BIZMANDU
www.bizmandu.com

सेनाको व्यापार मोहः अस्पतालका लागि बनाएको भवन वार्षिक ५० करोड भाडा लिनेगरि दियो लिजमा

२०७७ चैत्र २७

सेनाको व्यापार मोहः अस्पतालका लागि बनाएको भवन वार्षिक ५० करोड भाडा लिनेगरि दियो लिजमा
सेनाको व्यापार मोहः अस्पतालका लागि बनाएको भवन वार्षिक ५० करोड भाडा लिनेगरि दियो लिजमा

Tata
GBIME
Nepal Life

‍काठमाडौं। नेपाली सेनाले अस्पतालका लागि भनेर काठमाडौंको महांकालमा बनाएको भवन समेत भाडा खानेगरि निजी कम्पनीलाई लिजमा दिएको छ। 

सेनाले श्रीजयन्ती निर्माण सेवा नामको कम्पनीलाई १५ वर्षका लागि व्यापारिक प्रयोजनमा लगाएर भोगचलन गर्न पाउनेगरि अस्पताल भवन भाडामा दिएको हो। यो 'क' वर्गको निर्माण कम्पनीका सञ्चालक रोल्पाका खगेन्द्र बुढामगर हुन्।

सेना स्रोतका अनुसार, यसले महिनाकै ४ करोड ११ लाख ११ हजार १११ रुपैयाँ लिने गरि श्रीजयन्ती समूहअन्तर्गतको यस कम्पनीलाई अस्पताल भवनको ८६ प्रतिशतभन्दा बढी हिस्सा लिजमा लगाएको छ। भवनको कुल क्षेत्रफल तीन लाख ३० हजार वर्गफिट छ। यसमध्ये दुई लाख ८५ हजार वर्गफिट सेनाले जयन्तीलाई दिएको हो। यसबाट सेनाले वर्षमा ४९ करोड ३३ लाख ३३ हजार तीन सय ३२ रुपैयाँ उठाउनेछ।

भवनको बाँकी करिब १५ प्रतिशत भाग (४५ हजार वर्गफिट) मा मात्र अब सेनाको त्रिचन्द्र सैनिक अस्पताल रहनेछ। जबकि, सुरुमा यो पूरै भवनमा अस्पताल मात्र सञ्चालन गर्ने योजनाका साथ सेनाले त्रिचन्द्र सैनिक अस्पतालको पुरानो भवन भत्काएर नयाँ बनाउन थालेको थियो। 

अस्पतालका लागि लगाएको भवन व्यापारिक कम्प्लेक्सका रूपमा प्रयोग गर्नेगरी निजी कम्पनीलाई भाडामा दिएको बारे नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल भन्छन्, 'सुरुमा अस्पतालका लागि नै भनेर निर्माण थालिएको भएपनि लाभार्थीहरुले छाउनीमा अस्पताल रहेको र राजधानीमा नै अर्को अस्पताल आवश्यक नरहेको बताएपछि भाडामा लगाइएको हो।'

यसबारे थप प्रष्ट्याउँदै उनले भने, 'भूतपूर्व सैनिक सम्मेलन भयो। हिताधिकारीहरुले सबै सुविधा केन्द्रमा भयो भन्नुभयो। वीरेन्द्र सैनिक अस्पताल हुँदाहुँदै राजधानीमा अर्को अस्पताल किन चाहियो भन्ने प्रतिक्रिया आयो। त्यसपछि उपत्यकाबाहिरका अस्पतालमा यहाँबाट प्राप्त नाफा खर्चिने निर्णय भएको हो।'

उनका अनुसार यहाँबाट आएको रकमबाट सेनाले उपत्यकाबाहिरका अस्पतालहरुमा औषधि, उपकरण तथा मर्मतसम्भार लागि प्रयोग गर्नेछ। सेनाले उपत्यकाबाहिर इटहरी, नेपालगञ्ज, पोखरा, धनगढी र सिन्धुली गरि पाँच स्थानमा अस्पताल सञ्चालनमा ल्याएको छ।
'हामीले पहिलेको अस्पतालले चर्चेको जति भागमा अस्पतालन नै सञ्चालन गरेका छौं। केही जग्गा ट्रमा सेन्टरलाइ समेत दिएका छौं,' पौडेलले भने 'यो भवन नाफाका लागि नभएर सेवाको भावले हामीले भाडामा लगाएका हौं।' 

