BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकले मृत्युमा समवेदना ब्यक्त गरेको मलेसियन नाड्चातिरमको नेपाल कनेक्सन


एनएमबि बैंकले मृत्युमा समवेदना ब्यक्त गरेको मलेसियन नाड्चातिरमको नेपाल कनेक्सन
एनएमबि बैंकले मृत्युमा समवेदना ब्यक्त गरेको मलेसियन नाड्चातिरमको नेपाल कनेक्सन


Tata
GBIME
Nepal Life

काठमाडौं। एक मलेसियन नागरिकको निधनमा शोक ब्यक्त गर्दै गत साता एनएमबि बैंकले समवेदना प्रकाशित गरेको थियो। ७९ वर्षीय जेगा देभन एम नाड्चातिरमको निधनमा बैंकले शोक व्यक्त गरेको थियो। 

उनको निधन गत आइतबार भएको थियो। उनी मलेसियन चर्चित कम्पनी 'यङ लियान रियल्टी एसडीएन बीएचडी मलेसियाका' पूर्वअध्यक्ष पनि थिए। उनकै परिवारका केही सदस्यले सिंगापुरको विकासमा ठूलो योगदान पुर्याएका थिए। 

नाड्चातिरमको हजुरबुबा पुस्ता भने दक्षिण भारतबाट मलेसिया गएका थिए। शिवभक्त नाड्चातिरमको नेपाल कनेक्सन पनि छ। त्यही भएर एनएमबि बैंकले उनको निधनमा शोक व्यक्त गरेको हो।

२१ वर्षअघि नेपाल मर्चेन्ट क्यापिटल (फाइनान्स) खुल्दै थियो। कम्पनीका संस्थापक अध्यक्ष थिए पूर्व अर्थसचिव डा. ठाकुरनाथ पन्त।

फाइनान्स कम्पनी खोल्ने क्रममा पन्तलाई लाग्यो- प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) पनि जुटाउन सकियो भने कम्पनीको प्रोफाइल बढ्छ र प्रतिष्ठित संस्थाका रूपमा स्थापित हुन्छ।

अर्थमन्त्रालयका सचिव भइसकेकाले उनको विदेशी निकायका प्रमुखहरुसँग राम्रै उठबस थियो। उनले विश्व बैंकको नेपाल हेर्ने तत्कालिन प्रमुख जो मानेकाभार्सनसँग आफ्नो चाहना व्यक्त गरे। मानेकाभार्सनले डा. पन्तलाई निकै राम्रो मान्थे।

जोले श्रीलंकन कम्पनीहरुसँग नेपाली वित्तीय क्षेत्रमा लगानी गर्न पहल थाले। एउटा लगानी कम्पनी तयार पनि भयो। तर, सन् १९९६/९७ को आर्थिक मन्दीका कारण त्यो कम्पनी निकै ठूलो नोक्सानीमा थियो। सेयर मूल्य पनि निकै घटेको थियो। त्यो कम्पनी नआउने भयो।

तर, त्योसँगै जोडिएको एक कम्पनी मलेसियामा भेटियो- 'यङ लियान रियल्टी एसडीएन बीएचडी। त्यसको अध्यक्ष थिए नाड्चातिरम, जो दक्षिण भारतीय मुलकै मलेसियन थिए। 

डा. पन्तसँग जो मानेकाभार्सनमार्फत नाड्चातिरमको राम्रो सम्बन्ध बन्यो। त्यसपछि तत्कालिन चुक्ता पुँजी २० करोडको १५ प्रतिशत अर्थात तीन करोड रुपैयाँ नाड्चातिरममार्फत 'यङ लियान रियल्टी एसडीएन बीएचडी मलेसियाको लगानी नेपाल मर्चेन्ट बैंकिङमा भयो।

२० करोडको कम्पनी एक अर्ब हुँदै ८ अर्ब र आजको दिनमा १४ अर्ब ४४ करोड रुपैयाँको भइसकेको छ। पुँजी वृद्धिसँगै नेपाल मर्चेन्ट बैंकिङ पनि वाणिज्य बैंक- एनएमबि भइसकेको छ।

