेको जनाएको छ। कम्पनीका अनुसार यात्रु माग बढेको अवस्थामा कम्पनीले निकट भविष्यमा आफूसँग भएको एटीआर-७२ सिरिजकै जहाजमार्फत नियमित उडान सेवा सुरु गर्नेछ।
यस्तो छ कम्पनीको अन्तर प्रदेशीय उडान गन्तव्य र भाडादर
आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीले अन्तरप्रदेशीय उडानलाई प्रदेश सरकार र संघीय सरकारले विशेष सहुलियत दिन आवश्यक रहेको जनाएको छ।
विकट गन्तव्य उडान अन्तर्गतको व्यवसायिक योजना
पछिल्लो समय विश्वभर कोभिड-१९ प्रभावका कारण अन्तर्राष्ट्रिय पर्यटकको चहलपहल तत्काल सामान्य अवस्थामा आउन असम्भव देखिए पछि कम्पनीले व्यवसायिक योजना अनुसार विकट उडान सेवा थप एक वर्ष पछाडि सारेको छ।
'विकट गन्तव्य उडान विदेशी पर्यटकमा कमै निर्भर छ। मेरो व्यक्तिगत प्रक्षेपण अनुसार अहिलेको अवस्था हेर्ने हो भने अझै एक वर्ष विदेशी पर्यटकको आवागमन सम्भव छैन। सन् २०२२ को टार्गेट थियो, अब सन् २०२३ सेप्टेम्बरदेखि मात्र विकट उडान सेवा सुरु गर्ने योजनामा छौं,' प्रबन्ध निर्देशक बस्नेतले भने।
कम्पनीले यो सेवा रामेछापको मन्थली बेस रही लुक्लातर्फ ट्विनअटर र सेस्नामध्ये एक किसिमको जहाजमार्फत सेवा दिने योजना बनाएको छ।