BIZMANDU
www.bizmandu.com

नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय विमानमा अब मोबाइल र इन्टरनेट सुविधा, आन्तरिकमा छैन व्यवस्था

२०७७ चैत्र १८

नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय विमानमा अब मोबाइल र इन्टरनेट सुविधा, आन्तरिकमा छैन व्यवस्था
नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय विमानमा अब मोबाइल र इन्टरनेट सुविधा, आन्तरिकमा छैन व्यवस्था

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाली आकाश भित्र उड्ने विमानका यात्रुहरुले मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा पाउने भएका छन्।

फ्लाइट मोडमा आफ्ना विद्युतीय ग्याजेट्स राखेर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भने एयरलाइन्सहरुले आवश्यक प्रक्रिया पुर्‍याएर विमानभित्रै मोबाइल नेटवर्कमार्फत् कुराकानी र वाइफाइ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको हालैको बोर्ड बैठकले आवश्यक सर्त पूरा गरी अनुमति मागेमा एयरलाइन्सहरुलाई अनुमति दिने निर्णय भएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए। 

'विमानहरु भित्र इन्टरनेट र मोबाइल चलाउने सुविधा इन्स्टल गर्न अब एयरलाइन्सहरुले निवेदन दिन सक्नेछन्। सर्त पूरा गरेको खण्डमा प्राधिकरणले अनुमति दिन्छ,' पौडेलले भने। आन्तरिक उडान भर्ने विमानहरुलाई भने प्राधिकरणले यो सेवा उपलब्ध नगराउने जनाइएको छ। 

अनुमति पाउनका लागि भने एयरलाइन्स अपरेटरहरुले निश्चित सर्तहरु भने पालना गर्नुपर्ने उनले बताए। १० हजार फिटभन्दा माथि उडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाले तोकेका नियम तथा मापदण्डको पालना गर्नुपर्नेलगायतका सर्त पालना गरे प्राधिकरणले सम्बन्धित विमानमा मोबाइल र इन्टरनेटको प्रयोग गर्न अनुमति दिने प्रवक्ता पौडेलले बताए।

विश्वका विभिन्न देशहरुले अहिले मुख्य गरी दुई विधिबाट विमानमा इन्टरनेट सुविधा पुर्‍याइरहेका छन्। ग्राउण्डमा आधारित प्रणाली जुन मोबाइल डेटा नेटवर्क जस्तै हो। टावरहरुले आफूभन्दा माथि सिग्नल फाल्छन्। विमानमा जडान गरिएको एन्टेनाले टावरको सिग्नल समात्ने गर्छ। 

यस्तै, सेटलाइटको माध्यमबाटसमेत विमानहरुमा इन्टरनेट सिग्नल पुर्‍याउने गरिएको छ। विमानको माथिल्लो भागमा जडित एन्टेनाले सेटलाइटको सिग्नल समात्छ। विमानमा द्रुत गतिको इन्टरनेट भने पाउन मुश्किल हुनुका साथै महँगो हुने गर्छ।