BIZMANDU
www.bizmandu.com

सेयर बजारमा रमाउँदै गृहिणी, ‘जिम्मेवार बनाए पो रिस्क लिने बानी हुन्छ’

२०७७ चैत्र २४

सेयर बजारमा रमाउँदै गृहिणी, ‘जिम्मेवार बनाए पो रिस्क लिने बानी हुन्छ’
सेयर बजारमा रमाउँदै गृहिणी, ‘जिम्मेवार बनाए पो रिस्क लिने बानी हुन्छ’

Tata
GBIME
Nepal Life

काठमाडौं। साधारण सेयर बजारमा लगानी गर्न हौसिएका गृहिणीहरुलाई दुर्गा पोखरेलको सल्लाह कामलाग्दो हुन्छ। 

महिला लगानीकर्ताको सहभागिता १४ लाख पुग्न लागेको सेयर बजारमा उनी सक्रिय धेरै कारोबारीमध्येकी एक हुन्। कपन बस्ने धनुषाकी पोखरेल पहिले ब्युटीपार्टर चलाउँथिन्। आफन्तको सल्लाहले उनले सुरुमा आइपीओ खरिद गरिन्। चाख बढ्यो, हौसिएर दोस्रो बजारमा हात हालिन। एक लाख रुपैयाँ फसाउँदा त्यहाँ सुरुवाती अनुभव राम्रो भएन। 

कमलादीमा कार्यालय रहेको प्रज्ञान प्रतिष्ठान (ब्रोकर नम्बर १०)मा भेटिएकी पोखरेल भन्छिन् 'सुरु सुरुमा त कारोबारको तरिका जानिएन, घाटा खाइयो। अब बल्ल आएर सेयर बजार के हो, कसरी कारोबार गर्ने भन्ने बुझ्दै जाँदा काम गर्नुपर्ने क्षेत्र यही ठीक भन्ने भएको छ।'

बुझेर लगानी गरे महिलाका लागि सेयर कारोबार सहज हुने उनको अनुभव छ। 'भारी बोक्नु पर्दैन, ढुंगा फोर्नु पर्दैन। न अफिस खोल्नुपर्छ,' उनले भनिन्, 'अलिकति पैसा, सेयर कारोबारबारे बुझ्ने धैर्य, सुझबुझ भए पुग्छ।' महिलाले कुनै पनि क्षेत्रमा अगाडि बढ्न सजिलो नभएजस्तै सेयर बजार पनि कारोबारका तरिका नबुझेसम्म जोखिम हुने उनी बताउँछिन्। 

'सेयर मार्केट झन सजिलो कहाँ हो र !,' उनले भनिन्, 'मैले १० वर्ष ब्युटीपार्टरको काम गरेकी हुँ, आइपीओ किन्दै सेयर कारोबारमा हात हालियो। एक लाखबाट लगानी थालेकी मैले एकैपटक फाइदा हात पारेको अनुभव गरेकी होइन, तरिका नजान्दा पैसा डुबेको पनि थियो।' बिस्तारै सेयर बजारप्रति रुचि बढ्दै जाँदा दोस्रो बजारमा हात हाल्दै कारोबार गर्दै हाल आएर परिवारले पूरै सघाउन थालेको उनले सुनाइन।

'विदेशबाट श्रीमानले दुःख गरी पठाएको पैसा नराम्रोसँग डुब्दा त एकपटक निकै निराश भइसकेकी थिएँ,' उनले भनिन्, 'फेरि आँट-हिम्मत गरेर गहना र जग्गा बेचेर पनि सेयरमा लगानी गरेँ। बिस्तारै राम्रै आम्दानी हुन थाल्यो।' अहिले परिवारै मिलेर कारोबारमा संलग्न हुँदा उनको काम सल्लाह दिने भएको छ। 

उनको लगानी हाल ७० लाख पुगेको छ। परिवारका अन्य सदस्य बाहेक आफूले मात्र मासिक न्यूनतम दुई लाख आम्दानी गर्ने गरेको बताउने पोखरेल सेयरमा समय दिने महिलाले बजारमा सुझबुझका साथ कारोबार गर्नुपर्ने सल्लाह दिन्छिन्। 'महिला कमजोर हुन्छन्, रिस्क लिन सक्दैनन् भनेर हामीले व्यवसायिक काम गर्न चाहँदा पनि छेकबार धेरै हुन्छन्,' उनले भनिन्, 'छोराछोरी, घरधन्दा भ्याएर महिलाले पुँजी बजारको उतारचढावमा पल पलको हिसाब राख्नु सजिलो काम पक्कै होइन। तर गर्दै जाँदा सकिन्छ भन्ने मरो अनुभव हो।'

