BIZMANDU
www.bizmandu.com

कुखुराको मासुको भाउ हालसम्मकै उच्च, थोकमै किलोको ४ सय पर्न थाल्यो, ग्राहकले साढे ४ सयसम्म तिर्दै


Tata
GBIME
Nepal Life

काठमाडौं । कुखुराको उत्पादनमा कमी आउन थालेपछि मासुको मूल्य हालसम्मकै उच्च भएको छ । 

पछिल्लो समय कुखुराको मासुको मूल्य क्रमिक रुपमा बढ्न थालेको हो । राष्ट्रिय कुखुरा व्यवसायी संघले मंगलबारदेखि बजारमा लागु हुने गरी जिउँदो कुखुरामा प्रतिकेजी १० रुपैयाँ र मासुमा प्रतिकेजी १० रुपैयाँ बढाएको छ । 

संघले मासुको  उपभोक्ता मूल्य  चार सय रुपैयाँ तोकेको छ । हाल जिउँदो कुखुराको किसान मूल्य प्रतिकेजी २ सय ९० रुपैयाँ भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । जिउँदो कुखुरा र मासुको मूल्य हालसम्मकै उच्च भएको संघले जनाएको छ । 

सोमबारसम्म बजारमा जिउँदो  कुखुरा प्रतिकेजी २ सय ८० र तयारी मासु प्रतिकेजी ३ सय ९० रुपैयाँमा बिक्री हुँदै आएको थियो । संघका अनुसार यसअघि जिउँदो कुखुरा प्रतिकेजी २ सय ७० रुपैयाँसम्म पुगेको थियो । मासु प्रतिकेजी  ३ सय ९० रुपैयाँमात्र  तोकिएको थियो ।

गत लकडाउनको समयमा ह्याचरी संघले ठूलो  परिमाणमा अण्डा, चल्ला र कुखुरा नष्ट गर्दा पनि मूल्य यसरी महंगो भएको थिएन । त्यति बेला प्यारेन्ट कुखुराको आयात भइसकेकोले उत्पादनसँगै बजारमा आपूर्ति सहज थियो ।

कोभिड पछि प्यारेन्ट कुखुराको  आयात रोकिएयता उत्पादन बढ्न सकेको छैन । एक  बर्षदेखि प्यारेन्ट आयात नहुँदा र  हाल उत्पादन भएका कुखुराहरु  रोगका कारण मर्न थालेपछि  मूल्य लगातार  बढ्न थालेको अध्यक्ष बिसीले बताए  ।

अहिले  आयात भएको प्यारेन्टबाट अण्डा र  नयाँ चल्ला उत्पादन हुन करिब ८ महिनासम्म  लाग्ने भएकोले मासुको मूल्य बढ्दै जाने  उनको भनाइ छ । उनी भन्छन्- 'केही उत्पादन आउने जाने भइरहेको छ । मासु खपत हुने समय  पनि आएको हुनाले मूल्य बढेर कति पुग्छ अहिले नै भन्न नसकिने अवस्था छ।'

गत जेठतिर कोभिडले गर्दा उत्पादन भएका कुखुरा खपत नहुँदा जिउँदो कुखुरा प्रतिकेजी एक सय रुपैयाँसम्म आएको थियो । बजारमा मासुको माग नभएकोले लागत मूल्य उठाउन नसकिने भन्दै कुखुरा पालक किसान र पोल्ट्री फार्मले उत्पादन कम गरेका थिए । जसले गर्दा  तराइका जिल्लामा  मासु प्रतिकेजी ४ सय ५० रुपैयाँ देखि ५ सय रुपैयाँ पुगेको थियो ।

उक्त समयमा उपत्यकामा उपभोक्ताहरुले खुद्रा मूल्य ३ सय ८० रुपैयाँदेखि ४ सय रुपैयाँमा खरिद गरेका थिए ।  यति बेला भने थोकमा  ४ सय रुपैयाँ पुग्दा उपभोक्ताहरुले  ४ सय २० रुपैयाँदेखि ४ सय ५० रुपैयाँसम्ममा खरिद गर्नु पर्ने अवस्था छ ।  यसै पनि बजारमा मासु पसलै पिच्छे मूल्य फरक फरक पर्ने गरेको छ । 

सामान्य अवस्थामा कुखुराको मासु प्रतिदिन ११ लाख केजी आवश्यक पर्दछ ।  यति बेला बजारको माग अनुसार कुखुरा खरिद गर्ने नपाएको सामुदायिक कोल्ड स्टोरका संचालक सानुकान्छा  तामाङले बताए । जसोतसो मागलाइ धान्ने काम मात्र भएको  उनको भनाई छ ।

कोभिड पछि खपत कम हुँदै दैनिक साढे पाँच लाख केजीमा झरेको थियो । अहिले जिउँदो कुखुराको आपूर्ति सहज नहुँदा दैनिक खपत घट्न थालेको संघले जनाएको छ । 

केही समयता कम उत्पादनले बजारको माग अनुसार जिउँदो कुखुरा पाउन मुस्किल  छ । किसानहरुले चल्लाको मूल्य प्रतिगोटा एक सय ४० भन्दा बढी पर्न थालेपछि उत्पादन घटाएका छन्।
 

रानीखेत रोगले घटायो कुखुरा उत्पादन 

पछिल्लो समय  किसानहरुले महंगोमा चल्ला किनेर पालिरहेका छन्।  रानीखेत रोगले सताउन थालेपछि थोरै मात्र चल्ला हाल्न थालेको धादिङ विशालटार फार्मका संचालक रत्न नारायण श्रेष्ठले बताए ।  रानीखेत रोगले फार्ममा भएका हजारौं कुखुरा एकै पटक मर्न थालेपछि उत्पादन कम भएको उनले जानकारी दिए। 

रोगको डरले पहिले १० हजार कुखुरा पालिरहेको उनले हाल १५ सय मात्र चल्ला राखेको  बताए । यो रोगका कारण धेरै किसानहरुले कुखुरा पाल्न छोडेका  छन्। अहिले राम्रो मूल्य पायो भनेर महंगो चल्‍ला किनेर हाल्दा रोगले पूरै फार्म नै खाली गराएपछि सबै किसान डराउन थालेको उनले जानकारी दिए।