नेपाल मर्चेन्ट बैंकिङ फाइनान्स वाणिज्य बैंक एनएमबि बन्ने क्रममा 'यङ लियान रियल्टी एसडीएन बीएचडी' को हिस्सा भने घट्दै गएको छ। उसलाई एनएमबिमा लगानी गर्ने मन हुँदाहुँदै मलेसिया र नेपालको केन्द्रीय बैंकका कारण उसको सेयर हिस्सा कम हुँदै गएको हो। 

आजको दिनमा एनएमबिमा कम्पनीको सेयर हिस्सा ४.३७ प्रतिशत मात्र छ। सुरुमा सबैभन्दा ठूलो लगानीकर्ता रहेको कम्पनी आज तेस्रो नम्बरमा छ।

'फाइनान्स कम्पनी हुँदा सुरुमा हकप्रद सेयर लगानी भएको हो। पछि मलेसियाको केन्द्रीय बैंकबाट स्वीकृति दिन ढिलाइ हुँदा हकप्रद छुट्यो र लगानी बढाउन चुक भयो,' फाइनान्सदेखि बैंक हुँदासम्म १७ वर्ष प्रमुख कार्यकारी अधिकृत रहेका उपेन्द्र पौडेलले भने, 'यसले गर्दा १५ प्रतिशतको सेयर हिस्सा उनीहरुको ११ प्रतिशतमा झर्यो।'

पछि नेपालको केन्द्रीय बैंकले विदेशी लगानीकर्ताका रूपमा वित्तीय संस्थाको मात्र लगानी स्वीकार गर्ने रणनीति लियो। त्यसपछि मलेसियन कम्पनीले हिस्सा बढाउन पाएन। मर्जर र प्राप्ति हुँदै गएपछि सेयर हिस्सा झन्झनै घट्दै गयो।

***

नाड्चातिरमको परिवार नै वकिल हो भने पनि हुन्छ। उनीहरु त्यहाँका राजको वकिल हुन्। मलेसियामा राजाहरुले आलोपालो शासन गर्छन्। नाड्चातिरमले उपेन्द्रलाई पनि त्यहाँको राजासँग भेट गराइदिएका थिए।

नाड्चातिरम २०२० को फेब्रुअरीमा अन्तिम पटक नेपाल आएका थिए, त्यो पनि उपेन्द्रकी छोरीको विवाहमा। नाड्चातिरमसहित ६/७ जनै विवाहका लागि नेपाल आएका थिए। त्यसपछि कोभिड संसारभर नै फैलियो। नेपाललगायत विभिन्न देशहरुमा लकडाउन नै भयो। लकडाउनपछि नाड्चातिरम नेपाल आएका थिएनन्। तर एनएमबि बैंकका पदाधिकारीका साथै सन् २०१७ मै एनएमबि छाडेका उपेन्द्रसँग नियमित कुराकानीमा थिए। 

उपेन्द्रले बैंक छाडेपछि नाड्चातिरम र उनका साथीहरु कैलाश मानसरोवर घुम्न आएका थिए। उनीहरुले उपेन्द्रलाई पनि सँगै लगेका थिए। नाड्चातिरमले एनएमबिबाट गएका अध्यक्ष हुन् या सञ्चालक वा प्रमुख कार्यकारी र अन्य पदाधिकारी, उनीहरु सबैलाई मलेसियामा आफ्नै निवासमा आतिथ्य गर्थे। 

'उनको निधन हुनु केही समयअघि मात्रै पनि मेरो कुराकानी भएको थियो,' उपेन्द्रले भने, 'के छ भनेर सोधेको- म ह्विलचियरमा छु भनेका थिए। अनि 'उपेन्द्र प्रे फर मी एट पशुपति भने।' 

'ठीक छ, म पशुपतिमा गएर प्रे गर्छु भनेँ,' उपेन्द्रले सुनाए, 'चढाएको रुद्राक्ष र फुलप्रसादहरु मैले हिमालयन एयरलाइन्समा एक जना साथीलाई भनेर उनी भएको ठाउँ मलेसिया पठाएँ पनि।' 

प्रसाद पाएपछि नाड्चातिरम निकै खुसी भए। उनले उपेन्द्रलाई फोन गरेर धन्यवाद पनि भने। 'तर उनले मलाई भनेको अन्तिम शब्दले अहिले कस्तो कस्तो हुन्छ,' उपेन्द्रले सम्झिए, 'उपेन्द्र धेरै धेरै धन्यवाद। तिमीले मेरो दीर्घायुका लागि पशुपतिनाथमा प्रे गरिदियौं। तिमीले पठाएको रुद्राक्ष र प्रसाद पाएँ। आइ लभ यु।'

