BIZMANDU
www.bizmandu.com

एयर ट्राफिक व्यवस्थापनका लागि १० अर्बको आयोजना सुरु गर्दै प्राधिकरण


एयर ट्राफिक व्यवस्थापनका लागि १० अर्बको आयोजना सुरु गर्दै प्राधिकरण
एयर ट्राफिक व्यवस्थापनका लागि १० अर्बको आयोजना सुरु गर्दै प्राधिकरण

Tata
GBIME
Nepal Life

काठमाडौं। एयर ट्राफिक व्यवस्थापनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार बिस्तार गरिने भएको छ। यसका लागि नागरिक उड्डयन प्राधिकरणले करिब १० अर्बको परियोजना डिजाइन गरेको छ।

परियोजना अन्तर्गत प्राधिकरणले हाल भएको ट्याक्सी-वेको विस्तारसँगै आन्तरिक टर्मिनल भवन विस्तारका लागि नेपाल वायुसेवा निगम र नेपाली सेनाको ह्याङ्गर स्थान्तरण गर्ने योजना रहेको प्रमुख इन्जिनियर मुरारी भण्डारीले बताए। 'हाम्रो एयरपोर्टमा अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार थप्न यो महत्त्वपूर्ण परियोजना हुनेछ,' उनले भने।

दुवै परियोजना एसियाली विकास बैंकको ऋण सहयोगमा प्राधिकरणले आगामी असारदेखि सुरु गर्न लागेको उनले जानकारी दिए। ट्याक्सी-वे विस्तारका लागि प्राधिकरणले दक्षिणपट्टिको धावन मार्गको तीन सय मिटर विस्तार गरिसकेको छ। रनवेबाट जहाज पार्किङतर्फ जान सहज बनाउनका लागि ट्याक्सी-वे विस्तार गर्न लागिएको उनले बताए। 'कुल पाँचवटा ट्याक्सी-वे मध्ये पाँचौंदेखि रनवेको अन्तिम विन्दुसम्म जोड्नका लागि टेण्डर प्रक्रिया अगाडि बढाएका छौं। यसो हुँदा रनवेको क्यापासिटी बढ्नुका साथै माथि आकाशमा जहाज होल्ड हुने समस्या न्यूनीकरण गर्छ,' इन्जिनियर भण्डारीले भने।  

उनका अनुसार यो परियोजना सुरु गर्नका लागि आवेदन दिएका निर्माता कम्पनीको  मूल्यांकन भइरहेको छ। कम्पनी छनोट भएलगत्तै यी परियोजना तीन वर्षभित्रै सक्ने योजना रहेको उनले बताए। चालु आर्थिक वर्ष भित्रै निर्माता कम्पनी छनोट गर्ने लक्ष्यका साथ प्रक्रिया अघि बढेको छ। उनका अनुसार ट्याक्सी-वे विस्तारका लागि मात्र ५० मिलियन अमरिकी डलर (नेरु पाँच अर्ब) लागत अनुमान गरिएको छ।
 
'ट्याक्सी-वेबाट ठूला जहाजहरु रनवेमा छिरेर पुनः गुडेर रनवेमा पुगेर पुनः टेकअफ गर्ने जुन समय छ, त्यो जहाजका लागि धेरै समय हो। त्यो समय घटाउनका लागि ट्याक्सी-वे विस्तार गर्न लागेका हौं। यसो भएपछि जहाजहरु ट्याक्सी-वे हुँदै रनवेकै अन्तिम विन्दुमा गएर क्युमा बस्न सक्छन् र सहजै टेक-अफ गर्न सक्नेछन्,' उनले भने।

यसैगरी आन्तरिक टर्मिनल भवन क्षमता विस्तारका लागि विमानस्थलको पूर्वपट्टिको भागमा ह्यांगर एरिया निर्माण गरिने भएको छ। यो क्षेत्रमा दुईवटा ह्यांगर निर्माण गर्ने सकिने क्षमताको क्षेत्र विस्तार गर्न लागिएको छ। 'एउटा ह्यांगरमा हाम्रै मुलुकमा भएका ठूला वायुसेवा कम्पनीका वाइडबडी सिरिजका जहाजको मर्मतसम्भार विस्तार गर्ने उद्देश्य ले यो ह्यांगर क्षेत्र निर्माण गर्न लागिएको हो,' उनले भने, 'यसको भौतिक संरचना भने वायुसेवा कम्पनी आफैंले निर्माण गर्नेछन्। नेपाल वायुसेवा निगम प्रयासरत छ।'

उनका अनुसार यसका लागि पार्किङ क्षमता, जहाजलाई ट्याक्सी-वेबाट रनवेसम्म जाने सबै पूर्वाधार प्राधिकरणले तयार गरिदिने छ। 'ह्यांगर एरिया डेभलपमेन्ट' नाम दिइएको यो परियोजना अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम, हिमालय, बुद्ध एयर लगायत विभिन्न वायुसेवा कम्पनी प्रयोजनका लागि रहेको छ।

अर्को ह्यांगर एरिया डेभलपमेन्ट नेपाली सेनाका लागि तयार गर्ने योजना रहेको उनले जानकारी दिए। उनका अनुसार ह्यांगर एरिया डेभलपमेन्टका लागि करिब पाँच अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ। 'दुवै परियोजना एकदम महत्वपूर्ण छ। ह्यागर स्थानान्तरण गरिसकेपछि अहिले डोमेस्टिक टर्मिनल भवनमा भएको साँघुरोपना न्यूनीकरण हुनेछ,' उनले भने, 'यसैगरी प्यारालल ट्याक्सी-वे विस्तार गर्दा रनवे र ट्याक्सी-वे बीचको दुरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसारको कायम हुनेछ।'

धावनमार्गबाट पश्चिमतर्फ जति मापदण्ड छ, त्यति मापदण्डअनुसार एक सय ७२ मिटर पश्चिमतर्फ सारिने उनले बताए। 'यसका लागि डोमेस्टिकतर्फ भएका विभिन्न वायुसेवा कम्पनीका ह्यांगरले रोकिरहेका छन्। विस्तारै विस्तारै त्यसलाई सार्नका लागि यसले सहयोग पुर्‍याउनेछ,' उनले भने। 

असारसम्म ठेक्का छनोट गरेर अवार्ड गर्ने तयारी रहेको उनले जानकारी दिए। उनका अनुसार यसका लागि प्राधिकरणले डिजाइन तयार गरिसकेको छ।

विस्तारित तीन सय मिटर धावनमार्ग प्रयोगमा आउने 
विमानस्थलको दक्षिणपट्टि ‘जिरो टु’ तर्फ थप तीन सय मिटर विस्तार गरिएको धावनमार्ग आउँदो अप्रिल २२ देखि सञ्चालनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए।

विस्तारित  धावनमार्गको काम सम्पन्न भइसके पनि यतिखेर दक्षिणपट्टीको लाइटिङ जडान, मार्किङ लगायतका काम अन्तिम चरणमा छ। रनवेको इण्ड सेफ्टी एरिया 'उत्तरी भाग' कायम गर्नका लागि प्राधिकरणले धावनमार्गको थप तीन सय मिटर दुरी विस्तार गरेको उनले जानकारी दिए।

कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको यस परियोजनाको लागत करिब ८० करोड रुपैयाँ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।