व्यापारिक प्रयोजनमा लगाउने गरि लिजमा लिएको कम्पनीले यस भवनको नाम श्री जयन्ती ट्रेड सेन्टर राखेर भाडामा स्पेस बेच्नका लागि विज्ञापन समेत निकालिसकेको छ। भवनको अघिल्तिरको उत्तरपट्टिको भाग मात्र अस्पतालका लागि प्रयोग गरिएको छ। यो अस्पतालमा दाँत तथा बालबालिका सम्बन्धी रोगको मात्र उपचार गर्नेगरि सेनाले बाँकी स्वास्थ्य सेवा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा सारिसकेको छ। मेडिकल रिसर्च ल्याब भने यही भवनमा बनाउने योजनामा सेना छ। 

भवनको दक्षिणतर्फको र पछाडिको सम्पूर्ण भाग व्यापारिक प्रयोजनका लागि भाडामा लगाइएको हो। उक्त भागका सटर तथा स्पेसहरु श्री जयन्तीले भाडामा समेत लगाइसकेको छ, जसका सटरहरुमा धमाधम सामान राखेर व्यापार पनि सुरु भइसकेको छ। अहिले त्यसमा लत्ताकपडाका पसलहरु राखिएका छन्। सहकारीको अफिस समेत यसमा खुलिसकेको छ। अन्य स्पेसमा पनि सटरहरु हाल्ने काम धमाधम चलिरहेको छ। 

सेनाले लिजमा दिएको सबै ठाउँ क्लियर गरेर उपलब्ध गराइसकेको छैन। भवन निर्माणको काम चलिरहेकाले आउँदो असारसम्ममा उपलब्ध गराउने सर्तमा श्री जयन्तीसँग सेनाले सम्झौता गरेको छ। साथै, सेनाले निषेध गरेबाहेकका व्यापार वा अन्य प्रयोजनाका लागि ठेकेदार कम्पनीले भाडामा लगाउन पाउने सर्त पनि सम्झौतामा राखिएको छ। 

सेनाका एक अधिकारीका अनुसार, महांकालको यो भवन निर्माण तथा अस्पताल पुनः सञ्चालनमा ल्याउनका लागि एक अर्ब ६० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। सुरुमा भनिएजस्तो सबै आधुनिक सेवा-सुविधायुक्त अस्पताल सञ्चालनमा ल्याउन थप तीन अर्ब रुपैयाँभन्दा माथि लाग्ने लागत अनुमान आएपछि सेना हच्किएको र त्यसपछि भवनलाई भाडामा लगाउने निर्णयमा पुगेको उनको जिकिर छ।

सेनाले यसअघि पनि २०७४ सालमै भवन भाडामा लगाउन टेण्डर निकालेको थियो। जसको ठेक्का एभरेष्ट ट्रेडर्सले पाएको थियो। तर उक्त कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि लिज सम्झौताका लागि सम्पर्कमा नआएपछि २०७६ फागुनमा सेनाले सो सम्झौता रद्द गरेको थियो।

त्यससँगै एभरेष्ट ट्रेडर्सले राखेको ९० लाख रुपैयाँ जमानत समेत जफत गरेर सेनाले भवन भाडामा लगाउनका लागि नयाँ टेन्डर सूचना निकालेको हो। सोहीअन्तर्गत सेनाले सर्वाधिक रकमको प्रस्ताव हाल्ने श्री जयन्तीसँग लिज सम्झौता गरेको बताइएको छ।

हाल बनाएको नयाँ भवन सुरुमा १५ तलाको बनाउने गरि निर्माण थालिएको भए पनि २०७२ वैशाखको भुकम्पपछि यसलाई नौ तलामा झारिएको हो।

पहिलो विश्वयुद्धमा भाग लिएका वीर नेपाली सिपाहीहरुको सम्झनामा विसं १९८२ मा त्रिचन्द्र मिलिटरी अस्पताल निर्माण भएको थियो। ९५ वर्ष पुरानो यस अस्पतालले तत्कालिन समयमा पहिलोपटक फाइबर अप्टिक इन्डोस्कोपी उपकरणसमेत भित्र्याएको थियो। 

त्यतिबेला यसलाई दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमध्ये मानिन्थ्यो भनिन्छ। २०४६ सालमा यस अस्पतालका विभिन्न सेवा तथा उपकरणहरु छाउनीमा स्थानान्तरण गरि वीरेन्द्र  सैनिक अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको हो। छाउनीमा रहेको उक्त सैनिक अस्पताल ६ सय २५ शय्याको छ।