BIZMANDU
www.bizmandu.com

सेयर बजारमा एक अंकको नयाँ रेकर्ड, कारोबार रकम फेरि घटेपछि लगानीकर्ता बाहिरिएको आशंका

२०७७ चैत्र २३

सेयर बजारमा एक अंकको नयाँ रेकर्ड, कारोबार रकम फेरि घटेपछि लगानीकर्ता बाहिरिएको आशंका
सेयर बजारमा एक अंकको नयाँ रेकर्ड, कारोबार रकम फेरि घटेपछि लगानीकर्ता बाहिरिएको आशंका

Tata
GBIME
Nepal Life

काठमाडौं। आइतबार मात्रै नयाँ उचाईमा पुगेको सेयर बजारमा सोमबार पनि १ अंकको वृद्धिसहित नयाँ रेकर्ड बनेको छ।

दिनभर अधिकांश समय रातो देखिएको बजार बन्द हुँदा भने एक अंकको वृद्धिसहित २६५८ बिन्दुमा बन्द भएको छ।

सुरुवाती समयमा २०/२२ अंक सम्म बढेको बजार केही समयमै १५ अंक सम्म झरेको थियो। त्यसपछि दिनैभरी २/३ अंकसम्म तल र माथि हुँदै गएको बजार बन्द हुँदा एक अंकले बढेर बन्द भएको हो।

बजार १ अंकले बढे पनि कारोबार रकम भने सवा सात अर्ब रुपैयाँमा सीमित भएको छ। आइतबार नौ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको थियो।

कारोबार रकम घटेपछि लगानीकर्ता बाहिरिएको आशंका
नेप्से सूचक १ अंकले बढे पनि बजारमा कारोबार रकम भने फराकिलो अंकले घटेको छ। आइतबार नौ अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएकोमा सोमबार भने जम्मा सात अर्ब २९ करोड रुपैयाँको मात्रै किनबेच भएको छ। जुन अघिल्लो दिनको तुलनामा पौने दुई अर्ब रुपैयाँ कम हो।

लामो समय सम्म ५/६ अर्ब रुपैयाँ रहेको कारोबार रकम ३ दिन मात्रै सात अर्ब रुपैयाँ नाघेको हो। यसले बजार बढेको समयमा यस अघिको सर्वाधिक उचाईंमा सेयर किन्नेहरु बजारबाट बाहिरिएको त हैनन् भन्ने लगानीकर्ताको आशंका छ।

विश्लेषक भन्छन् अहिलेको बजारको वृद्धि २०१६ को क्रयासको जस्तै
सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्याल अहिलेको बजारको वृद्धिदर सन २०१६ मा नयाँ रेकर्ड बनाएर क्रयास भएको बजारको जस्तै रहेको दाबी गर्छन्।

२०१६ र अहिलेको बजारको वृद्धिदरलाई तुलना गर्दै बस्याल भन्छन् 'त्यतिबेला पनि हकप्रद सेयरको पछि लाग्दा बजार क्रयास भएको थियो।अहिलेपनि लगानीकर्ताहरु हकप्रद सेयरको पछि लागेर महंगो मूल्यमा सेयर किनिरहेका छन्। यसले गर्दा यी दुवै अवस्था उस्ता उस्तै देखिएका छन्। बजार क्रयास हुन्छ नै भन्ने त छैन तर हुँदैन भन्न पनि सकिदैन।' 

२०१६ मा नेप्से १८८१ बिन्दुसम्म पुग्दा छोटो समयमै २०/२५ प्रतिशतको वृद्धि भएको थियो। अन्ततः बजारले वृद्धि थेग्न सकेन र निरन्तर ओरालो यात्रा तय गरेको थियो। 

अहिलेको वृद्धिदर हेर्दा पनि १०/१२ दिनमै १५ देखि २५ प्रतिशत सम्म हरेक समूहमा वृद्धि भएको देखिएको छ। यसले बजारलाई २०१६ कै अवस्थामा त फर्काउँदैन भन्ने बस्यालको चिन्ता छ।

बजार बुलिस ट्रेण्डमै भएकाले सामान्य तल-माथि भए पनि पहिलेकै अवस्थामा फर्किने सम्भावना भने निकै कम रहेको इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ। 

तर बुलिस ट्रेण्ड कति समय सम्म रहन्छ भन्ने कसैलाई पनि थाहा छैन। बिगत एक वर्षदेखि बजार बुलिस ट्रेण्डमा छ। अब कति महिना वा वर्षसम्म यो ट्रेण्ड रहन्छ भन्ने यसै भन्न नसकिने विश्लेषकहरु बताउँछन्।

सोमबार २०६ कम्पनीको एक करोड ५८ लाख कित्ता सेयर सात अर्ब २९ करोड रुपैयाँमा किनबेच हुँदा कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ।

१६ कम्पनीको मूल्य स्थिर रहेकोमा ५९ कम्पनीको मूल्य बढेको छ बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

वोमी लघुवित्त, एनआइसी एसिया लघुवित्त, राधि विद्युत कम्पनी र सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्य करिब १०/१० प्रतिशतले बढेको छ। गुर्खाज फाइनान्स, श्री इनभेष्टमेन्ट र स्वाभिमान लघुवित्तको सेयर मूल्य २/३ प्रतिशतले घटेको छ।

माथिल्लो तामाकोशीको सर्वाधिक ३४ करोड रुपैयाँको सेयर किनबेच हुँदा आइएमई जनरल इन्स्योरेन्सको ३१ करोड, निफ्राको २८ करोड, हिमालयन जनरल इन्स्योरेन्सको २५ करोड र नेपाल टेलिकमको १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

व्यापार समूह १३२ र होटल तथा पर्यटन समूह ११४ अंकले बढ्दा, निर्जीवन बीमा समूह १०६ अंक र जीवन बीमा समूह ३८ अंकले घटेको छ।