BIZMANDU
www.bizmandu.com

निरञ्जन टिबरेवाल भन्छन्, ‘अफवाहले सेयर बजार घटेको हो, अहिलेको राजनीतिक परिवर्तनले राम्रो गर्छ’

२०७७ फागुन १६

निरञ्जन टिबरेवाल भन्छन्, ‘अफवाहले सेयर बजार घटेको हो, अहिलेको राजनीतिक परिवर्तनले राम्रो गर्छ’
निरञ्जन टिबरेवाल भन्छन्, ‘अफवाहले सेयर बजार घटेको हो, अहिलेको राजनीतिक परिवर्तनले राम्रो गर्छ’


Tata
GBIME
Nepal Life

अहिले बजार घट्ने दीर्घकालिन कारण केही पनि छैनन्। अझ भनौं बजार घट्ने कुनै कारण नै देखिंदैन। बजारमा कहिलेकाहीं अफवाहले पनि काम गर्छ। अहिले भएको त्यही हो – अफवाहले गर्दा बजारमा करेक्सन आएको देखिन्छ।

अहिलेको राजनीतिक संक्रमणले निकास पाउँदा सरकारमा लोकतान्त्रिक शक्तिहरुको सहभागिता करिब पक्का जस्तै छ। वामपन्थीभन्दा लोकतान्त्रिक शक्तिहरु निजीक्षेत्र र अर्थतन्त्रप्रति सकारात्मक मानिंदै आएका छन्। यसैले सरकारमा उनीहरुको आगमन सेयर बजारका लागि अझ राम्रो हुनेछ । 

यस्तै, अहिले कोरोनाको भ्याक्सिन आइसकेपछि पर्यटन क्षेत्रका गतिविधिहरु सुरु हुन थालेका छन्। यो क्षेत्र बुम हुँदा मात्रै पनि यसले अर्थतन्त्रमा निकै ठूलो सहयोग पुग्छ।

अहिले निजीक्षेत्रका राम्राराम्रा कम्पनीहरु पनि सर्वसाधारणमा सेयर जारी गरेर धितोपत्र बजार (नेप्से) मा आउने तयारी गरिरहेका छन्। राम्रो कम्पनीको प्राथमिक सेयर आउँदा उनीहरुले प्रिमियम पनि संकलन गर्छन्। उक्त प्रिमियमलाई रिजर्भमा राखेर अर्को क्षेत्रमा लगानी गर्छन्। उक्त लगानी पनि बजारमा आउँदा अर्थतन्त्रमा सकारात्मक प्रभाव सिर्जना गर्न मद्दत पुग्छ ।

एउटा सामान्य व्यक्तिले उद्योगधन्दामा लगानी गर्न सक्दैन। तर एउटा उद्योगको सेयरमा सानो-सानो रकम लगानी गरेर ऊ उक्त उद्योगले दिने प्रतिफलको हिस्सेदार बन्न भने सक्छ। 

अहिले दैनिक १० अर्ब रुपैयाँ हाराहारीमा कारोबार हुनुमा अनलाइन प्रणालीको ठूलो भूमिका छ। तर अझैपनि धेरै लागनीकर्ताहरु दोस्रो बजारमा आउन सकेका छैनन्। करिब ३० लाख डिम्याट खाता हुँदा पनि ब्रोकर खाता खोल्नेको संख्या तीन-चार लाख मात्रै छ। थप यति नै संख्यामा लगानीकर्ता थपिए भने दैनिक कारोबार रकम अहिलेको भन्दा डेढदेखि दुई गुणा बढी पुग्छ।

यस्तै, नेपाल लगानीका लागि भर्जिन ल्याण्ड हो। यहाँ जुनसुकै क्षेत्रमा लगानी गर्दा पनि लगानीकर्ताले नाफा गर्न सक्छ। तर कुनैपनि क्षेत्रमा लगानी आकर्षित गर्नका लागि निजी क्षेत्रप्रति उदार सरकार चाहिन्छ। अब बन्ने सरकारमा लोकतान्त्रिक राजनीतिक दलको सहभागिता हुन्छ। मिलिजुली सरकार हुन्छ। एकले अर्कोलाई पूरै निषेध गरेर सरकार चलाउँदैनन्। त्यसो हुँदा निजी क्षेत्रका मागहरु पनि सरकारले सुन्छ।

अहिले व्यापारदेखि शिक्षा, स्वास्थ्यसम्मको शैलीमा परिवर्तन भएको छ। गाउँगाउँमा वित्तीय शिक्षा पुगेको छ। किराना पसल गर्नेहरुले मिनि डिपार्टमेन्ट स्टोर अर्थात् 'मार्ट' संचालन गरेका छन्। अक्षर मात्रै चिन्ने नेपालीहरु आइपीओ परेपछि आफ्नो लगानी कसरी बढ्छ भनेर जान्ने भएका छन्। यी भनेका बजारको लागि राम्रो संकेत हुन्।

तर लगानी गर्नुभन्दा पहिले धेरै अध्ययन गर्न भने आवश्यक छ। अध्ययन नगरी लगानी गर्नेहरुले बजार एक हजार विन्दुमा हुँदा पनि कमाउन सकेनन्। अध्ययन गरेर लगानी गर्नेहरुले बजार २६ सयमा हुँदा लगानी गरेर पनि गुमाउँदैनन्। त्यसैले लगानी गर्नुभन्दा पहिला अध्ययन गर्न भने जरुरी छ।