BIZMANDU
www.bizmandu.com

प्रणाली तयार नभइ मेलम्चीको पानी बाँड्दा चुहावटले सडकको बेहाल, ५० ठाउँमा मर्मत स्वीकृति माग्दै

२०७७ चैत्र २६

प्रणाली तयार नभइ मेलम्चीको पानी बाँड्दा चुहावटले सडकको बेहाल, ५० ठाउँमा मर्मत स्वीकृति माग्दै
प्रणाली तयार नभइ मेलम्चीको पानी बाँड्दा चुहावटले सडकको बेहाल, ५० ठाउँमा मर्मत स्वीकृति माग्दै


Tata
GBIME
Nepal Life

काठमाडौं। मेलम्चीको पानी वितरणका लागि अपरिहार्य स्काडा प्रणाली (सुपरभाइजरी कन्ट्रोल एण्ड डाटा एक्विजिसन) जडानको अत्तोपत्तो नभइकनै सतही लोकप्रियताका लागि सरकारले पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गर्न थालेपछि यसको असर उपत्यकाका सडकहरुमा देखिन थालेको छ।

स्काडा प्रणालीमार्फत उच्च गतिमा प्रवाह गरेर उपभोक्तासम्म पुर्‍याउने गरि डिजाइन गरिएको मेलम्चीको पानी वितरण दशकौं पुरानो प्रणालीबाट जबरजस्ती पठाउँदा यसले थेग्न नसकेपछि उपत्यकाका विभिन्न स्थानका सडकमा सयौं ठाउँमा पाइप फुटेर पानी बाहिर छताछुल्ल हुन थालेको हो।

पानी वितरणका लागि नयाँ पाइपलाइन जडान गरिएको भएपनि यसका लागि प्रणाली जडान भएको छैन । त्यसैले पाइपलाइन समेत परीक्षण नभएका कारण पुरानो प्रणालीबाटै बाँड्नेगरि मेलम्चीको पानी हालिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले दिन बिराएर मेलम्चीको पानी वितरण गर्दै आएको छ। वितरण गरिएको एरियामा थुप्रै ठाउँमा त्यहाँका सडकहरुमा पानी लिकेज भइरहेको छ। सडक डिभिजन कार्यालय काठमाडौंले उपलब्ध गराएको विवरणअनुसार महाराजगञ्ज एरियामा मात्रै १० भन्दा बढी ठाउँहरुमा चुहावट भएको छ।

बालाजु, लैनचौर, नागपोखरी, वीर अस्पताल, अनामनगर लगायतका विभिन्न स्थानमा पानी लिकेज भएर सडक जलाम्य हुन थालेको छ। सयौं त्यस्ता स्थानमा पानी सडकमा चुहिएको छ। केही ठाउँमा यसरी लगातार पानी चुहिरहेपछि सडक नै खाल्डा पर्न लागेको सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियरहरुले बताए। मेलम्चीको पानी हाल्नुअघि पनि केयुकेएलको पुरानो वितरण प्रणालीबाट ३० प्रतिशत पानी चुहावट भइरहेको थियो । यसैले मेलम्चीको उच्च चापको पानी पुरानो वितरण प्रणालीका लागि थप चुनौतीपूर्ण हुने देखिएको छ।

डिभिजन कार्यालयका एक इन्जिनियरका अनुसार अहिले यसरी पानी चुहिएका ५० भन्दा बढी स्थानहरुमा मर्मतका लागि सडक खन्न डिभिजनसँग केयुकेएलले स्वीकृति मागेको छ, जसमा सडक खन्न मात्रै स्वीकृति मागिएको छ।

तर यसरी भत्काउनका लागि स्वीकृति मागिएको भए पनि त्यसलाई मर्मत गरेर पहिलेको जस्तै बनाउने योजना भने केयुकेएलसँग नभएको सडक डिभिजन काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए। 'भत्काएर मात्रै हुँदैन। सडक ध्वस्त हुन्छ। मर्मत गरिदिने ग्यारेन्टी नभएसम्म भत्काउन दिँदैनौं,' उनले भने ।

सडक केयुकेएले बनाउन नसके त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिए डिभिजन आफैंले नै बनाइदिने बताएको छ। नेपाली भन्छन्, 'सडक बनाउने जिम्मा हाम्रो हो। बाटो बिग्रँदा सर्वसाधरणले दुःख पाउँछन्। बजेटको व्यवस्था गरिदिए हामी बनाउन तयार छौं,' उनले भने।

मेलम्चीको आधा पानी हाल्दा नै वितरण प्रणालीको बेहाल

केयुकेएलका अनुसार अहिले साढे ८ करोड लिटर मेलम्चीको पानी पुरानो वितरण प्रणालीमा हालिएको छ। पहिलो चरणमा मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने योजना भए पनि अहिले त्यसको आधा मात्रै पानी प्रणालीमा हाल्दा समेत समस्या देखिन थालेको छ। यसैले पूरा पानी हाल्दा त्यसको प्रेसरले सिस्टममा थप क्षति पुर्याउने अनुमान गरिएको छ।

