BIZMANDU
www.bizmandu.com

एनसेल एपको नयाँ संस्करण सार्वजनिक, डाउनलोड गर्ने नयाँ ग्राहकले १ जीबी डेटा निशुल्क पाउने

२०७७ फागुन ११

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले सोमबारदेखि थप सुविधासहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको छ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्ने कम्पनीले जनाएको छ।

सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न सेवा लिनुका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्छन्।

नयाँ संस्करण संचालनमा ल्याएको अवसरमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क दिने पनि बताएको छ।

नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको जारी बिज्ञप्तिमा जनाइएको छ।

कम्पनीका अनुसार एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन्। ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्ने कम्पनीले जानकारी दिएको छ।  

यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ समेत गर्न सक्ने बताइएको छ। यसमा सहजरूपमा सेवा खरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधा पनि रहेको छ।

यस नयाँ संस्करणमा ग्राहकले आफूलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधा पनि छ र यूएसएसडी कोडको प्रयोग नै नगरी सेवाहरु सुचारु गर्न सक्छन्।

एनसेलका ग्राहकले गुगल प्ले स्टोर र एप्पलको एप स्टोरमा गई नयाँ संस्करणको एनसेल एप आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ।