BIZMANDU
www.bizmandu.com

वाणिज्य बैंकहरुलाई उछिन्दै विकास बैंकहरु, छुट्टै रणनीति बोकेर अगाडि बढ्दै, ‘कमर्सियल फ्लेवर’

२०७७ चैत्र २०

वाणिज्य बैंकहरुलाई उछिन्दै विकास बैंकहरु, छुट्टै रणनीति बोकेर अगाडि बढ्दै, ‘कमर्सियल फ्लेवर’
वाणिज्य बैंकहरुलाई उछिन्दै विकास बैंकहरु, छुट्टै रणनीति बोकेर अगाडि बढ्दै, ‘कमर्सियल फ्लेवर’


Tata
GBIME
Nepal Life

काठमाडौं। पाँच वर्षअघिका वाणिज्य बैंक जत्रै अहिलेका विकास बैकहरु पुगिसकेका छन्। नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गरिदिएपछि धेरै त मर्जरमै गए, जति बाँचे (राष्ट्रियस्तरका) तिनको आकार त्यसबेलाका वाणिज्य बैंकहरुको भन्दा ठूलो भएको छ।

कतिपयले त अहिलेका केही वाणिज्य बैंकहरुलाई पनि उछिनिसकेका छन्।  अहिलेका कतिपय वाणिज्य बैंकहरुभन्दा विकास बैंकहरुको आधार ठूलो भइसकेको छ। 

व्यापार बिस्तार होस् या अन्य सुविधाहरु, राज्य र राष्ट्र बैंकबाट निकै कम पाए पनि आफ्नै बलबुतामा विकास बैंकहरुले आफ्नो सञ्जाल मात्र बढाएका छैनन्, व्यापार आधार पनि बलियो बनाउँदै लगेका छन्।

अहिले राष्ट्रियस्तरमा ८ वटा विकास बैंकहरु सञ्चालनमा छन्। यी आठ वटामा वाणिज्य बैंकहरुजस्तो एउटै ढर्रा छैन। उनीहरुले फरक/फरक रणनीति लिएर व्यापार बिस्तार गरिरहेका छन्। राष्ट्र बैंकले जोरजबर्जस्ती नगरे उनीहरु आफ्नो छुट्टै पहिचान बोकेर हिँड्ने दिशामा नै अगाडि बढेको देखिन्छन्। महालक्ष्मी र शाइन रेसुंगा राम्रो मूल्य पाए वाणिज्य बैंकसँग मर्जरमा जान प्रयासरत छन्।

'अहिले त वाणिज्य बैंकहरु र विकास बैंकहरु बीचमा पुँजीबाहेक खासै अन्तर छैन,' डेभलपमेन्ट बैंकर्स संघका पूर्व अध्यक्ष कृष्णराज लामिछानेले बिजमाण्डूसँग भने, 'केही विकास बैंक त व्यापार/सञ्जाललगायतमा वाणिज्य बैंकहरुभन्दा ठूलो भइसके।' 

विवरण (रु. हजारमा) मुक्तिनाथ ज्योति गरिमा महालक्ष्मी साइन लुम्बिनी साङ्ग्रिला कामना सेवा
कुल सम्पति 83,699,631.24 51,454,731.17 60,454,367.84 43,801,302.74 38,638,261.25 39,387,997.35 40,141,194.23 42,704,328.26
ऋण 62,670,599.93 37,826,829.57 46,500,391.55 31,003,358.30 29,046,042.93 29,048,796.16 30,547,550.63 31,202,815.70
निक्षेप 74,872,246.57 44,758,131.13 53,051,832.19 36,430,436.54 32,721,660.43 32,452,225.24 34,551,286.76 38,184,162.50
सेयरधनी कोष 6,277,177.43 4,872,162.36 4,795,449.12 5,172,450.54 4,522,326.05 4,766,970.63 3,487,926.52 3,304,490.43
चुक्ता पुँजी 4,811,550.80 3,495,293.44 3,238,689.43 3,072,061.33 3,408,463.91 2,906,453.55 2,606,640.40 2,540,195.35
नाफा 615,573.50 305,599.69 393,590.04 346,871.25 261,111.92 261,885.40 164,805.15 390,047.75
वितरण योग्य नाफा 525,510.11 157,534.37 252,361.93 124,713.03 169,883.27 163,551.05 82,499.28 271,967.39

राष्ट्रियस्तरका विकास बैंकहरुको १०० भन्दा बढी शाखा छन्, जबकी कतिपय वाणिज्य बैंकको सय वटा पुगेको छैन।

पछिल्लो समय वाणिज्य बैंकहरुको भन्दा राम्रो सेयर मूल्य विकास बैंकहरुको छ। विगतमा विकास बैंकहरुको लागत महँगो भएर ब्याज महँगो छ भन्ने धारणा पनि उनीहरुले परिवर्तन गरिसकेको लामिछानेले बताए।

'अहिले कस्ट अफ फण्ड कम छ। यसले गर्दा ऋणको पनि निक्षेपको पनि ब्याज दरमा असमानता छैन,' उनले भने, 'प्रतिफलमा पनि विकास बैंकहरुले राम्रो गरिरहेका छन्।'

को कस्ता?
अहिले १८ वटा विकास बैंकहरु सञ्चालनमा छन्। त्यसमध्ये ८ वटा राष्ट्रियस्तकार छन्। मुक्तिनाथ, ज्योति, गरिमा, महालक्ष्मी, शाइन रेसुंगा, लुम्बिनी, सांग्रिला र कामना सेवा विकास बैंक राष्ट्रियस्तरका हुन्।

क्षेत्रीय कारोबारमै रमाइरहेको शाइन रेसुंगा अघिल्लो साता काठमाडौंमा एकै पटक पाँच वटा शाखा खोलेर राष्ट्रिय कारोबार गर्ने सन्देश दिएको छ। ज्योति, लुम्बिनी र महालक्ष्मी काठमाडौंका रैथाने हुन्। बाँकी रहेका अन्य चार बैंक काठमाडौं छिरेको धरै भएको छैन।

मुक्तिनाथ विकास बैंक र गरिमा डेभलपमेन्ट बैंक काठमाडौं आए पनि उनीहरु फरक रणनीति अनुसार अगाडि बढिरहेका छन्। 

मुक्तिनाथ लघुवित्त क्षेत्रमा नै बढी केन्द्रित छ। बैंकको ४० प्रतिशत योगदान लघुवित्तले दिने ऋण अर्थात विपन्नतिरै केन्द्रित छ। उसको मुख्य कमाइ पनि त्यही क्षेत्र हो। 

अन्य विकास बैंक रहेनन् भने पनि आफू रहन्छौं भन्ने हिसाबले मुक्तिनाथले आफूलाई 'ग्रो' गराइरहेको छ। उसको ध्यान बरु लघुवित्त संस्थालाई प्राप्ति गरेर त्यो क्षेत्रमा अझ राम्रो गर्न सकिन्छ भन्नेमा छ। 

मुक्तिनाथले पछिल्लो समय वाणिज्य बैंक 'फ्लेवर' पनि 'एड' गरेको छ। प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल मेगा बैंकबाट त्यहाँ गएका हुन्। अन्य केही उच्च कर्मचारी पनि वाणिज्य बैंकहरुबाट गएका छन्। मुक्तिनाथमा कर्मचारीको तलब सुविधा पनि तुलनात्मक रूपमा राम्रो छ। यसले गर्दा कर्मचारीमा इनर्जी हाइ छ। विकास बैंकहरुमा 'मुक्तिनाथ' को नाम जनजिब्रोमा छ। 

गरिमा विकास बैंकको यस्तै रणनीति भन्ने छैन। तर, मुक्तिनाथपछिको बैंकमा गरिमा उभिएको छ। यसमा कर्मचारीलाई तलब सुविधा राम्रो छ। कतिपय वाणिज्य बैंकहरुभन्दा पनि राम्रो तलब सुविधा भएका कारण यसमा कर्मचारीको मनोबल उच्च छ। 

