काठमाडौं। रु रु जलविद्युत परियोजनाले निष्कासन गरेको सेयरमा दुई करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन परेको छ।
संस्थाले कुल चार लाख सात हजार ७०६ कित्ता सेयर निष्कासन गरेको थियो। न्युनतम १० कित्तादेखि अधिकतम तीन लाख ७९ हजार १६० कित्ता सेयरको लागि आवेदन मागेकोमा कम्पनीको सेयरमा १६ लाख ६९ हजार ५६६ जनाले आवेदन दिएका छन्।
मंगलबार साँझ सवा पाँच बजेसम्ममा लगानीकर्ताहरुले उक्त संख्यामा आवेदन दिएको बिक्री प्रबन्द्धक एनएमएबि क्यापिटलले जनाएको छ। आज साँझ पाँच बजेसम्म आइपीओमा आवेदन दिने समयसीमा थियो।
सबै आवेदनहरु रुजु गर्ने काम भइरहेकाले अन्तिम तथ्यांक आउन अझै केही समय लाग्ने एनएमबि क्यापिटलले जनाएको छ।
संस्थाले प्रति सेयर अंकित मूल्य रु १०० दरमा प्रिमियमबापत २० थप गरि १२० रुपैयाँ दरमा सेयर निष्कासन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात आठ हजार १५४ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २० हजार ३८५ सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
बाँकी तीन लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको संस्थाले जनाएको छ।
स्थानीयलाई आइपीओ बिक्री गरिसकेको रु रु जलविद्युतले गुल्मीको माथिल्लो हुग्दी खोलामा ५ मेगावाट उत्पादन गर्दै आएको छ। कम्पनीलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित जनाउने ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रीपल बी’ प्रदान गरेको छ।