BIZMANDU
www.bizmandu.com

कर असुलीको दर घट्न थालेपछि कामपा देखाउन थाल्यो सडक नाटक, ‘कर छल्न सकिँदैन’

२०७८ बैशाख ४

काठमाडौं। अपेक्षाअनुसार कर संकलन हुन नसकेपछि काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियान सुरु गरेको छ। कर संकलनलाई प्रभावकारी बनाउन शुक्रबारदेखि ‘सडक नाटक’ देखाउन सुरु गरेको हो। 

Tata
GBIME
Nepal Life

हनुमानढोका कालभैरव पछाडिको डबलीमा नाटक मञ्चन गरेर सुरुवात गरिएको हो। पहिलो चरणमा १० स्थानमा सडक नाटक देखाउने तयारी भएको काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले बताए।

‘करदातालाई दबाब दिएर होइन सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण सिर्जना होस भन्ने हेतुले महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गर्न लागेको हो,’ उनले भने, ‘पहिलो चरणमा हामी वसन्तपुर, कालिमाटी, कलंकी, चाबहिल, गौशाला, नयाँ बानेश्वर लगायतका स्थानमा सचेतनासहित सडक नाटक गर्छौ।‘ प्रभावकारी भयो भने स्थानहरु थप गर्ने तयारी महानगरपालिकाको छ।

कोभिडका कारण चालु आर्थिक वर्षमा राजस्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै अधिकारीले प्रक्षेपण अनुरुप कर संकलन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरेको बताए। ‘यस्तो महामारीका बेला करदातालाई दबाब दिने भन्दा पनि सचेतनामूलक अभियान सञ्चालन गरेर राजस्व असुली बढाउने उद्देश्य अनुरुप यसो गरेका हौं,’ उनले भने, ‘हामीले आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारको अनुगमन गरेका थियौं। कर तिर्नेलाई धन्यवादपत्र र नतिर्नेलाई के–कारणले कर तिर्न सम्भव भएन भनी जानकारी गराउन सबै विवरणसहित विभागमा हाजिर हुने पत्र थमाएका थियौं।’ 

‘नाटक करीब २० मिनेटको हुन्छ,‘ उनले भने, ‘करदातालाई जागरुक गराउन र उनीहरुले राज्यलाई तिर्ने करको सदुपयोग कसरी हुन्छ भन्ने देखाउन प्रहसनको पनि व्यवस्था गरेका छौं।’ नाटकमा सुरज विष्ट (लोभी घरबेटी बा), जीवन थापा (असल छिमेकी), मञ्जु गिरी (वडा कार्यालयको कर्मचारी), कञ्चन सापकोटा (भाडावाल) ले अभिनय गरेका छन्। घरधनीलाई बहाल नतिरी भाग्ने भाडावाललाई खोजेर भाडा असुल्न हिँडेको घरधनी आफूले महानगरलाई कर नतिरेका कारण आफैँ कानुनको परिबन्दमा परेको कथा नाटकमा छ।

नाटकको मुख्य सन्देश कर केही समय छल्न सकिन्छ तर, कुनै न कुनै दिन कानुनको फन्दामा परिन्छ भन्ने छ। कानुनी कारवाहीमा पर्ने त्यो समय आउनु अघि थोरै थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिन्छ भन्ने देखाउन खोजिएको हो।

कोभिडका कारण यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिइएको छ। ‘होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौं,’ प्रमुख अधिकारीले भने, ‘सम्पत्ति करमा १० प्रतिशत छुट दिएका छौं, त्यो चैत मसान्तासम्म मात्रै हो। सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएका छौं।’ बहाल करमा कोभिडका बेला एक महिना घरभाडा छुट दिएका घरधनीलाई असारसम्म करमा १० प्रतिशत छुट दिएको उनले  बताए।