BIZMANDU
www.bizmandu.com

‘कोरोनाका कारण अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ,’ राजेशकाजी श्रेष्ठको विचार

२०७७ चैत्र २६

‘कोरोनाका कारण अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ,’ राजेशकाजी श्रेष्ठको विचार
‘कोरोनाका कारण अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ,’ राजेशकाजी श्रेष्ठको विचार


Tata
GBIME
Nepal Life

मुलुकको अर्थतन्त्र यति बेला सन्तोषजनक अवस्थामा छैन। कोभिड संकट सुरु भएको एक वर्षभन्दा बढी समय भइसकेतापनि अर्थतन्त्रको गति र दिशा अझै अन्योलग्रस्त छ।

पर्यटन लगायतका कतिपय क्षेत्रमा भएको खर्बौं लगानी जोखिममा परेको छ भने अलिअलि सुधार भएका क्षेत्रको विस्तार पनि त्यति सुखद छैन। विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालू वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेबाट नै हाम्रो अर्थतन्त्रका आगामी केही दिन अझै त्यति सुखद छैन भन्ने देखिन्छ। यतिमात्र हैन, हाम्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार आर्थिक वृद्धि करिब २ प्रतिशतले ऋणात्मक भएको देखाएको छ।

३९ खर्ब ४३ अर्बको हाम्रो अर्थतन्त्रको आकार आफैंमा त्यति ठूलो नभएकाले अर्थतन्त्रलाई कोरोना र यस्तै महामारीबाट जोगाउन साधन स्रोतको अभावभन्दा पनि इच्छाशक्ति जरुरी देखिन्छ। विगतमा सरकारले बजेट तथा मौद्रिक नीतिबाट ल्याएका केही राहत सम्बन्धी व्यवस्थाका कारण अर्थतन्त्रले थप क्षति बेहोर्नु नपरे पनि पुनरुत्थानको बाटोमा अझै हिँड्न सकेको छैन।

यसैले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष म यो आग्रह गर्न चाहन्छु कि कोरोना महामारीपछि चाँडो रिकभर भएको अर्थतन्त्रका रूपमा नेपालको नाम सारा विश्वले चिन्न सक्ने अवस्था सिर्जना गर्न सकौं, यसका लागि हामी निजी क्षेत्र सरकारलाई हरतरहले साथ दिन तयार छौं। सरकारले ठूलो लगानी गर्नुभन्दा पनि केही नीतिगत सहजीकरण मार्फत यसो गर्न सक्छ भन्ने हाम्रो विश्वास छ।

नेपाल चेम्बर अफ कमर्सले स्थापनाकालदेखि नै सरकारसँग सहकार्य गर्दै आइरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिने नै छौं। हाम्रा सल्लाह र सुझावहरू सरकारका ऐन, कानुन, नीति तथा कार्यक्रममा केही न केही समेटिएको अवस्था छ। यसका लागि नेपाल सरकारलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं र भविष्यमा पनि सहकार्यको अपेक्षा गर्दछौं। सरकार र निजी क्षेत्र एकले अर्कालाई निषेध गरेर अगाडि बढ्न सक्दैनन्। हामीबीच सहकार्यको विकल्प छैन।

सरकार कहिलेकाहिँ गलत बाटोमा हिँड्न खोजेमा सच्याउने दायित्व आम नागरिकको जस्तै निजी क्षेत्रको पनि हो। हामीले खासगरी आर्थिक विषयवस्तुसँग सम्बन्धित नीतिनियम तर्जुमाका सन्दर्भमा विगतमा सरकारको आलोचना पनि गरेका छौं र सडकमै ओर्लिएको अवस्था पनि छ। तर पछिल्लो समय निजी क्षेत्र र सरकारबीच सम्बन्ध सुमधुर छ।

निजी क्षेत्र र ट्रेड यूनियनबीच पनि विश्वासको वातावरण बनेको अवस्था छ। तातेको बेला फलामलाई आफूले चाहेको आकारमा बदल्न सकिएजस्तै अहिले सरकार, निजी क्षेत्र र श्रमिकबीच विश्वासको वातावरण बनेकाले आर्थिक सुधारलाई नयाँ उचाइमा पुर्‍याउने उचित अवसर छ। यसका लागि अग्रसरता लिन म सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष विनम्रतापूर्वक आग्रह गर्दछु। मुलुकको समृद्धिका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको दृढ इच्छाशक्ति कार्यान्वयनमा अब ढिलो गर्नु हुँदैन भन्ने म आग्रह गर्न चाहन्छु।

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षका हैसियतले यो मेरो अन्तिम मन्तव्य पनि हो। निजी क्षेत्रको जेठो संस्थाको नेतृत्वमा लामो समयसम्म रहँदा चेम्बरलाई जुन उचाइमा पुर्‍याउन सकेँ, मुलुकको शासकीय स्वरुप र शासन प्रणालीअनुसार चेम्बरलाई पनि अघि बढाउन सफल भएँ। यसको श्रेय म सम्पूर्ण चेम्बर सहकर्मी, निजी क्षेत्र र नेपाल सरकारलाई दिन चाहन्छु। सबैको साथ र सहयोगकै कारण नेपाल चेम्बर आज नीतिनिर्माणदेखि व्यवसायीका समस्यामा सहजीकरण, प्रवर्द्धन तथा भोलिको सुनौलो भविष्यका किरण देखाउने सारथि बनेको छ।

व्यवसायीको प्रतिनिधिमूलक संस्था भए पनि चेम्बर नेपाली समाजलाई संकटमा पर्दा मल्हमपट्टी लगाउने सामाजिक संस्था पनि हो। भिन्न विचारका राजनीतिक नेतृत्वसँग समान दूरी राख्दै आर्थिक विकासमैत्री बनाउन उत्प्रेरित गर्ने यो संस्थाको गरिमासँग म भोलिका दिनमा पनि अवश्य नै जोडिनेछु। मेरो कार्यकालमा चेम्बरलाई सधैं साथ सहयोग गर्नुहुने र चेम्बरको सल्लाह सुझावलाई गम्भीरतापूर्वक मनन गर्नु हुने सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू लगायत वर्तमान सरकार र यसअघिका सबै सरकारका प्रधानमन्त्री तथा मन्त्रीज्यूहरूप्रति हार्दिक आभार प्रकट गर्दछु।

म चेम्बरको प्रत्यक्ष नेतृत्वमा नरहे पनि चेम्बरभित्रै छु। मेरो जीवनका उर्वर समय चेम्बर अफ कमर्समै बितेको छ र आज मेरो जुन पहिचान बनेको छ, त्यसमा चेम्बर पनि जोडिएको छ। त्यसैले यसबाट म कहिल्यै टाढा हुन सक्दिनँ। अब आउने नयाँ नेतृत्वलाई पनि म शुभकामना दिन चाहन्छु र मलाई झैँ नयाँ नेतृत्वलाई पनि पूर्ण सहयोग रहने अपेक्षा गरेको छु। चेम्बरको यो गरिमा जोगाउँदै आउँदा दिनमा यसलाई नयाँ उचाइमा पुर्‍याउन निरन्तर प्रयत्न गर्नु आवश्यक छ। हामीलाई अग्रजले नासोका रुपमा छाडेर गएको यो गौरवमय संस्थाको लाभ भोलिका पुस्ताले पनि पाउनु पर्छ। (चेम्बर अध्यक्ष श्रेष्ठले ७०औं वार्षिक साधारणसभामा दिएको मन्तव्यको सारसंक्षेप।)