BIZMANDU
www.bizmandu.com

विश्वमा २७५५ जना पुगे डलर अर्बपति, कुल १३० खर्ब डलरको सम्पत्ति, विनोद चौधरी झरे ४९२ स्थान तल

२०७७ चैत्र २५

विश्वमा २७५५ जना पुगे डलर अर्बपति, कुल १३० खर्ब डलरको सम्पत्ति, विनोद चौधरी झरे ४९२ स्थान तल
विश्वमा २७५५ जना पुगे डलर अर्बपति, कुल १३० खर्ब डलरको सम्पत्ति, विनोद चौधरी झरे ४९२ स्थान तल


Tata
GBIME
Nepal Life

विश्व अर्थतन्त्रमा ठूलो धक्का लागेको भनिएको वर्षसमेत संसारभर अर्बपतिहरुको संख्या र उनीहरुको सम्पत्तिमा भने आश्चर्यजनकरुपमा बढोत्तरी भएको छ। कोभिड-१९ महाव्याधिका बाबजुद विश्वका धनाढ्यहरुको धन एकै वर्षमा रेकर्ड वृद्धि भएको छ।

फोर्ब्सका अनुसार पछिल्लो एक वर्षमा ५० खर्ब डलरले अर्बपतिहरुको सम्पत्ति थपिएको छ। यसका साथै अभूतपूर्व रुपमा नयाँ अर्बपतिहरु सूचीमा थपिएको पनि फोर्ब्सले जनाएको छ।

कोभिडले यो एक वर्ष विश्व अर्थतन्त्रका लागि जतिसुकै प्रतिकूल जस्तो देखिएको भए पनि यसबीच संसारका प्रमुख अर्थव्यवस्थाहरुमा विभिन्न कम्पनीहरुको सेयरको प्राथमिक निष्कासन अत्यन्त तीव्र रह्यो, अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) हरुको विस्तार व्यापक देखियो, धितोपत्रहरुको मूल्य आश्चर्यजनक ढंगले आकाशियो। यसले गर्दा प्रतिकूल अवस्थाका बीच पनि अर्बपतिहरुको संख्या र सम्पत्तिमा पनि ठूलो छलाङ देखिएको छ।

पछिल्लो एक वर्षमा ६६० जनाले बढ्दै संसारभरका अर्बपति (अमेरिकी डलरमा) को संख्या २७५५ जना पुगेको फोर्ब्सले आफ्नो ३५औं वार्षिक सूची २०२१ सार्वजनिक गर्दै उल्लेख गरेको छ । यी अर्बपतिहरुसँग कुल १३० खर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको जनाइएको छ । फोर्ब्सका अनुसार यो रकम सन् २०२० को भन्दा ८० खर्ब डलरले बढेको हो।

यस वर्ष अर्बपतिहरुको सूचीमा उक्लिएका (पुराना अर्बपतिहरुसमेत गरेर) ६६० मध्ये ४९३ जना नयाँ अर्बपति रहेको बताइएको छ । अर्थात् पछिल्लो एक वर्षमा हरेक १७ घन्टामा एउटा नयाँ डलर अर्बपति थपिए। यसअनुसार हरेक दुई दिनमा लगभग तीनजना अर्बपति थपिएका हुन्। 

यसरी थपिएका नयाँ अर्बपतिहरुमध्ये सबैभन्दा धेरै चीनको मुख्य भूमिका साथै यसैको स्वशासित देश हङकङबाट रहेका छन्। चीन र हङकङमा गरि पछिल्लो एक वर्षमा थप २१० जना अर्बपति बनेका हुन्। अमेरिकामा पनि यो एक वर्षमा ९८ जना नयाँ अर्बपति थपिएका छन्।

संसारकै धनाढ्य २७५५ जनाको सूचीमा परेका मध्ये ८६ प्रतिशत अर्बपतिहरु पोहोरको भन्दा झन् धनी भएको फोर्ब्सले जनाएको छ।

थपिएका नयाँ अर्बपतिहरुमध्ये सबैभन्दा धनी अमेरिकाको नेभाडाकी मिरियम एडल्सन रहेकी छन्। उनीसँग ३८.२ अर्ब डलरको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ। गत जनवरीमा पति शेल्डन एडल्सनको मृत्युपछि उनको क्यासिनो साम्राज्यको स्वामित्व मिरियमको नाममा आएको थियो। त्यसले नै यिनलाई नयाँ थपिएका अर्बपतिमा सर्वाधिक धनी बनाएको हो। संसारका धनाढ्यको सूचीमा पनि यिनी ३६औं नम्बरमा दरिएकी छन्। लस भेगास, सिंगापुर र मकाओको कुल ४८ अर्ब डलरको क्यासिनो व्यवसायको आधा एडल्सनकै साम्राज्य छ।

