BIZMANDU
www.bizmandu.com

सीई र एचजी भेन्चर्सको लगानीमा एउटै संरचना भित्र पसल कबल, अफिस स्पेस र अपार्टमेन्ट बन्दै

२०७७ चैत्र २५

सीई र एचजी भेन्चर्सको लगानीमा एउटै संरचना भित्र पसल कबल, अफिस स्पेस र अपार्टमेन्ट बन्दै
सीई र एचजी भेन्चर्सको लगानीमा एउटै संरचना भित्र पसल कबल, अफिस स्पेस र अपार्टमेन्ट बन्दै

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौंको कोर क्षेत्र मानिने भोटेबाहालमा सीई कन्स्ट्रक्सन र एचजी भेन्चर्सको संयुक्त लगानीमा अर्बन रियल इस्टेट परियोजना 'भोटेबाहाल प्लाजा' निर्माण थाल्ने भएको छ।

एउटै संरचनामा आवासीय अपार्टमेन्टसँगै होटल सञ्चालन र निर्माण भएतापनि पसल कबल, कार्यालय स्पेस र आवासीय अपार्टमेन्टसहितको भोटेबाहाल प्लाजाले काठमाडौंमा नयाँ ट्रेन्ड सुरु हुन लागेको हो। 

सीई कन्ट्रक्सनको ६०% र एचजी भेन्चर्सको ४०% प्रतिशत लगानीमा भोटेबाहाल प्लाजा निर्माण हुन लागेको हो। व्यापारिक क्रियाकलापसँगै आवासीय प्रयोजन पनि एकै संरचनामा रहने यो प्रोपर्टी कुल ३५ आना जग्गामा फैलिने छ। करिब ७० करोड रुपैयाँ लगानीमा भोटेबाहालमा उक्त संरचना निर्माण हुने एचजी भेन्चर्सका निर्देशक हिम श्रेष्ठले जानकारी दिए। 

संरचनाको नक्सालगायतका प्राविधिक पक्षको स्वीकृति प्रकियामै रहेकाले एक महिना भित्रै भवनको निर्माण सुरु गर्ने तयारी भइरहेको श्रेष्ठले बताए। एकै छानामुनि व्यापारिकसँगै आवासीय युनिट पनि निर्माण हुने भएकाले व्यापार व्यवसायसँगै बास व्यवस्थापनमा सहजता थपिने विश्वास दुवै कम्पनीको छ।  

'एउटै प्रोपर्टीमा आवासीयसँगै व्यापारिक क्रियाकलाप सञ्चालन गर्न मिल्ने फिचरसहितको प्रोजेक्ट ल्याउन खोजेका हौं। एउटै संरचना भित्र बसेर आफ्नो दैनिक काम गर्नेदेखि आवासको सुविधा हुने भएकाले धेरै सहज हुन्छ,' सीईका कर्पोरेट बिजनेस प्रमुख सुजन घिमिरेले जानकारी दिए।

भोटेबाहाल प्लाजाको भुँइ तला, पहिलो र दोस्रो तलामा पसल कबल सञ्चालन हुने सीई कन्स्ट्रक्सनले जनाएको छ। तेस्रो तलामा विभिन्न संस्थाहरुको कार्यालय सञ्चालन गर्न स्पेस रहनेछ। यस्तै, चोथो र पाँचौ तलामा भने आवासीय प्रयोजनको अपार्टमेन्ट निर्माण हुने सीई कन्स्ट्रक्सनले जनाएको छ। 

एक तलामा २२ वटा पसल कबल रहने गरी तीन वटा तलामा कुल ६६ वटा पसल कबल रहने छन्। तेस्रो तलामा भने १० वटा कार्यालय सञ्चालन गर्न मिल्ने स्पेस निकालिने बताइएको छ।

यस्तै, परियोजनामा कुल ६ वटा अपार्टमेन्ट युनिट निर्माण हुने सीई कन्स्ट्रसनकी मार्केटिङ म्यानेजर सन्जिता डंगोलले जानकारी दिइन्। यसमा एउटा स्टुडियो र बाँकी दुई बेडरुम  अपार्टमेन्ट निर्माण हुनेछ।

अपार्टमेन्टहरु तीन सय ९७ वर्गफीटदेखि १४ सय २२ वर्गफीटसम्म रहेको कम्पनीले जनाएको छ। अपार्टमेन्टको मूल्य प्रति वर्गफीट २० हजार रुपैयाँ हाराहारी हुने डंगोलले बताइन्। जसअनुसार स्टूडियो अपार्टमेन्टको करिब ८० लाख रुपैयाँ र दुई बेडरुमको दुई करोड ८५ लाख हाराहारी पर्ने देखिन्छ।   

'एचजी भेन्चर्सले काठमाडौं उपत्यकामा जग्गा खरिदबिक्रीको काम गर्दै आएको हो। सीई कन्स्ट्रक्सनसँग मिलेर रियल इस्टेट कम्पनीको रुपमा आफुहरुलाई अझै परिस्कृत हुन खोजेका हौं,' श्रेष्ठले भने। 

कम्पनीहरुले आधिकारिक रुपमा पसल कबल र कार्यालय स्पेसको मूल्य कति पर्छ भनेर सार्वजनिक भने गरेका छैनन्।