BIZMANDU
www.bizmandu.com

पूर्वका ठूला उद्योगी व्यापारी नेपाल उद्योग परिसंघमा गोलवद्ध, एफएनसीसीआईलाई गम्भिर धक्का


पूर्वका ठूला उद्योगी व्यापारी नेपाल उद्योग परिसंघमा गोलवद्ध, एफएनसीसीआईलाई गम्भिर धक्का
पूर्वका ठूला उद्योगी व्यापारी नेपाल उद्योग परिसंघमा गोलवद्ध, एफएनसीसीआईलाई गम्भिर धक्का


Tata
GBIME
Nepal Life

विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा औद्योगिक नगर विराटनगरका उद्योगी व्यवसायी नेपाल उद्योग परिसंघमा आवद्ध भएका छन्।

परिसंघको प्रदेश १को तदर्थ समितिमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका बहालवाला अध्यक्ष, पूर्व पदाधिकारी र विराटनगरका पुराना उद्योगी व्यवसायी जोडिएका छन्। उनीहरु परिसंघमा जाँदा महासंघलाई गम्भीर धक्का लागेको छ। यी दुई संस्थाले उद्योगी व्यवसायीका मुद्दालाई नजिकबाट नियालेर सम्बोधनका लागि महासंघलाई सल्लाह र सुझाव दिने गर्थे।

यी दुई संस्थाले पछिल्लो दुई वर्षदेखि बैंक ब्याज, श्रम विवाद, उद्योगी व्यवसायीको आत्मसम्मानका मुद्दालाई राष्ट्रिय रूपमा उठाएका थिए। ती मुद्दामा महासंघले नेतृत्व लिन नसकेको भन्दै यी दुई संस्थाले सोझै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहुँच राखेर छलफल समेत गरेका थिए।

को को गए परिसंघ?
परिसंघको तदर्थ समितिको अध्यक्षमा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष भीम घिमिरे छन्। मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा पनि परिसंघको समितिमा वरिष्ठ उपाध्यक्ष छन्।

नबलकिशोर काबरा र सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र देवेन्द्र गुप्ता तदर्थ समितिको उपाध्यक्षमा मनोनित गरिएको छ। समितिको कोषाध्यक्षमा गिरीश लुनियाँ र सदस्यहरूमा विकास अधिकारी, डेनिस कार्की, वेदान्त जाजू, दिवस सुवेदी, अनूप सिग्देल, कर्ण रायमाझी, भावेश राठी, निखिल तोदी र गिरिजा शारडा छन्।

त्यस्तै मधुर दुगड, रिसब दाहाल, साकेत राठी, अनुपमा बास्तोला, मुकेश कोठारी, महेश पौडेल, रजत तोदी र राजेन्द्र राठी पनि सदस्यमा मनोनीत भएका छन्। तदर्थ समितिमा मधु लोहियाको सभापतित्वमा महिला उद्यम समिति र गोपाल अग्रवालका सभापतित्वमा युवा उद्यमी उपसमितिको गठन गरिएको छ।

सीएनआईको प्रदेश समितिको गठन गर्न सबैभन्दा ठूलो भूमिका उद्योग सङ्गठनका पूर्व अध्यक्ष सुशील धनावत तथा व्यापार संघका पूर्व अध्यक्षद्वय पवनकुमार शारडा र महेश जाजूले गरेका हुन्। जाजू समितिको प्रमुख सल्लाहकार तथा धनावत सल्लाहकार हुन्। अन्य सल्लाहकारमा वासुदेव गोल्यान, मीनप्रकाश मैनाली र उद्धव रिजाल छन्।

विराटनगरमा  यसअघि २०६७ सालमा तत्कालीन अध्यक्ष विनोद चौधरी आएर उद्योगपति वासुदेव गोल्यानका अध्यक्षतामा सीएनआईको कोशी अञ्चल तदर्थ समिति गठन गरेका थिए। तर गोल्यानको निष्क्रियताका कारण उक्त समिति अस्तित्वमा आउन सकेन। उनलार्ई अहिलेको समितिमा सल्लाहकार बनाइएको छ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवं पूर्व राज्यमन्त्री मोती दुगडलाई संरक्षक तथा भवन निर्माण समितिको विशिष्ट सदस्यमा राखिएको छ। दुगड पनि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ गरी दुवै संस्थाका पूर्व उपाध्यक्ष समेत हुन्। संरक्षक एवम् भवन निर्माण समितिमा महेश सोनी, विकास दुगड र आरती स्ट्रिप्सका उपाध्यक्ष अश्विनी शर्मालाई पनि राखिएको छ।

पदका लागि परिसंघ गए
केही व्यवसायीले भने पद गुम्ने वित्तिकै र पद गुम्ने अवस्था आएपछि परिसंघमा गएको आरोप लगाएका छन्। घिमिरे गत महिनामात्र उद्योग संगठन मोरङको अध्यक्ष पदबाट हटेका थिए।

खासमा उनी गत पुस २० गते झापाको बिर्तामोडमा भएको नेपाल उद्योग वाणिज्य महासंघ  प्रदेशस्तरीय निर्वाचनबाट अध्यक्षमा आउन चाहन्थे। तर उनी आउन सकेनन्। त्यसपछि घिमिरे महासंघको नेतृत्वसँग चिढिएका थिए। उनलाई नजिकबाट चिन्ने एक व्यवसायीले भने, ‘भीमजी बिना पद बस्न सक्नुहुन्न। त्यसैले उहाँले आफू उद्योग संगठनको अध्यक्ष बहाल रहेकै अवस्थामा भित्रभित्रै सीएनआईको प्रदेश समितिको अध्यक्षमा मनोनीत गरेको पत्र फागुन महिनामै ल्याइसक्नु भएको थियो।’

