BIZMANDU
www.bizmandu.com

थप ६ जिल्लामा लागू भयो स्वास्थ्य बीमा योजना, बीमालाई बोझका रुपमा नलिन आग्रह

२०७७ चैत्र २५

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम संचालन गर्ने भएको छ। पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने घोषणा गरेको हो।

आजबाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा कार्यक्रम सुरु गरिएको हो। स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले संचालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिने भएको छ।

कार्यक्रम शुभारम्भ गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य बीमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताउँदै बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी लाग्नुपर्नेमा जोड दिए।

विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडी फर्कने विकल्प नरहेको बताए।

स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराउँदै उनले विमितहरुलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न आग्रह गरे।

'अस्पतालले विमितलाई दिने सुविधालाई थप बोझको रुपमा बनाउने प्रयत्न सेवाग्राही संस्थालाई अस्पतालहरुले नगर्नुहोस्। आफ्नो संस्था आफैले सुदृढ गर्ने काममा लाग्नुहोस्। विमितहरु आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन' उनले भने।

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो। पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो। थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्यबीमा कार्यक्रम आज बाट ७५ वटा जिल्लामा लागू भएको छ। यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाउनेछन्।

५ जना सम्मको परिवार भएको विमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेमा स्वास्थ्यबीमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउँछन्। आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भईसकेका छन्।