BIZMANDU
www.bizmandu.com

‘सिंगल युज प्लास्टिक’ खपत नियन्त्रण अभियानमा होटल संघ, सिसा र बाँस प्रयोग राम्रो विकल्प

२०७७ चैत्र २२

‘सिंगल युज प्लास्टिक’ खपत नियन्त्रण अभियानमा होटल संघ, सिसा र बाँस प्रयोग राम्रो विकल्प
‘सिंगल युज प्लास्टिक’ खपत नियन्त्रण अभियानमा होटल संघ, सिसा र बाँस प्रयोग राम्रो विकल्प

Tata
GBIME
Nepal Life

काठमाडौं। होटलहरुको छाता संगठन होटल संघ नेपालले 'सिंगल युज प्लास्टिक' खपत नियन्त्रणका लागि अभियान सुरु गर्ने भएको छ।

होटलमा प्रयोग हुँदै आएको प्लास्टिकजन्य सामाग्रीबाट वातावरणमा पर्ने प्रभावलाई मध्यनजर गर्दै एक पटकमात्र प्रयोग हुँदै आएका प्लास्टिकजन्य सामाग्री प्रयोगमा नियन्त्रणमा ल्याउन लागिएको संघले जनाएको छ। 

विश्वभर ग्रीन होटलको अवधारणा लक्षित सेवा सुरु गर्न आवश्यक अभियान सुरु भइसकेकाले नेपालमा पनि त्यसको आवश्यकता देखिएको होटल संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। 'विश्वबाट नेपाल भ्रमणमा आउने  विदेशी पर्यटकले प्लास्टिकरहित आतिथ्यता चाहिरहेका  हुन्छन्। अहिलेको अवस्थामा खर्च जोगाउने अवस्था हो। यसकारण होटलमा प्राय प्रयोग हुँदै आएको पानीको बोटल, बाथरुममा राखिने सामाग्री लगायतमा प्लास्टिकरहित उत्पादनमा जोड दिन आवश्यक छ,' उनले भने, 'जसले गर्दा स्वदेशमै नयाँ उद्योग विस्तार हुनका साथै लगानीको पनि उत्तिकै सम्भावना छ।'

सन् २०१५ मा प्लास्टिकजन्य सामाग्री प्रयोगमा रोक लगाइए पनि पछिल्ला वर्ष यता यसको कार्यान्वयन नै नभएको उनले बताए। संघले गरेको अध्ययन अनुसार प्रयोग हुँदै आएको ९१ प्रतिशत प्लास्टिकजन्य सामाग्री पुनर्प्रयोगमा ल्याउन अयोग्य छ। विश्वभर प्रति मिनेट एक मिलियन प्लास्टिकजन्य सामाग्री बिक्री हुँदै आएको छ।

हाल ५० वटा होटलले सिंगल युज प्लास्टिकमा रोक लगाइसकेको संघले जनाएको छ। प्लास्टिकजन्य सामाग्रीको सट्टामा ग्लास बोटल, ब्याम्बो प्रोडक्ट लगायत प्रयोगमा ल्याउनका साथै यसको केन्द्रीय उद्योग खोल्ने सम्भावना राम्रो रहेको शाहले बताए।

प्लास्टिकजन्य सामाग्री प्रयोग गर्दा तीन वर्षमा डेढ अर्बभन्दा बढी खर्च     
संघले गरेको अध्ययनका अनुसार सन् २०१७ देखि सन् २०२० सम्ममा होटल क्षेत्रले मात्र प्लास्टिकजन्य सामाग्री प्रयोग गर्दा एक अर्ब ५६ करोड ३५ लाख ८ हजार पाँच सय ७५ रुपैयाँ खर्च गरेको देखिएको छ।

संघका अनुसार मुलुकभर संचालित होटलमा सिंगल युज प्लास्टिक सामाग्रीको प्रयोग ७० प्रतिशत कायम हुँदै आएको छ। यसको न्यूनीकरण गर्नका लागि संघले पानी पिउनका लागि  ग्लास बोटल, स्नान सामाग्री (ब्रस, स्याम्पु राख्ने बोटल, काइँयो) लगायत सामाग्रीमा ब्याम्बो (बाँस) को प्रयोग गर्न सकिने विकल्प रहेको जनाएको छ।