BIZMANDU
www.bizmandu.com

काठमाडौं महानगरमा आजबाट उठ्ने भयो फोहोर, सिसडोलका स्थानीयसँग भयो सहमति

२०७७ चैत्र २०

Tata
GBIME
Nepal Life

काठमाडौं। काठमाडौं महानगरपालिका र सिसडोल ल्याण्डफिल साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबीच आज भएको छलफलपछि फोहोर बिसर्जनको अवरोध हट्ने भएको छ।

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए। सिसडोलका स्थानीयले विभिन्न माग राख्दै फोहोर बिसर्जनमा अवरोध पुर्‍याएसँगै काठमाडौं महानगरमा फोहोर उठ्न सकेको थिएन। बिहीबारदेखि निरन्तर बसेको बैठकले फोहोर व्यवस्थापन गर्ने विषयमा समाधान निकालेको हो।

आज महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिबद्धतापछि फोहोर बिसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन्।

छलफलका क्रममा उनीहरुका माग सम्बोधनका लागि प्रमुख शाक्यले प्रभावित क्षेत्रका बासिन्दाको शिक्षा र स्वास्थ क्षेत्रका लागि राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले केही मागका बारेमा थप छलफल गरी थप व्यवस्थित ढंगले अघि बढ्न सकिने पनि बताए। प्रमुख शाक्यले छलफलमा आफूहरुले गरेका प्रतिबद्धता कार्यपालिका बैठक बसी पूरा गर्ने बताए। स्वास्थ्य सम्बन्धी केही बुँदामा अझै छलफल गरी अघि बढ्न सकिने उनको भनाइ थियो। प्रभावित क्षेत्रमै अस्पताल बनाउने हो कि वडाको सिफारिसमा काठमाडौंको अस्पतालमार्फत सेवा उपलब्ध गराउने हो त्यो विषयमा प्रष्ट धारण बनाएर आउन उनले आग्रह गरे।

धुनिबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काठमाडौंले पूर्वाधार विकासका लागि दिने भनेको सहयोगको प्रशंसा गरे। उनले स्थानीय स्तरका समस्या संस्थागत रुपमा आउनुपर्नेमा जोड दिँदै त्यसो भयो भने मात्रै संघीयताले स्थानीय सरकारलाई दिएको अधिकारले सार्थकता पाउने बताए।

छलफलमा सहभागी ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईँले फोहोर बिसर्जनको अवरोध हटेको जानकारी दिए। ‘प्रभावित क्षेत्रका ५१ जना शिक्षकको अस्थायी दरबन्दीका लागि काठमाडौं महानगरपालिकाले तत्कालका लागि खर्च व्यहोर्ने, जग्गा अधिग्रहणका सन्दर्भमा विज्ञ टोली बनाएर प्रक्रिया अघि बढाउने, लगायतका सहमतिपछि फोहोर बिसर्जनको अवरोध हटेको छ,’ बजगाईले भने, ‘अब आजैबाट फोहोर उठ्छ।’

काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड रुपैयाँ व्यवस्था गर्ने, धुनीबेंसी नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिने लगायतका विषयमा सहमति भएको छलफलमा भएका सहमतिलाई अन्तिम रुप दिई सहमतिमा हस्ताक्षर गर्ने बताए।

दुई दिन अघिको छलफलमा प्रमुख शाक्यले प्रभावित क्षेत्रका विद्यालयको लागि ५१ जना शिक्षकको दरबन्दी माग गरेको भन्दै त्यो मागप्रति सकारात्मक बनी नेपाल सरकारबाट स्थायी दरबन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उनोहरुले व्यवस्था गरेको अस्थायी दरबन्दीका ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसैगरी दुई दिन अघि नै भएको छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेंसी गाउँपालिकाको पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राखेका थिए।

त्यसैगरी प्रमुख शाक्यले यस अघि नै प्रभावित क्षेत्रकै लागि एउटा एम्बुलेन्स खरिद गरिदिएको र बाँकी थप एउटा एम्बुलेन्स पुनः खरिद गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए। यसअघि एउटा एम्बुलेन्स ललितपुर महानगरपालिकाले खरिद गरिदिने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले असन्तुष्टि व्यक्त गरेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका थिए। बिहीबार पनि उनीहरुको माग सम्बोधनका लगि छलफल भएको थियो।