BIZMANDU
www.bizmandu.com

मेलम्ची आएपछि ट्यांकर व्यवसायीको व्यापार सुक्यो, ७० प्रतिशत कारोबार घट्यो

२०७७ चैत्र २५

Tata
GBIME
Nepal Life

काठमाडौं। मेलम्चीको पानी वितरण सुरु भएसंगै ट्यांकरमार्फत बिक्री हुने खानेपानी करिब ७० प्रतिशत घटेको पाइएको छ।

चैत १५ गतेदेखि मेलम्चीको पानी राजधानीवासीको धारा छाडिएसँगै ट्यांकर व्यवसायीको व्यापार सुकेको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चक्रपथभित्र दिन विराएर प्रत्येक धारामा कम्तीमा हजार लिटर पानी दिन थालेको छ। उपत्यकामा सबैभन्दा बढी ट्यांकरको पानीको माग चक्रपथ भित्र थियो।

व्यवसायीहरुका अनुसार चक्रपथभित्र ८० प्रतिशतभन्दा बढी ट्यांकरको पानी खपत हुने गरेको थियो। मेलम्चीको पानी पहिलो चरणमा चक्रपथ भित्र नै वितरण गरिएका कारण माग व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका हुन्। खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष सुमन पाठकका अनुसार उपत्यकामा अहिले ७० प्रतिशतभन्दा बढी व्यापार घटेको बताए।

उपत्यकामा करिव ९ सय खानेपानी बोक्ने ट्यांकर छन्। व्यवसाय फष्टाएसँगै ट्यांकर व्यवसायीका तीन वटा संघ खुलेका थिए। ९ सय वटा ट्यांकरमा चालक/सहचालक १८ सय जना, व्यवसायी,बोरिङमा काम गर्ने, संघको कार्यालयका कर्मचारी, तिनका आश्रित परिवार गरि करिव ३६ हजार जना प्रत्यक्ष रुपमा विस्थापित हुने उनले बताए। गत वर्ष यहि समय ट्यांकर व्यवसायीहरुलाइ भ्याइ नभ्याइ हुन्थ्यो। सुक्खा समयमा पानीको माग धेरै हुन्छ। एउटै ट्याङकरले ५ देखि ७ टिपसम्म सहजै गर्थे। तारन्तर पानी नल्याएको भन्दै ग्राहकहले फोन गर्थे। कतिपय ठाउमा पानी मगाएको भोलिपल्ट मात्रै पुर्‍याउन भ्याउथे। तर अहिले पानी मगाउन कसैले फोन गर्न छाडेको व्यवसायीहरुको भनाइ छ।

अहिले काम नपाएर ट्यांकर थन्काएर राखिएको पाठकले बताए। 'बल्ल तल्ल कुनै कुनै ट्याङकरले दिनमा एक ट्रिप पाउने गरेका छन्।  दिनभरि खाली नै बस्नुपर्ने अवस्था छ', पाठकले भने,' गाडी मर्मत, तेल खर्च, चालक सहचालकलाई तलव खुवाउनै नसकिने अवस्था छ।' उनका अनुसार मेलम्ची आएसँगै व्यवसाय पूर्ण रुपमा विस्थापित हुने चरणमा पुगेको छ। 'पानीको माग छैन। मेलम्ची नगएको समस्या भएको ठाउँमा अलिअलि माग छ। त्यहाँ पनि मेलम्ची पुगे केही समयमा पानीको माग बन्द हुनेवाला छ' पाठकले भने। ट्याङकर,बोरिङ राख्ने, अरु संरचना लगायत गरि करिव २० अर्व रुपैयाँको बराबरको लगानी जोखिममा परेको उनले बताए।

उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ। जसमा केयुकेएलले बर्खामा १८ करोड लिटरसम्म र हिउँदमा करिव १० हजार करोड लिटर वितरण गर्दै आएको छ। थोरै परिणाममा मात्र ढुङगेधारा अरु स्रोतका पानी प्रयोग हुन्छ। मेलम्ची आउनु अघि पानीको हाहाकार जस्तै थियो। जसका कारण ट्यांकर व्यवसायी,जार बोतल लगायतको हाली मुहाली थियो। ट्यांकरले मात्रै दैनिक पाँच करोड लिटर पानी बेच्दै आएका थिए। 

ट्यांकर बिक्रीमा

व्यवसाय नै धरासायी भएपछि कतिपयले ट्यांकर नै विक्रीमा राख्न थालिएको छ। अहिले मेलम्चीको साढे ८ करोड लिटर पानी वितरण भैरहेको छ। पहिलो चरणमा १७ करोड लिटर पानी वितरण हुनेछ।

केहि दिनमै पहिलो चरणको सबै पानी वितरण गर्ने योजनामा केयुकेएल छ। दोस्रो चरणमा याङग्री १७ र लार्के १७ गरि ४३ करोड लिटर थप भएर ५१ करोड लिटर पानी मेलम्चीबाट राजधानी आउनेछ। केयुकेएलसँग भएको पानी र मेलम्चीबाट आउने पानीले ६० करोड लिटरभन्दा बढी हुन्छ। जसका कारण ट्यांकर व्यवसायी विस्थापितनै हुनेछन्।

व्यवसायीहरुले भने सरकारले कुनै विकल्प नदिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्। राज्यलाइ कर,रुट परमिट,नवीकरण लगायत गरि एउटा ट्यांकरले ७० हजार बढी तिर्दै आएको तर विस्थापित हुने वेला विकल्प नदिएको भन्दै सडक संघर्ष गर्ने बताएका छन्। उनीहरु खानेपानी व्यवस्थापन बोर्डमा लगेर सबै ट्यांकर छाड्ने चेतावनी दिए।