BIZMANDU
www.bizmandu.com

पुस्तैनी मिठाइ पसल अघि बढाउँदै वीरगंजका तीन दाजुभाइ, खुल्यो अनमोलको तेस्रो आउटलेट

२०७७ फागुन १८

Tata
GBIME
Nepal Life

वीरगंज। एक जना मिठाइ पसलेका तीन छोराहरुले पुस्तैनी व्यवसायलाई नयाँ स्वरुपका साथ अघि बढाएका छन्।

वीरगंज-२ छपकैयाका रामजी साह सोनारका छोरा ३८ वर्षका पप्पु सर्राफ, ३३ वर्षीय निपु सर्राफ र २८ वर्षीय दिपु सर्राफ मिलेर पुस्तैनी मिठाई व्यवसायलाई 'अनमोल स्विट्स' नाम दिएर नयाँ रूपमा अघि बढाएका हुन्।

दुई साताअघि आदर्शनगर चोक नजिकै अनमोलको तेस्रो आउटलेटका रूपमा सुविधासम्पन्न मिठाइ पसल सञ्चालनमा आएको छ।

उनीहरुले १४ वर्षअघि हेटौंडाको टीसीएन रोडमा अनमोल स्विट्स खोलेका थिए। वीरगंजको वीपीसी कलेजमा एमबीए अध्ययन पूरा गरेका तीन दाजुभाइमध्ये शुरुमा माइला निपुले करीब ५० लाखको लगानीमा हेटौंडामा अनमोल स्विट्स खोले।

मधेस आन्दोलन र नाकाबन्दीको समयमा वीरगंजमा उद्योग व्यवसाय गर्न समस्या भएको भन्दै कतिपय व्यवसायी, व्यापारी समुदायका नयाँ पुस्ताहरु काठमाडौं, बुटवल, विराटनगर, दिल्ली, गुजरात र राजस्थानमा स्थानान्तरण भइरहेको अवस्थामा उनीहरुले भने पुस्तौनी पेसालाई नै आधुनिक रूपमा अघि बढाएका हुन्।

उनीहरुले होटल सूर्यांश र रफ एन्ड टप रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याए। अनमोल स्विट्स सँगसँगै सुविधा सम्पन्न दुई वटा हल र २० कोठाको सात तले होटल सञ्चालनमा आएपछि उनीहरुलाई थप दूधको आवश्यकता पर्‍यो।

त्यसपछि हेटौंडामा उनले करिब सय वटा गाईपालन गरेर अनमोल एग्रो शुरु गरेको निपु बताउँछन् । बुवाले अलखियामठ नजिक अलख स्विट्सबाट शुरु गरेको मिठाइ व्यवसायलाई आधुनिक किसिमले वीरगंज बाहिर पहिचान बनाउन थालेपछि आठ वर्षअघि वीरगंजको महावीर स्थानमा अनमोल स्विट्स सञ्चालन गर्दा सर्राफ परिवार निकै खुशी थियो।

होटल व्यवसाय तथा तीन वटा मिठाइ पसल र डेरी गरी हालसम्म करीब १२ करोडको पुँजी लगानी भइसकेको उनीहरुको भनाइ छ।

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई आफ्नै देशमा केही गरेर स्थापित हुन सकिन्छ भन्ने प्रेरणा सरार्फ परिवारले दिएको स्थानीयवासी बताउँछन्।

'हामीले शुरुमा बुवाको सानो पसललाई हेटौंडामा बिस्तार गरेर अगाडि बढाउन खोज्यौं, तीनै जना दाजुभाइले मेहनत गर्छौ । ९० जनालाई स्वदेशमा रोजगारी दिएका छौं। मनग्य आम्दानी पनि भइरहेको छ,' निपु भन्छन्, 'आफ्नो देशमा केही गर्न नसक्ने सोच राख्ने युवाहरुलाई नेपालमै प्रचुर सम्भावना छ भन्ने सन्देश पनि हो हाम्रो काम। सही समयमा निर्णय गरेर केही गर्नुपर्छ।'

हेटौंडाको डेरीमा घाटा लागेपछि अहिले २० वटा मात्र गाईपालन गरिएको छ भने दैनिक ३ सय लिटर दूधको आवश्यकता रहेको उनले बताए।

आफ्नो डेरीबाट डेढ सय लिटर र बाहिरबाट डेढ सय लिटर दूध खरिद गरेर मिठाइको विभिन्न परिकारहरु बिक्री गर्ने गरेको उनले जानकारी दिए।

अनमोल स्विट्सका आउटलेट शुद्ध शाकाहारी भएकाले माछामासु नखानेका लागि उचित गन्तव्य पनि हो।

अनमोलले आगामी दिनमा प्रदेश २ का अन्य जिल्ला र काठमाडौंमा पनि पसल बिस्तार गर्ने लक्ष्य राखेको उनीहरुले बताएका छन्।