BIZMANDU
www.bizmandu.com

प्रदेश २ मा थप ७० मेगावाट सोलार विद्युतका लागि सर्वेक्षण अनुमति माग, क्षमता ६०० मेगावाट पुग्ने

२०७८ बैशाख ४

प्रदेश २ मा थप ७० मेगावाट सोलार विद्युतका लागि सर्वेक्षण अनुमति माग, क्षमता ६०० मेगावाट पुग्ने
प्रदेश २ मा थप ७० मेगावाट सोलार विद्युतका लागि सर्वेक्षण अनुमति माग, क्षमता ६०० मेगावाट पुग्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। प्रदेश २ मा थप ७० मेगावाट बराबरको सोलार विद्युत उत्पादनका लागि प्रो इनर्जीसहितका कम्पनीले सर्वेक्षण अनुमति माग गरेका छन्।

यो मध्ये प्रो सोलारको मात्रै ६० मेगावाट क्षमताको छ। प्राइम पावर कम्पनीले पनि रौतहटमा १० मेगावाटकै सोलार आयोजनाको सर्वेक्षण अनुमति माग गरेको विद्युत विकास विभागले जनाएको छ।

१०/१० मेगावाट क्षमताका ७ वटा आयोजनाबाट ७० मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित कम्पनीहरुले विद्युत विकास विभागमा सर्वेक्षण अनुमतिका लागि निवेदन दिएका हुन्।

ग्रीन लाइट सोलार पावर, इभरग्रीन सोलार पावर, क्लिन इनर्जी सोलार पावर, सौर्य ऊर्जा पीभी, ग्रीन इनर्जी सोलार पिभी र सोलार भिलेज पीभी आयोजनाको अध्ययन गर्न प्रो सोलार इनर्जीले मात्रै निवेदन दिएको हो।

सौर्य ऊर्जा पीभी, ग्रीन इनर्जी सोलार पीभी र सोलार भिलेज पीभी आयोजना सप्तरीमा निर्माण गर्ने टुंगो लागे पनि बाँकी तीन आयोजना भने कुन जिल्लामा बनाउने भन्ने टुंगो लागिसकेको छैन।

जलविद्युतको सम्भावना नरहेको प्रदेश २ मा पछिल्लो समय सोलार ऊर्जा उत्पादनका लागि विभिन्न कम्पनीले चासो दिइरहेका छन्।

चौधरी ग्रुपले मात्रै २०० मेगावाट सोलार ऊर्जा उत्पादनको काम गरिरहेकोमा पानस र मिथिला इनर्जीले पनि १००/१०० मेगावाटका दुई वटा आयोजना निर्माणको तयारी गरिरहेका छन्।

अन्य साना ठूला आयोजनाबाट गरि प्रदेश २ मा मात्रै ६०० मेगावाट भन्दा बढी सोलार विद्युत उत्पादनको लागि विभिन्न चरणमा काम भइरहेको छ। 

अहिले देशका विभिन्न ठाउँमा गरि करिब ८०० मेगावाट बराबरका सोलार आयोजना विभिन्न चरणमा निर्माणाधीन रहेकोमा ७५ प्रतिशतभन्दा बढी आयोजना प्रदेश २ मा मात्रै विकास भइरहेका छन्।