घिमिरेले उद्योग संगठनको गत फागुन २९ को ४८ औं साधारण सभाको उद्घाटन समारोहमा सीएनआईका अध्यक्ष सतीशकुमार मोरलाई पनि वक्ता बनाएका थिए। तर घिमिरे पद आशक्ति रहेको आरोप स्वीकार्दैनन्। ‘म पदका लागि गएको होइन। चार पटकसम्म एउटै पदमा रहेर महासंघलाई प्राइभेट लिमिटेड बनाउने काम गरे,’ उनले बिजमाण्डूसँग भने, ‘चरम राजनीतिक हुने संस्थालाई छाडेर उद्योगी व्यवसायीको बारेमा बहस पैरवी गर्ने संस्था परिसंघलाई रोजेको हुँ।’

उनले राजनीतिका कारण महासंघको गरिमा नै खस्किसकेको बताउँदै पछिल्लो समयमा ल्याएको 'मेक इन नेपाल' परियोजना समेत स्वदेशी उद्योगीप्रति लक्षित रहेको जिकिर गरे। ‘हामीले उद्योगीका धेरै मुद्दा उठायौं। तर महासंघले ती मुद्दालाई बहस पैरवी नै गरेन। बरु परिसंघले हाम्रा मुद्दालाई मिहिन ढंगले हेरेर समाधानको प्रयास गर्‍यो,’ घिमिरेले भने, ‘एजेण्डाका आधारमा म परिसंघ गएको हुँ।’

त्यस्तै अर्को नैतिक प्रश्न मोरङ व्यापार संघका अध्यक्ष मुन्दडा उपर पनि तेर्सिएको छ। उनी तदर्थ समितिको वरिष्ठ उपाध्यक्ष भएका छन्। व्यापार संघ नेपालकै जेठो व्यावसायिक संस्था हो। यो संघ एफएनसीसीआईको संस्थापक संस्था पनि हो। मुन्दडा ६ महिनापछि हुने व्यापार संघको निर्वाचनबाट बाहिरिदै छन्।

‘घिमिरे त पदमुक्त भएपछि सीएनआईमा प्रवेश गरे तर मुन्दडा पदमा बहाल रहेकै अवस्थामा गएका छन्,’ ती व्यवसायीले भने, ‘योे पदमोह नै हो।’ मुन्दडा यो आरोप मान्न तयार छैनन्। उनले व्यवसायिक संस्था मिलेर जाँदा त्यसको नतिजा राम्रो आउने बताउँदै इगो त्यागेर अगाडि बढ्नुपर्ने भावना आत्मसात गरेको बताए। ‘हामी लडेर हुँदैन। व्यवसायिक एजेण्डालाई एउटै बनाएर अघि बढ्नुपर्छ भन्ने मान्यता राखेर परिसंघको समितिमा बसेको हुँ,’ उनले भने, ‘अहिले हामीले जुन पारामा काम गरिरहेका छौं। त्यसले देशको र व्यापारी दुवैको हित हुँदैन।’

शेखरसँग छलफल गरेर परिसंघमा
घिमिरेले महासंघका अध्यक्ष शेखर गोल्छासँग सल्लाह गरेर परिसंघमा गएको बताए।

‘मैले शेखरजीलाई पनि सोधेको थिए। उहाँले दुवै संस्थाको एउटै एजेण्डा बोकेर हिड्ने भएकाले मिलेर नै काम गरौला भन्नुभयो,’ घिमिरेले भने, ‘उहाँसँग छलफल गरेरनै परिसंघमा गएको हो।’

परिसंघ बन्यो बलियो
सीएनआईलाई पनि प्रदेश १ मा बलियो समिति बनाउनु थियो र यहाँका केही व्यवसायीलाई पनि कुनै न कुनै ‘प्लेटफर्म’ चाहिएको थियो। अझ एफएनसीसीआईसम्बद्ध संस्थालाई नै कमजोर बनाउन पाउँदा सीएनआईको केन्द्रीय नेतृत्व अघि नसर्ने  प्रश्नै थिएन।

यही संयोगका कारण सीएनआईको प्रदेश नम्बर १ को तदर्थ समितिको सहज गठन सम्भव भएको हो। अझ रोचक कुरा त के छ भने एफएनसीसीआईसम्बद्ध व्यापार संघ र उद्योग संगठनले पाएजस्तै सीओ अर्थात् उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) जारी गर्ने अधिकार सीएनआई र नेपाल चेम्बर अफ कमर्सका जिल्ला र प्रदेशस्थित शाखाले पनि पाउने भएका छन्।

सीओको अधिकारका कारण यसअघि व्यापार संघ र उद्योग संगठनका पदाधिकारीले सुपारीको निर्यातमा राम्रै चलखेल गर्न पाएका थिए। दुवै संस्थाले सुपारीका निर्यातकर्तासित सीओको शुल्कबाहेक प्रतिकिलो ५० पैसादेखि १ रुपैयाँसम्म असुलेका थिए। सीओलाई संस्थाका लागि आम्दानीको राम्रो स्रोत मानिन्छ।

अध्यक्ष घिमिरेले समितिको पदस्थापन आगामी वैशाखको दोस्रो सातामा र प्रदेशस्तरीय अधिवेशन ६ महिनाभित्र गरिने जानकारी दिए।घिमिरेले समितिको कार्यालय प्रदेश राजधानी विराटनगरमै राखिने र महानिर्देशकमा विजयहरि शर्मालाई नियुक्त गरिएको स्पष्ट पारे।