आयोजनाका अनुसार मेलम्चीको पानी १५ मिटर उचाइसम्म सिधै उक्लने गतिमा आउँछ, जसको प्रेसर थेग्न सक्ने क्षमता दशकौं पुरानो वितरण प्रणालीको छैन । अझ पुरानो पाइपलाइन वर्षौं प्रयोग भइसक्दा यसै पनि खिइएको छ भने ठाउँ ठाउँमा मक्किएको, खिया लागेको, प्वाल परेको जस्ता समस्या छ। सोही कारण पुरानो पाइपलाइनलाई मेलम्चीको पानीको चाप थेग्न मुस्किल पर्दा धेरै ठाउँमा लिकेज हुन थालेको केयुकेएलका केही इन्जिनियरहरुको भनाइ छ।

केयुकेएलका प्रवक्ता प्रकाश राई भने लामो समयसम्म पानी नहुँदा बन्द रहेका पाइपलाइनमा पानी हालिएका कारण धेरै ठाउँमा चुहिएको जिकिर गर्छन्। केही ठाउँमा भने पाइपहरु काटिएका कारण पनि चुहावट भएको उनी बताउँछन्। तर चुहावट भएका स्थानहरुमा मर्मतको काम समेत चलिरहेको उनको भनाइ छ। उनका अनुसार आवागमनमा बाधा नपुग्नेगरी रातीको समय पारेर मर्मतका लागि निर्माण व्यवसायी र र्‍यापिड रेस्पोन्स टिम तयार अवस्थामा छ। चुहिएको जानकारी पाएको २४ घण्टाभित्र मर्मत गर्दै आएको उनले बताए।

राई भन्छन्, 'कतिपय स्थानमा सडकको अनुमति लिनका लागि समय लागेको छ। पाइपलाइन हामीले मर्मत गर्ने हो। सडकको हामी दस्तुर तिर्छौं। सोही आधारमा सडकले मर्मत गर्ने हो।' 

सडक विभागका इन्जिनियरहरु भने यसरी पानी सडकमा लिक भइराखे काठमाडौंका सडक दुरुस्त राख्नै मुस्किल हुने बताउँछन्। किनकि कालोपत्रे सडकमा पानी जम्नेबित्तिकै खाल्डो पर्न सुरु भइहाल्ने उनीहरु बताउँछन् ।

केयुकेएलले विस्तारै नयाँ प्रणाली परीक्षण गर्दै जाने र नयाँ सिस्टममा पानी हाल्दै जाने योजनामा रहेको बताएको छ। यद्यपि, पहिलो चरणमा बिछ्याइएको करिब एक हजार किलोमिटर वितरण प्रणाली परीक्षण गरेर वितरण थाल्नै करिब एक वर्ष लाग्ने अनुमान छ। यसैले नयाँ पाइपलाइन परीक्षण नहुन्जेल पुरानै प्रणालीबाट वितरण भइराख्नेछ।

नयाँ प्रणालीको परीक्षण गर्दा समेत धेरै स्थानमा चुहावट हुन सक्ने पनि अनुमान छ। यसैले परीक्षणका क्रममा समेत सडकहरु खन्नुपर्ने अवस्था आउन सक्नेछ। त्यस क्रममा समेत सडकमा थप क्षति पुग्ने सडक विभागका इन्जिनियरहरुको भनाइ छ।

नयाँ प्रणालीमा पानी वितरणका लागि अत्याधुनिक कम्प्युटराइज प्रणाली स्काडा प्रयोग गर्न लागिएको छ। जुन स्वचालित प्रणाली हो। यस प्रणालीमा एउटा रुममा बसेर कम्प्युटरमार्फत वितरणको सम्पूर्ण अवस्था हेर्न सकिन्छ। वितरण प्रणाली, पानीको अवस्था हेर्न तथा नियन्त्रण गर्न सकिन्छ। सेन्सर जडान गरिएको हुने हुँदा कम्प्युटरबाटै पूरै वितरण प्रणाली कन्ट्रोल गर्न सकिन्छ।

तर यो सिस्टम नभइ पानी वितरण गर्दा एकातिर समान वितरण हुँदैन भने अर्कातिर कहीँ समस्या आए साइटमै गए वा कसैले भने मात्रै जानकारी हुन्छ। स्काडाका लागि भर्खरै ठेक्का लगाएर काम सुरु गरिएको छ। यसको निर्माण सक्नै तीन वर्ष लाग्ने बताइएको छ। यसकारण तीन वर्षसम्म मेलम्चीको पानी वितरण समान र सहज बनाउन चुनौती छ। सिस्टम बनेपछि स्चालित रूपमा पानी वितरण हुनेछ।