पछिल्लो एक वर्षमा थपिएका नयाँ अर्बपतिहरुमध्ये सिनेमा तथा टेलिभिजन कार्यक्रम निर्माता टेलर पेर्री, बम्बल डेटिङ एपका सहसंस्थापक ह्विट्नी उल्फ हर्ड र पेमेन्ट फर्म चेकआउट डटकमका संस्थापक गुलम पोसाज् पनि उल्लेखयोग्य नाम भएको जनाइएको छ। 

९ अर्ब डलर बराबरको नेट वर्थ रहेका गुलम पोसाजको चेकआउट डटकमले सन् २०२१ मा कम्पनीको मूल्यांकन १५ अर्ब डलर गरेर प्राइभेट इन्भेष्टरहरुबाट ४५ करोड डलर उठाउन सफल भएको थियो। अन्य दुई नव अर्बपति पेर्री र उल्फ हर्ड सूचीको पुछारतिर भएपनि यिनीहरुलाई फोर्ब्सले हाइलाइट गरेको छ।

जेफ बेजोस लगातार चौथो वर्ष अर्बपतिको शीर्षस्थानमा  
इ-कमर्स तथा क्लाउड कम्प्युटिङ कम्पनी अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस लगातार चौथो वर्ष पनि विश्वका सर्वाधिक धनी रहन सफल भएका छन्। पछिल्लो एक वर्षमै उनको सम्पत्ति ६४ अर्ब डलरले बढ्दै हाल कुल १७७ अर्ब डलर पुगेको छ। अमेजनको सेयर मूल्य आकाशिँदा बेजोसको सम्पत्ति यसरी बढेको फोर्ब्सले जनाएको छ।

साढे तीन दशकअघि (सन् १९८७-१९९० ताका) विश्वका सबैभन्दा धनी व्यक्ति योसिआकी सुसुमी (८६) को सम्पत्ति जम्मा २० अर्ब डलर थियो। त्यतिबेला विश्वभर जम्मा १४० अर्बपति मात्र थिए, जससँग कुल २९५ अर्ब डलरबराबरको सम्पत्ति थियो। यद्यपि, जापानी रियल इस्टेट व्यवसायी सुसुमीको सम्पत्ति त्यसयता भने अझ घट्दै जाँदा अहिले १.२ अर्ब डलर हाराहारी मात्र रहेको देखिन्छ।

एक वर्षमै अविश्वसनीय रूपमा १२६.४ अर्ब डलरले सम्पत्तिमा वृद्धि भएका एलन मस्कले यो एक वर्षमा धनाढ्यको सूचीमा दोस्रो नम्बरमा छलाङ लगाएका छन्, जबकि अघिल्लो वर्ष २४.६ अर्ब डलर बराबरको सम्पत्ति रहेका उनी अर्बपतिहरुको सूचीको ३१औ स्थानमा थिए। अहिले उनीसँग कुल १५१ अर्ब डलर बराबरको सम्पत्ति छ। यसरी अप्रत्यासित रूपमा विश्वकै दोस्रो धनी व्यक्ति बन्नमा मस्कलाई टेस्लाको सेयर मूल्यमा एक वर्षमै ७०५% को वृद्धिले सघाएको हो।

फ्रेन्च विलासी वस्तुका टाइकुन बर्नार्ड आर्नल्टको सम्पत्ति पनि पछिल्लो एक वर्षमा करिब दोब्बर भएको छ। यससँगै उनले धनाढ्यको सूचीमा तेस्रो स्थानमा छलाङ लगाएका छन्। पोहोर ७६ अर्ब डलर बराबर रहेको उनको कुल सम्पत्तिको मूल्य अहिले १५० अर्ब डलर पुगेको फोर्ब्सले उल्लेख गरेको छ। खासगरी विलासी फेसन ब्रान्ड लुइ भ्युटोन र क्रिस्टियन डायोर तथा कस्मेटिक रिटेलर सेफोराको स्वामित्व रहेको आर्नल्टको कम्पनी एलभीएमएचको सेयरको मूल्य ८६% ले महँगिएकाले नै उनको सम्पत्ति यस्तरी वृद्धि भएको हो।

