BIZMANDU
www.bizmandu.com

प्रदेश २ ले बारा-पर्सामा पाँच पुल बनाउन ठेकेदार छनोट थाल्यो, ४२ करोड लाग्ने अनुमान

२०७८ बैशाख ५

Tata
GBIME
Nepal Life

वीरगंज। प्रदेश २ को करिब साढे ४२ करोडको बजेटमा पर्सा र बाराका ग्रामीण भेगमा पाँच वटा पुलको निर्माण कार्य गर्ने योजना अघि बढाएको छ।

गत माघ २९ गते प्रदेश २ को भौतिक पूर्वाधार विकास कार्यालय वीरगंजले टेण्डर आह्वान गरी पाँच वटा ठेक्काको लागि ठेकेदार छनोट प्रक्रिया अघि बढाएको कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक मिश्रले जानकारी दिए।

पाँचवटै पुलको प्राविधिक मूल्यांकन सकेर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग स्वीकृतिका लागि फाइल पठाइएको र स्वीकृति आएपछि वित्तीय मूल्यांकन गरी ठेकेदार छनोट गरी कार्य सम्पन्न गराउन ठेक्का सम्झौता गरिने उनले बताए।

उनका अनुसार पर्साको रबिदास-बन्जारी जोडने सिकटा खोलामा करिब १२ करोडको लागतमा ७ मिटर चौडा र ५० मिटर लम्बाइको पुल र मसियानी–जगरनाथपुरबीच मधुवाहा खोला ७ मिटर चौडा र ४० मिटर लम्बाईको पुलको लागि ८ करोड बजेट अनुमान गरिएको छ।

त्यसैगरी, बाराको कलैया–प्रस्टोका सडकखण्ड बीच सन्सारीमाई खोला पुलको लागि साढे ६ करोड बजेट अनुमान भएको छ। उक्त पुल ७ मिटर चौडा र २५ मिटर लम्बाईको लागि ठेक्का आह्वान भएको छ।

बाराकै टियर खोला पुलको लागि ८ करोड बजेट विनियोजन भएको छ। इटहर–बेलाही सडकखण्ड बीच बन्ने उक्त पुल ७ मिटर चौडा र ५० मिटर लम्बाइको हुनेछ।

त्यसैगरी,बारागढी–टेढाकट्टी सडकखण्ड बीच बन्ने चिउटाहा खोला पुलको लागि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ करोडको लागत अनुमान गरेको छ। ७ मिटर चौडा र ४० मिटर लम्बाइको हुने पुलका लागि पनि ठेक्का आह्वान भएको उनले बताए।

उनले ५ वटा पुलमा ठेक्का प्रक्रिया अघि बढाउन १/ १ करोड बजेट हाल निकासा भइसकेको छ। ठेक्का सकार भएपछि बाँकी बजेट प्रदेश सरकारले पठाउने समेत जानकारी दिए।