अरु व्यापार व्यवसायमा गरे जस्तो सुरुमै लाखौं रुपैयाँ चाहिन्छ भन्ने पनि नभएकाले सानो पुँजीबाट सेयर बजारमा सुरुवात गर्न सकिने उनी बताउँछिन्। 'घर खर्चबाट जोगाएको थोरै पैसाबाट पनि सेयर बजारमा लगानी गर्न सकिन्छ,' उनले भनिन्, 'अरुको लहै लहैमा नलागेर आफूले बजार बुझेर निर्णय लिनुपर्छ। सेयरको मूल्य घटेको-बढेको, नियमित लाभांश दिने/नदिने र साधारणसभा गर्ने कस्ता कम्पनी उचित छन्, त्यो हेर्नै पर्छ।' 

सीडीएससी एन्ड क्लियरिङका अनुसार डिम्याट खाता खोल्नेको कुल संख्याका हिसाबले महिला झण्डै आधा पुग्न लागेको छ। कामकाजीसँगै गृहणीहरु सेयर कारोबारमा संलग्न रहेको पाइएको छ।

परिवारका सबै सदस्यका नाउँमा डिम्याट खाता खोल्ने र 'मेरो शेयर' को युजर लिएका धेरैजसो कारोबारी पुरुष देखिँदा महिला सहभागिता पनि बिस्तारै बढेको अनुभव पोखरेलको छ। 'जान्नेले अनलाइनबाट कारोबार गर्ने, नजान्नेले ब्रोकरमार्फत कारोबार गरे भइहाल्छ,' उनी भन्छिन्, 'महिलाले जान्दैनन् भनेर जिम्मेवारी नदिने होइन सबै घरमा महिलालाई हौसला दिन जरूरी छ।'

पुतलीसडकस्थित ब्रोकर नम्बर २५ (स्वेता सेक्युरिटिज) मा भेटिएकी सोफिया ढुंगेल पेसाले कस्मेटिक तालिमको प्रशिक्षक हुन्। सुरुमा कृषि विकास बैंक, ग्रीनलाइफ इन्स्योरेन्स,  चिलिमे हाइड्रोपावर र निफ्राको गरि चार कम्पनीको आइपीओमा १४ हजारबाट लगानी गर्दा करिब दुई वर्षपछि  दुई लाख पुग्दा आफै अचम्म परेको उनी बताउँछिन्। 

'सुरु सुरुमा त अरुले सेयरका कुरा गर्दा म पन्छिन्थे, नजानेको क्षेत्रका कसरी पैसा हाल्नु भन्ने लाग्थ्यो,' उनी भन्छिन्, 'अब चाहिँ रुचि बढेको छ। अब दोस्रो बजारमा कारोबारमा हात हाल्ने योजना बनाएकी छु।' सेयर बजारमा लगानी गर्दा आत्मबल बढेको अनुभव भइरहेको उनले बताइन। 'लगानी गर्ने सवालमा हामी जोखिम लिन डराउँछौं, परिवारमा पनि महिलालाई रिस्क लेउ, आँट गर भन्ने वातावरण बनेदेखि हामीले कारोबारमा हात हाल्न नसक्ने भन्ने हुँदैन,' उनी भन्छिन्, 'अहिले म देख्छु, सेयर बजारमा महिला थुप्रै हुनुहुन्छ। उहाँहरुको कारोबारको आँट पनि अचम्मको लाग्छ।'

डिम्याट खाता खोल्ने ३३ लाख ४९ हजार ६ सय ९८ जना पुगेका छन्। यसमा महिलाको संख्या १३ लाख ८६ हजार  ८ सय ४० छ। यसमध्ये ६० वर्षभन्दा माथि उमेरका ९१ हजार १ सय ९, १८ देखि ६० वर्ष उमेरका ११ लाख ३ हजार २३ छ भने १८ वर्षभन्दा कम उमेरका एक लाख ९१ हजार ८ सय १३ जना किशोरीहरूका नाउँमा डिम्याट खाता छन्।