१० शीर्ष धनाढ्यसँग साढे ११ खर्ब डलरको सम्पत्ति
यस वर्षका विश्वका १० सर्वाधिक धनीहरुसँग कुल ११.५ खर्ब डलर बराबरको सम्पत्ति रहेको जनाइएको छ। यो पोहोरको भन्दा ६.८६ खर्ब डलरले बढेको हो। समग्र युरोपभरका अर्बपतिहरुको सम्पत्तिमा गत वर्षको भन्दा थप १० खर्ब डलरको बढोत्तरी भएको छ।

पोहोर एकजना (बेजोस) सँग मात्र एक सय अर्ब डलर भन्दा बढीको सम्पत्ति थियो भने यो वर्ष सय अर्ब वा सोभन्दा बढीको सम्पत्ति हुने अर्बपति चार जना पुगेका छन्। सर्वाधिक धनाढ्यको सूचीको चौथो स्थानमा रहेका बिल गेट्सको सम्पत्ति पनि १२४ अर्ब डलर पुगेको छ। उनको स्वामित्वमा रहेको माइक्रोसफ्ट, क्यानेडियन नेशनल रेलवे र ट्रयाक्टर निर्माता कम्पनी डिर एन्ड कम्पनीको सेयर मूल्य बलियो बन्दा गेट्स पनि सय अर्ब डलर क्लबमा उक्लिएका हुन्।  

सूचीको पाँचौ नम्बरमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग (९७ अर्ब डलर) छन्। फेसबुकको सेयर मूल्य ८०% ले बढ्दा जुकरबर्गको सम्पत्ति पछिल्‍लो एक वर्षमा ४२.३ अर्ब डलरले बढेको छ।

विश्वप्रसिद्ध कस्मेटिक ब्रान्ड लो'रियलकी प्रमुख सेयरधनीमध्येकी फ्रयाङ्कोइस बेट्टेनकोर्ट मेयर्स यसवर्षकी सर्वाधिक धनी महिलामा दरिएकी छन्। विश्वका समग्र धनाढ्यहरुमध्ये भने १२औं नम्बरमा रहेकी उनीसँग ७८ अर्ब डलरबराबरको सम्पत्ति छ। मेयर्स र उनको परिवारको नाममा लो'रियलको ३३% स्वामित्व छ।

भारतीय अर्बपति मुकेश अम्बानी एशियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। सूचीको १०औं स्थानमा पर्न सफल अम्बानीको सम्पत्ति ८४.५ अर्ब डलर पुगेको छ। 

विश्वका धनीको सूचीमा विनोद चौधरी ४९२ स्थान तल झरे
नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी सूचीको २१४१औं स्थानमा परेका छन्। विश्वका धनाढ्यहरुबीच पोहोरभन्दा उनी ४९२ स्थान तल झरेका हुन्। गत वर्ष सूचीको १६४९औं स्थानमा रहेका चौधरी गत पुसमा १५३१औं स्थानसम्म उक्लिएका थिए। 
यसबीच उनको सम्पत्तिमा भने समग्रमा थपघट देखिएको छैन। फोर्ब्सका अनुसार पोहोर १.४ अर्ब डलर बराबरको सम्पत्ति रहेका चौधरीसँग अहिले पनि सोही बराबरको नेटवर्थ छ। यद्यपि गत पुसमा यो १.५ अर्ब डलर पुगेको फोर्ब्सको रियल टाइम नेट वर्थले देखाएको थियो। 

यी हुन् सन् २०२१ मा विश्वका १० सर्वाधिक धनी व्यक्तिः 
१. जेफ बेजोस, अमेरिका (अमेजन) – १७७ अर्ब डलर
२. एलन मस्क, अमेरिका (टेस्ला, एपेसएक्स) – १५१ अर्ब डलर 
३. बर्नार्ड आर्नल्ट, फ्रान्स (एलभीएचएम, क्रिष्टियन डायोर, सेफोरा) – १५० अर्ब डलर
४. बिल गेट्स, अमेरिका (माइक्रोसफ्ट) – १२४ अर्ब डलर
५. मार्क जुकरबर्ग, अमेरिका (फेसबुक) – ९७ अर्ब डलर
६. वारेन बफेट, अमेरिका (बर्कशायर हाथवे) – ९६ अर्ब डलर
७. ल्यारी एलिसन, अमेरिका (सफ्टवेयर) – ९३ अर्ब डलर
८. ल्यारी पेज, अमेरिका (गुगल) – ९१.५ अर्ब डलर
९. सर्जी ब्रिन, अमेरिका (गुगल) – ८९ अर्ब डलर
१०. मुकेश अम्बानी, भारत (रिलाइन्स ग्रुप अफ इन्डष्ट्रिज) – ८४.५ अर्ब डलर