BIZMANDU
www.bizmandu.com

कोरोनाको दोस्रो लहरले वीरगंजका सिनेमा हल सुनसान, न दर्शक आउँछन् न त नयाँ फिल्म 

२०७८ बैशाख ५

Tata
GBIME
Nepal Life

वीरगंज। कोरोनाको दोस्रो लहर बढ्न थालेपछि वीरगंजका सिनेमा हलहरु पुनः प्रभावित भएका छन्। फाट्टफुट्ट आउने दर्शक पनि पुनः घट्दा सिनेमा हलको व्यापार सुकेको छ।

२०७६ चैत ११ देखि बन्द रहेका वीरगंजका सिनेमा हलहरू तीन महिनाअघि मात्रै खुलेका थिए। हल खुले पनि दर्शक उपस्थिति निराशाजनक थियो। लाखौंको लगानी रहेका सिनेमा हलहरुमा नयाँ फिल्म प्रदर्शनका लागि नआउनु र दर्शक उपस्थिति पनि न्युन हुनुले संकट बढेको हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भीडभाड नगर्न र सिनेमाहल लगायतका स्थानहरू बेलुकी ७ बजेपछि बन्द गर्न वैशाख २ मा सूचना जारी गरेपछि दर्शकको अभावमा सिनेमाहलहरू पुनः बन्दको संघारमा पुगेका छन्। 

वीरगंजका चार सिनेमाहलमध्ये दुईवटा एक महिना अघिदेखि नै बन्द छन्। सञ्चालनमा रहेका दुईटामा पनि दर्शक संख्या निकै नै न्यून छ। वीरगंज–११ श्रीपुरको त्रिमूर्ति सिनेमाहल जनजीवन सामान्य हुन थाल्दा तीन महीनाअघि सञ्चालनमा आए पनि अपेक्षित संख्यामा दर्शक नआएपछि पुनः बन्द भयो। 

नेपाली, हिन्दी, भोजपुरी भाषाका फिल्न चल्ने हलमा गत वर्षदेखि नै नयाँ फिल्म आएका थिएनन्। पुरानो चलचित्र हेर्न दर्शकहरू नआउँदा सिनेमाहल बन्द गर्नुपरेको सञ्चालकले बताएका छन्। 

वीरगंज-१२ को ए-म्याक्स सिनेमाहलका सञ्चालक अनिल सर्राफले दुई साताअगाडिदेखि हलमा दर्शक नआउँदा चलचित्र प्रदर्शन नभएको बताए। दर्शक नआउँदा हल बन्द गर्नुपरेको बताए। अहिले वीरगंजका श्रीराम पिक्चर प्यालेस र बजरंग टाकिज मात्र सञ्चालनमा छन् तर त्यहाँ दर्शक संख्या प्रत्येस शोमा १०–२० जनाभन्दा बढी हुँदैन। जेनतेन सञ्चालनमा आएका ती दुई सिनेमाहल कुन दिन बन्द हुने हो ठेगान छैन। 

कोरोना महामारी अघि नै सिनेमाहलको व्यापार सुस्त भएको थियो। नयाँ प्रदर्शित हुने फिल्म हेर्न दर्शकहरूको एक/दुई दिन भीड हुने तथा त्यसपछि हल खाली हुने गरेको सञ्चालकहरू बताउँछन्।

घर–घरमा टिभी, हात–हातमा मोबाइल र इन्टरनेटबाट नयाँ चलचित्रहरू हेर्ने बानी बसाएका दर्शकहरू सिनेमाहलमा धाउन छाडेका थिए। त्यसमा कोरोनाले सिनेमाहललाई थप प्रभावित पारेको हो।