BIZMANDU
www.bizmandu.com

उमेश श्रेष्ठले बेचे चार अर्ब रुपैयाँमा गोदावरीको जग्गा, किन्ने ओमबहादुर घर्ती को हुन्?


उमेश श्रेष्ठले बेचे चार अर्ब रुपैयाँमा गोदावरीको जग्गा, किन्ने ओमबहादुर घर्ती को हुन्?
उमेश श्रेष्ठले बेचे चार अर्ब रुपैयाँमा गोदावरीको जग्गा, किन्ने ओमबहादुर घर्ती को हुन्?


Tata
GBIME
Nepal Life

काठमाडौं। व्यवसायी उमेश श्रेष्ठको ललितपुर गोदावरीमा रहेको फार्म हाउससहितको करिब दुई सय रोपनी जग्गा ओमबहादुर घर्तीले खरिद गरेका छन्। 

प्रतिनिधिसभामा कांग्रेसका सांसदसमेत रहेका श्रेष्ठको जग्गा करिब पौने चार अर्ब रुपैयाँमा किनबेच गर्ने सहमतिसहित घर्तीले बैनासमेत गरिसकेका छन्।

उपत्यकाका विभिन्न स्थानहरु भैंसेपाटी र गोदावरीलगायतका स्थानहरुमा जग्गा विकास (प्लटिङ) एवम् व्यक्तिगत घर खरिदबिक्री गर्दै आएका घर्तीले पहिलो चरणमा दुई सय रोपनीमध्ये ७० देखि ७५ रोपनी जग्गा विकासको काम भइरहेको बिजमाण्डूलाई बताए।

को हुन् ओमबहादुर घर्ती ?

ओमबहादुर घर्ती काठमाडौं उपत्यकामा लामो समयदेखि जग्गा कारोबार गरिरहेका व्यक्ति हुन्। उनले काठमाडौंमा दर्जनौं ठाउँमा हजारौं रोपनी जग्गा प्लानिङ गरिसकेका छन्। जग्गा लिने, घडेरी योग्य बनाउने र बेच्ने काम उनी गर्छन्।

घर्ती नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए) का सदस्यसमेत हुन्। उनले ओम डेभलपर्स प्रालिको अध्यक्षको हैसियतबाट संघमा सदस्यता लिएका छन्।

२०७४ मा सरकारले कित्ताकाट रोक्ने निर्णय लिँदा १० वटा व्यक्ति तथा संस्थाले कित्ताकाट गर्ने अनुमति पाएका थिए। ती १० मध्येकै एक हुन् घर्ती।

उनले काठमाडौंमा हाउजिङ र अपार्टमेन्ट बनाउने भन्दा पनि जग्गाको प्लटिङ गरेर हजारौं रोपनी जग्गा बिक्रीवितरण गरिसकेका छन्।

जग्गा बेचेका श्रेष्ठले होटल र रिसोर्टमा लगानी गर्दै
श्रेष्ठले गोदावरीको जग्गा बेचेर आधा दर्जन होटल र रिसोर्टमा लगानी बढाएका छन्। धुलिखेल र चितवनमा होटल किनिसकेका उनले अन्य ४/५ वटा रिसोर्ट पनि किन्ने तयारी गरिरहेका छन्। धुलिखेलमा हिमालय दृश्य, चितवनमा बनबास र सिराइचुली तथा तनहुँमा दमौली र घासी रिसोर्ट होटल किनिसकेका छन्।

अन्य ठाउँमा पनि होटलहरु किन्न छलफल भइरहेकोले श्रेष्ठले ८ देखि १० वटासम्म होटल तथा रिसोर्ट किनेर सञ्चालन गर्ने योजना बनाइरहेको स्रोतको दाबी छ।

देउवादेखि प्रचण्डसम्मको आराम गर्ने ठाउँ
घर्तीले किनेको फार्म हाउसमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरु नियमितजसो बास बस्न जाने गरेका थिए।

श्रेष्ठले आफू प्रतिनिधिसभा सदस्य भइसकेपछि उच्च तहका नेताहरुलाई बेलाबेला फार्म हाउसमा आराम गर्ने व्यवस्था मिलाउने गरेका थिए।

उनको फार्म हाउस गोदावरी हाइटमा पर्ने भएकाले त्यहाँबाट उपत्यकाका अधिकांश ठाउँहरु सजिलै हेर्न सकिन्छ।

कति छ जग्गाको चल्तीको मूल्य?

श्रेष्ठको फार्म हाउस रहेको गोदावरीको किटिनी क्षेत्रको स्थानीय नाम टौडाल हो। 

किटिनी क्षेत्रमा मूल पिच सडकमा जोडिएका जग्गा प्रतिआना सात लाख २० हजार रुपैयाँ सरकारी मूल्यांकन छ। सहायक पिच सडकमा भए चार लाख २० हजार रुपैयाँ र कच्ची बाटोमा भए तीन लाख रुपैयाँ न्यूनतम मूल्यांकन छ। गोरेटोबाटो मात्रै भएको जग्गाको न्यूनतम मूल्यांकन पनि प्रतिआना डेढ लाख रुपैयाँ छ। 

फार्म हाउसमा उच्च तहका नेताहरु गएर बस्ने भएपछि त्यहाँसम्म पुग्ने बाटो कम्तिमा कच्ची मोटर बाटो हुनुपर्छ। जस अनुसार सरकारी मूल्यांकन नै प्रतिआना तीन लाख रुपैयाँ हुने देखिन्छ।

तर चलनचल्तीको मूल्य भने यहाँ प्रतिआना न्यूनतम १० देखि १२ लाख रुपैयाँ रहेको स्थानीयको भनाइ छ। त्यहि जग्गा घर्तीले प्रति आना ७/८ लाख रुपैयाँ पर्ने गरी सगोलमा खरिद गरेका हुन्।

प्लानिङ गरिसकेपछि भने उक्त जग्गा प्रतिआना न्यूनतम १५/१६ लाख रुपैयाँबाट बेच्न सुरु गर्ने घर्तीको तयारी छ।

२०० रोपनी जग्गा एउटै व्यक्तिले किनबेच गर्न पाउँछ? 

अहिले उपत्यकामा एक व्यक्तिले राख्न  पाउने अधिकतम जग्गा ३० रोपनी मात्रै हो। घरघडेरी प्रयोजनका लागि ५ रोपनी र खेतीपाती गर्ने प्रयोजनका लागि २५ रोपनीसहित एक व्यक्तिलाई उपत्यकामा ३० रोपनीभन्दा बढी जग्गा राख्न पाउने अनुमति छैन।

तर जग्गा विकास, हाउजिङ/अपार्टमेन्ट निर्माण, कुनै उद्योग धन्दा खोल्नको लागि भने मन्त्रालयको स्वीकृति लिएर थप जग्गा पनि राख्न पाउँछन्। श्रेष्ठले सम्भवतः फार्म हाउसको नाममा हदबन्दी भन्दा बढी जग्गा राखेको हुनुपर्छ। घर्तीले भने जग्गा विकासको प्लानिङ पर्मिट लिँदा हदबन्दीभन्दा बढी जग्गा राख्न पाउने छन्।