सबैभन्दा राम्रो पक्ष भनेको गरिमामा व्यवस्थापन र सञ्चालक समिति सदस्यको भिजन समान छ। उनीहरु कतै बाँडिएका छैनन्। मुक्तिनाथ र गरिमा ३ करोडको पुँजी राखेर स्याङ्जाबाट काठमाडौंसम्म आइपुगेका बैंक हुन्। 

गरिमामा वाणिज्य बैंकको 'ब्लड' छैन। पुरानै फ्लेवरमा चलिरहेको छ। ब्यवस्थापन र सञ्चाकको एकता राम्रो भएकाले बैंक बलियो छ। अन्य बैंक तथा वित्तीय संस्था कोरोनाकालमा कोठाभित्रै बसेका बेला गरिमाका प्रमुख कार्यकारी गोविन्द ढकाल शाखा-शाखा पुगेर कर्मचारीको मनोबल बलियो बनाउँदै हिँडेका थिए।

कामना सेवा विकास बैंक रणनीतिक रूपमा अगाडि बढेको देखिन्छ। कामना सेवाले एउटा वाणिज्य बैंकको रणनीतिलाई आफ्नो बनाएको छ। एनआइसी एसिया बैंकलाई पछ्याउँदा कामना सेवा बीचमा नोक्सानमा पनि गएको थियो। 

यसले काम गर्नका लागि उच्च व्यवस्थापनमा एनआइसी एसियाकै कर्मचारी लगेको छ। शाखा सञ्जाल बिस्तार पनि एनआइसी एसिया 'स्टाइल' मै तीव्र रूपमा बिस्तार गरेको छ। सानो सानो ऋण दिने र खुद्रा निक्षेप उठाउने यसको रणनीति हो। सबै विकास बैंकहरुभन्दा यसले दुई वटा राम्रो काम गरेको छ- कमर्सियल बैंकिङ फ्लेवर एड। र दोस्रोमा डिजिटल बैंकिङ र आइटीसीमा असाध्यै लक्षित भएर अगाडि बढेको छ।

'थोरै इस्यु छ भने यसमा पुरानो ब्यवस्थापनको इस्यु हो,' यसमै काम गरेर बाहिरिएका एक कर्मचारीले भने। पुरानो कर्मचारीलाई अपग्रेड गरिरहेको छ। तीव्र रूपमा सञ्चालन बिस्तार गर्दा पनि व्यापार बढाउन भने सकेको छैन। 'बोर्डमा अझै पनि एकरूपता आउन सकेको छैन,' ती उच्च व्यवस्थापकले भने, 'कामना समूह र सेवा समूह अझै बाँकी छ। बोर्डमा मतभिन्नता अझै छ। यसले भनेजस्तो नतिजा आउन सकेको छैन।' तर यसले ब्रान्ड बिल्डिङमा भने काम गरिरहेको छ। 

सांग्रिला डेभलपमेन्ट बैंकमा सुयोग श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत भएर गएपछि बैंकिङ प्रक्रियामा निकै सुधार भएको छ। तर मर्जरपछि सञ्चालक समितिमा अझै पनि एकरूपता आउन सकेको छैन। 'त्यसले गर्दा म्यानेजमेन्टले अलिक राम्रोसँग काम गर्न सकिरहेको छैन,' बैंकलाई नजिकबाट नियालेका एक पूर्व प्रमुख कार्यकारीले भने, 'ब्राण्ड बिल्डिङ पनि गर्न सकेको छैन।'

यसमा भार्गव र सांग्रिला ग्रुप भन्ने अझै पनि कायम छ। त्यसैले एकरूपता छैन र अपेक्षित व्यापारमा सुधार हुन सकेको छैन। 'पहिलेभन्दा सुधार छ तर गति लिन सकेको छैन,' ती पूर्व प्रमुख कार्यकारीले भने।

