BIZMANDU
www.bizmandu.com

जलविद्युत समूहले उचालेपछि सेयर बजारमा २६७४ बिन्दुको नयाँ रेकर्ड, साढे सात अर्बको किनबेच

२०७७ चैत्र २४

Tata
GBIME
Nepal Life

काठमाडौं। आइतबारदेखिनै नयाँ रेकर्ड बनाएर अघि बढेको सेयर बजारले मंगलबार सम्मै निरन्तरता पाएको छ।

मंगलबार नेप्से १५ अंकले बढेर २६७४ बिन्दुको नयाँ रेकर्डमा पुगेको छ। कारोबार रकम पनि सोमबारको तुलनामा बढेर साढे सात अर्ब रुपैयाँ पुगेको छ। जलविद्युत, उत्पादन र होटल तथा पर्यटन समूहले बजार उचाल्दा लघुवित्त र विकास बैंक समूहले पनि बलियो साथ दिएका छन्।

होटल तथा पर्यटन समूह २०५ अंक, उत्पादन समूह १८३ अंक र जलविद्युत समूह ११४ अंकले बढ्दा लघुवित्त समूह ६४ अंक र विकास बैंक समूह ३० अंकले बढेका छन्। व्यापार समूह सर्वाधिक ४३२ अंकले घट्दा निर्जीवन बीमा समूहको सूचक २८७ अंक र जीवन बीमा समूहको सूचक १९१ अंकले घटेका छन्।

युनिभर्सल पावर, चन्द्रागिरी हिल्स, वोमी लघुवित्त, महिला लघुवित्त, एनआइसी एसिया लघुवित्त, साञ्जेन जलविद्युत, चिलिमे हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, शिवश्री हाइड्रोपवार, बुटवल पावर कम्पनी, रसुवागढी हाइड्रोपवार, युनाइटेड इदिमर्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपवार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्दा अजोड इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ८/८ प्रतिशतले घटेको छ। युनाइटेड फाइनान्स र जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ५/५ प्रतिशतले घटेको छ।

निफ्राको सर्वाधिक करिब ४० करोड रुपैयाँको सेयर किनबेच हुँदा चिलिमे हाइड्रोपावरको ३१ करोड, माथिल्लो तामाकोशीको २९ करोड, हिमालयन डिष्टिलरीको २२ करोड र हिमालयन जनरल इन्स्योरेन्सको २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

२१३ कम्पनीको एक करोड ६१ लाख कित्ता सेयर सात अर्ब ४७ करोड रुपैयाँमा किनबेच भएका छन्। उक्त सेयर ८१ हजार भन्दा धेरै पटकको कारोबारबाट किनबेच भएको हो। कारोबारमा आएका २१३ कम्पनी मध्ये १७ कम्पनीको मूल्य स्थिर रहँदा ५७ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।