BIZMANDU
www.bizmandu.com

आर्थिक गतिविधिले लय समात्यो, राजस्व संकलनको लक्ष्य नाघेपछि अर्थतन्त्र ‘भी’ सेपमा सुध्रने दाबी

२०७७ चैत्र १

GBIME
Tata

काठमाडौं। कोभिडपछि आर्थिक गतिविधिले गति लिन थालेको छ। यसको प्रभाव सरकारको राजस्व संकलनमा पनि देखिँदै गएको छ ।कोभिड-१९ को लामो असरपछि अर्थतन्त्रले पुरानै लय समात्न थाल्दा सरकारको राजस्व संकलन पनि बढ्न थालेको हो।

चालु आर्थिक वर्षको पहिलो आठ महिना सकिँदा उपभोगको दर पुनः फुक्दै जाँदा आयातमा सुधार भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा पनि यसबीच ऋणको माग र प्रवाह राम्रो देखियो । सेयर बजारमा लगानी गर्नेहरुको भीड बढ्दा धितोपत्र बजार लगातार उकालो लाग्नुका साथै यसको सकारात्मक प्रभाव घरजग्गा कारोबारमा पनि परेको छ । दैनिक जग्गा किनबेचको दर कोभिडपूर्व वा लकडाउनअघिको भन्दा पनि उत्साहजनक बनेको छ यसबीच।

सार्वजनिक सवारीमा कोभिडको जोखिमका कारण निजी सवारीसाधनहरुको माग र बिक्री पनि कोभिडकै बीच पनि उल्लेख्य देखियो । अझ दुईपाङ्ग्रे सवारीसाधनको बिक्री पछिल्लो एक वर्षमा अभूतपूर्व  रह्यो ।

आन्तरिक बजारमा अन्य वस्तु तथा सेवाको व्यापार व्यवसाय पनि कोभिड कहरबाट बाहिर आउँदै गएपछि आर्थिक गतिविधिहरु बढेको छ ।  

यी सबै आर्थिक क्रियाकलापहरुमा सुधार हुँदा सरकारको राजस्व संकलनमा उल्लेख्य सुधार हुँदै गएको छ । सरकारको राजस्व संकलन गर्ने दुई मुख्य निकायले फागुन महिनामा लक्ष्यभन्दा धेरै राजस्व संकलन गरेको छ। 

चालू वर्षको पाँच हिनासम्म गत वर्षको तुलनामा आयात निरन्तर ओरालो लागिरहेको थियो। तर पछिल्लो तीन महिनामा आयात गत वर्षकै हाराहारीमा पुगिसकेको छ। विशेषगरी कोभिडपछि नेपाली बजारमा मोटरसाइकलको अत्याधिक माग भएको थियो। यस्तै अन्य विलासी सवारीहरुको पनि आयात बढ्न थालेको छ। यस्तै, अर्को विलासी वस्तुको रुपमा चिनिने सुन आयातमा पनि वृद्धि भइरहेको छ । यसका बाबजुद बजारको माग अनुसार सुन नपाएको गुनासो सुनचाँदी व्यावसायी गर्दै आएका छन्। 

भन्सार विभागले फागुन महिनामा ४१ अर्ब ९० करोड रुपैयाँ भन्सार महसुल संकलन गरेको छ। यो महिना विभागले ३५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। आयातको ग्राफ उकालो लाग्दा भन्सार महसुल संकलन लक्ष्यभन्दा करिब ७ अर्ब बढी संकलन भएको हो।

तर आठ महिनासम्मको कुल लक्ष्यमा भने विभाग १० अर्बले पछि परेको छ। यस अवधिमा भन्सार महसुल २ खर्ब ९० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको विभागले २ खर्ब ८० अर्ब संकलन गरेको छ। यद्यपि पछिल्ला महिनामा राजस्व संकलन बढ्दै गएकाले बाँकी चार महिनामा लक्ष्य पूरा हुने विभागले जनाएको छ। 

आन्तरिक राजस्व लक्ष्यभन्दा ८ अर्ब बढी

राजस्व संकलन गर्ने अर्को निकाय आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा ८ अर्ब बढी राजस्व संकलन गरेको छ। फागुन महिनामा विभागले २२ अर्ब २९ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३० अर्ब २९ करोड राजस्व उठेको हो। चालू वर्षको सुरुआती महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेपनि पछिल्लो तीन महिनामा लक्ष्यभन्दा धेरै राजस्व उठाइरहेको छ। फागुन महिनामा विभागले आयकर लक्ष्यभन्दा ५ अर्ब बढी संकलन गरेको छ।

यो महिनामा ७ अर्ब २  करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा १२ अर्ब १८ करोड संकलन भएको छ। यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यभन्दा धेरै संकलन भएको छ। यो महिना ७ अर्ब २९ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ९ अर्ब २० करोड उठेको छ।

यसैगरी, अन्तःशुल्कमा भने लक्ष्य भेट्न सकेको छैन। ७ अर्ब राजस्व संकलनको लक्ष्य राखेको यो शिर्षकमा ६ अर्ब ६१ करोड मात्रै उठेको छ।विभागले आठ महिनामा २ खर्ब ५५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा यो अवधिमा २ खर्ब ५३ अर्ब संकलन गरेको छ।

चालू वर्षमा ठूला करदलाताहरुले गत वर्षको तुलनामा निकै कम राजस्व तिरेको विभागले जनाएको छ। ठूला कम्पनीहरुले अग्रिम रुपमा तिर्नुपर्ने नाफा वापतको कर गत वर्षको तुलनामा कम बुझाइरहेका छन्। यस्तै, चैत महिनामा बुझाउने दोस्रो किस्ता वापतको रकम पनि लक्ष्यअनुसार ठूला करदाताबाट राजस्व संकलन नहुने विभागको अनुमान छ। 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आठ महिनामा कुल ६ खर्ब ९ अर्ब प्राप्ति गरेको छ। यो कुल प्राप्तिको करिब ५७ प्रतिशत हो ।

आर्थिक वृद्धि 'भी सेप' मा सुधार हुने दाबी

आयात वृद्धिसँगै आर्थिक गतिविधिहरु बढ्दै गएको देखिएपछि सरकारले अर्थतन्त्रको पुनरावृत्ती अंग्रेजी अक्षर 'भी' आकारमा हुने दाबी गर्न थालेको छ । जबकि चालु वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धि ४.६ प्रतिशतले ऋणात्मक रहेको तथ्यांक पछिल्लो साता मात्र केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छ । यसरी आवका सुरुआती तीन महिना ऋणात्मक देखिएको आर्थिक वृद्धिदर यसपछि भने क्रमशः 'भी सेप' मा उकालो लाग्न् हुने दाबी सरकारी निकायले गरेको हो।