लुम्बिनी विकास बैंक छुट्टै रणनीतिमा छैन। आन्तरिक गन्जागोलमै अलमलिइरहेको छन। यसमा तीन तिरको लडाइ छ। भिवोर, सोसाइटी, लुम्बिनी फाइनान्सको छुट्टाछुट्टै समूहका आ-आफ्ना स्वार्थका कारण बैंकले अपेक्षित गति लिन नसकेको जानकारहरु बताउँछन्।

सोसाइटी भनेको तत्कालिन एचएण्डबी डेभलपमेन्ट बैंक हो। ब्यवस्थापनमा वाणिज्य बैंकहरुकै ब्लड छ। नरेशसिंह बोहोरा गएपछि संस्थागत सुशासनमा सुधार आएको छ। तर उनी व्यापार गर्न सक्ने मान्छे नभएकाले बैंकले अपेक्षित वृद्धि गर्न भने सकेको छैन। उनी धेरैतिर काम गरेका छन्। तर आधुनिक बैंकिङको सवालमा उनी कमजोर नै मानिन्छन्। 

'व्यापार वृद्धि गर्न नसकेको भनेर उनीमाथि सञ्चालक समितिले जतिबेलै प्रश्न उठाइरहेको हुन्छ,' बैंक निकट उच्च स्रोतले भन्यो, 'यसबाहेक बैंकमा पुराना केही समस्याहरु छन्।' गुड  फर पेमेन्ट चेक काण्डको ६० प्रतिशत पैसा उठ्यो। ४० प्रतिशत अझै प्रोभिजनिङ छ। 

महालक्ष्मी विकास बैंकमा मर्जरपछि आकार त बढेको छ तर सिनर्जी आइसकेको छैन। मालिका विकास बैंक गाभेका कारण बैंकमा खुद्रा निक्षेपको स्रोत राम्रो छ। धेरै वटा संस्था गाभिएका कारण सञ्चालक समितिमा एकै मत छैन।

बैंकले रिक्त भएको प्रमुख कार्यकारी नियुक्त गर्नपनि धेरै समय लगाएको थियो। यसमा राजधानी बाहिरका प्रवर्द्धकहरु धेरै छन्। मनकामना विकास बैंकबाट बिग्रिएको ऋणहरु यसको समस्या हो। तर ती सबै नोक्सानी व्यवस्थापन भइसकेका छन्। नयाँ ऋणमा समस्या छैन।

शाइन रेसुंगाको व्यवस्थापन अलि बढी महत्वकांक्षी छ। बुटवल वरपर कारोबारमा रमाइरहेको बैंकले एकै पटक पाँच वटा शाखासहित काठमाडौंमा आफ्नो पाइला जमाएको छ। बुटवल र तम्घासमा यसको व्यापार निकै राम्रो छ।

त्यो क्षेत्रमा वाणिज्य बैंकहरुकोभन्दा पनि राम्रो व्यापार यसले गरिरहेको छ। नेपालगञ्जको भार्गव र भैरहवाको पुर्णिमा विकास बैंकलाई गाभेको छ। एउटै क्षेत्रमा धेरै लगानी भएका कारण जोखिम पनि केन्द्रित भएको छ। केही समय विकास बैंक नै भएर बस्ने रणनीति छ। राम्रो मूल्य पाएमा वाणिज्य बैंकसँग गाभिने बैंकको नयाँ रणनीति हो। 

ज्योति विकासको सञ्चालक समिति जति महत्वकांक्षी हो त्योभन्दा सुस्त व्यवस्थापन छ। तैपनि सञ्चालक समिति विकास बैंकमै रहने रणनीतिमा छ।

अलिकति शाखा बिस्तार र व्यापार वृद्धि गरेर एक नम्बर विकास बैंक हुने रणनीति ज्योतिको हो। यहाँ कमर्सियल बैंकिङ फ्लेवर छ। माथिल्लो व्यवस्थापनमा वाणिज्य बैंकबाट गएका कर्मचारीहरु छन्।