.jpg)
काठमाडौं। महिनौंदेखि ग्राउण्डेड रहेको चिनियाँ जहाज व्यवस्थापनका लागि नेपाल वायुसेवा निगमले कमिटी गठन गरेको छ।
चीन सरकारसँग लिइएको ६ वटा जहाज (दुई वटा मोडर्न आर्क-६० र चार वटा वाइ-१२) उडाउँदा घाटा भएपछि निगमले केही महिनादेखि ग्राउन्डेड गरेर राखेको थियो।
अर्थ मन्त्रालयबाट जहाज व्यवस्थापनका लागि ग्रीन सिग्नल आएसँगै निगमले जहाज व्यवस्थापनका लागि लिजमा दिने योजना बनाएको हो।
'जहाज लिजमा दिनका लागि सबै हिसाबकिताब गर्नका लागि कमिटी गठन भएको छ। कति शुल्कमा भाडामा लगाउँदा उपयुक्त हुन्छ त्यो कुरा निश्चित भएलगत्तै आवेदन खुला गर्नेछौं,' निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले भने, 'हामीलाई पहिला यी जहाज लिजमै दिन निर्देशन दिइएको छ। लिजमा कसैले लिएन भने मात्र जहाज बिक्री गर्ने विकल्प दिइएको छ।'
पाँच वर्षअघि भित्र्याइएको चिनियाँ जहाज संचालन र व्यवस्थापन गर्न नसक्दा निगमले करिब सवा दुई अर्ब रुपैयाँ घाटा व्यहोरेपछि दुई वटा मोडेल (मोडर्न आर्क ६० (एमए-६०) र वाइ १२-इ) का जहाज सदाका लागि उडाउन बन्द गर्ने निगमले घोषणा गरिसकेको छ।
चिनियाँ जहाजको बीमा खर्च, पाइलट अभाव तथा पाइलट प्रशिक्षण खर्च, स्पेयर पार्ट्स, पे-लोड, अत्यधिक इन्धन खपत लगायतका कारण उच्च संचालन घाटा रहेकाले चिनियाँ जहाज उडाउन बन्द गर्ने निर्णय गरेको थियो।
महालेखा परीक्षकको कार्यालयले यी जहाजको कारण निगमले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा ९१ करोड रुपैयाँ नोक्सानी व्यहोर्नु परेको जनाएको छ। यस्तै जहाजको बीमाशुल्क, क्रु खर्च, पिरियोडिक मेन्टेनेन्स लगायतमा मात्र ५० करोड रुपैयाँभन्दा बढी घाटा हुने देखिएको छ।
निगमले साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज संचालनमा नल्याउने र यी जहाजमा कार्यरत पाइलटको करार नवीकरण नगर्ने निर्णय गरेको थियो। निगमका अनुसार दुई वटा एमए-६० र चारवटा वाई-१२ ई जहाजमध्ये एउटा एमए-६० र एउटा वाइ-१२ ई जहाजमात्र उडानयोग्य छन्।
निगमले 'इन्टिग्रेटेड डोमेस्टिक बिजनेस प्लान विथ रिप्लेसमेन्ट प्लान फर एमए ६० एण्ड वाई-१२ ई' शीर्षकमा व्यवसायिक योजनाको डकुमेन्टेसन अनुसार विकट गन्तव्यमा ट्विनअटर जहाज विस्तार गरी उडान गर्ने योजना बनाएको छ।
निगमले बझाङ, जुम्ला, हुम्ला, रुम्झाटार, बैतडी, ताप्लेजुङ, दाङ, जोमसोम लगायत विकट गन्तव्य (स्टल रुट) मा थप ट्विनअटर जहाज प्रयोगमा ल्याउनका लागि सम्भावित अध्ययन सुरु गरिसकेको जनाएको छ।