त्यसपछि उपेन्द्रको कुराकानी हुन पाएन। मार्च १४ को बिहान उपेन्द्रको मोबाइलमा म्यासेज आइरहेको थियो-  'राति १२ बजेर ५० मिनेटमा नाड्चातिरमको निधन भयो।' 

उपेन्द्रका अनुसार, नाड्चातिरम शिवका ठुला भक्त थिए। हिन्दु माइथोलोजीमा धेरैले सुन्दै नसुनेका, निकै कम सुनेका कुराहरु पनि उनलाई थाहा थियो। 'ज्ञानको त अति भण्डार नै थियो,' उपेन्द्रले भने। 

***

एनएमबि बैंकमा लगानी बढाउन नीतिगतरूपमा नसके पनि उनी नेपालमा केही न केही गर्न चाहन्थे। 'म अवकाशपछि पनि उसले लगानी गर्छु तिमी हेर भनेर धेरै पटक भने। तर हाम्रोमा बाहिरबाट लगानी ल्याउन त्यति सजिलो पनि छैन,' उपेन्द्रले भने। 

तर, उनको रुचि एनएमबि बैंकमै थियो। उनी जसरी पनि एनएमबिमा लगानी बढाउन चाहन्थे। 'कुनै नीतिगत उपाय पो गर्न सकिन्छ कि वा इन्भेष्टमेन्ट कम्पनी खोलेर नै भएपनि लगानी गर्न मिल्छ कि भनेर उनले धेरै नै रुचि लिएका थिए,' उपेन्द्रले भने, 'तर हाम्रोमा गाह्रो छ।'

उनले अति नै गरेपछि उपेन्द्रले राष्ट्र बैंकसँग पनि कुराकानी गरिदिएका थिए। त्यसबेला उपेन्द्र बैंकर्स संघको अध्यक्ष पनि थिए। कुनै उपाय नलागेपछि उनको थप लगानी गर्ने योजना त्यसै तुहियो।

बीचमा राष्ट्र बैंकले वित्तीय क्षेत्रबाहेक अन्यले बैंकहरुमा लगानी गर्न नपाउने नीति ल्यायो। त्यो नीतिका कारण मलेसियन कम्पनी बाहिरिनुपर्ने अवस्थासम्म आएको थियो। त्यसबेला भने नाड्चातिरम निकै निरास भएका थिए। चित्त पनि दुखाए।

'उपेन्द्र यो मेरो लगानी भनेको एकदमै मुटुबाट गरेको लगानी हो। डा. पन्त र जोले भनेर लगानी गरेका कारण यो मेरो बाइहार्ट लगानी हो,' नाड्चातिरमले भनेको सम्झिँदै उपेन्द्रले भने, 'पछि आएको लगानी फिर्ता गर्नु नपर्ने भयो। तर त्यसबेला उनी निक्कै निरास थिए।' 

नाड्चातिरमको कम्पनीबाट केही समय एनएमबिको सञ्चालक समितिमा पनि प्रतिनिधित्व हुन्थ्यो। नाड्चातिरम आफैं पनि सञ्चालक भएका थिए। 

तर मर्जरपछि उनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गराउन छाडियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले सञ्चालकको संख्या नौबाट सात जनामा  झर्यो। मर्जरपछि होल्डिङ पनि घट्यो। सात जनाको बोर्डमा ठूलो सेयरधनी एफएमओ आउनै पर्यो। दोस्रो ठूलो लगानीकर्ता सञ्चय कोष पनि बस्नै पर्यो। एक जना स्थानीय प्रवर्द्धक पनि चाहियो। त्यसपछि उपेन्द्रहरुले नै नाड्चातिरमलाई सञ्चालक समिति दाबी नगर्न मनाए।

नाड्चातिरमको मलेसियाबाहेक श्रीलंकामा पनि लगानी छ। नेपालमा लगानी बढाउन चाहँदा चाहँदै पनि सम्भव भएन। उनको प्रमुख लगानी रियलस्टेट र सेयर बजारमै थियो।