BIZMANDU
www.bizmandu.com

सिएनआइले सुरु गर्‍यो मेक इन नेपाल अभियान, हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने

२०७७ फागुन ११

सिएनआइले सुरु गर्‍यो मेक इन नेपाल अभियान, हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने
सिएनआइले सुरु गर्‍यो मेक इन नेपाल अभियान, हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याउने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग परिसंघले महत्वाकांक्षी लक्ष्य राख्दै स्वदेशी वस्तु तथा सेवा प्रवर्द्धनका लागि मेक इन नेपाल अभियान सुरु गरेको छ।

हरेक वर्ष एक हजार उद्योग संचालनमा ल्याएर डेढ लाख रोजगारी दिने उद्देश्य राखेर यो परिसंघले यो अभियान थालेको हो। विगतमा पनि परिसंघले दोहोरो अंकको आर्थिक वृद्धिदरको बहस चलाएको थियो। विभिन्न अर्थविद्हरुलाई तयार पारेको अभियान परिसंघले सुरु गरिसकेको छ। यो अभियानमा सरकारको समेत साथ रहेको परिसंघको जिकिर छ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन अभियान थालेको बताए। उनले सरकारको सहमति र सहकार्यमा संचालन गरिने यस अभियानले मुलुकको औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउने जिकिर गरे।

‘मुलुकको उद्योग व्यवसाय कोभिड–१९ को कारण प्रतिकूल अवस्थामा छ। कतिपय उद्योग बन्द भएका छन् भने संचालनमा रहेका उद्योग पनि ५० प्रतिशत क्षमतामा चलेका छन्। यस्तो प्रतिकुल अवस्थामा सरकार र निजी क्षेत्र दुवैले यो महामारीबाट रोजगारी र व्यवसाय बचाउन  प्रयासरत् छौं,’ मोरले भने, ‘यो कठिन परिस्थितिमा स्वदेशी उत्पादनको उपभोग बढाउन लक्ष्यसहित यो अभियान थालेका हौं।’

अभियानले कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत योगदान दिने महत्वाकांक्षी लक्ष्य समेत राखेको छ। अभियानले २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्‍याउने लक्ष्य समेत राखेको छ। यो अभियानको नारा हाम्रो सामान हाम्रै अभियान राखिएको छ। मुख्य सचिव शंकरदास वैरागीले स्वदेशी वस्तु प्रवर्द्धनका लागि थालिएको अभियानले अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

परिसंघका  प्रमुख  आर्थिक  सल्लाकार डा. विश्व पौडेलले व्यवसायमैत्री वातावरण, आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन गर्न सकेमा अभियान सफल हुने बताए। उनले पाँच वर्षको अवधिमा डुइङ बिजनेस इन्डेक्स ३०औं स्थानमाथि उक्लने लक्ष्य राखेको बताउँदै नेपाली वस्तु तथा सेवा उपभोगका लागि सरकारले समेत सहयोग गर्नुपर्ने बताए।

परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपाली वस्तु तथा सेवालाई प्राथमिकता दिने गरी अभियान थालिएको बताउँदै स्वदेशी वस्तु तथा सेवा विश्वस्तरीय रहेको समेत जिकिर गरे। ‘नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी छैन। मात्रै उपभोक्ताको सोचमा परिवर्तन आवश्यक छ,’ उनले भने। परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले  परिसंघले आयात प्रतिस्थापन गरेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिन अभियान ल्याएको बताए।

‘हामीले एउटा महान अभियान थालेका छौं। जसको उद्देश्य स्वदेशी र अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आफ्नो उत्पादन र लगानी नेपालमै गर्न प्रोत्साहित गर्नु हो,’ अग्रवालले भने, ‘अभियानले नेपाललाई उत्पादनको केन्द्र बनाउनेछ, विदेशी लगानीलाई आकर्षित गर्नेछ र लाखौं रोजगारी सिर्जना गर्नेछ, नेपालमा व्यवसाय गर्न सहज बनाउने र नेपालको अर्थतन्त्र विस्तार र वृद्धिका लागि यो महत्वपूर्ण साबित हुनेछ।’

महत्वाकांक्षी लक्ष्य

राजनीतिक प्रतिकूलता, पूर्वाधार अभाव र नीतिगत अवरोधले तत्कालका लागि परिसंघले राखेको लक्ष्य प्राप्त हुने देखिन्न। अझ स्वदेशी वस्तुप्रति उपभोक्तालाई आकर्षित गर्न कठिन छ।

सरकारले विगत केही वर्षदेखि स्वदेशी वस्तु प्रयोगका लागि महँगो भए पनि किन्ने निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन। यी सबै कारणले परिसंघको लक्ष्य महत्वाकांक्षी देखिन्छ। 'अर्थशास्त्रीले डेटा खेलाएर लक्ष्य प्राप्त हुने देखाएका छन्। सरकारले बजेटमा राखेको जस्तै लक्ष्य राख्नु भन्दा स्वदेशी वस्तु प्रवर्द्धनका लागि एग्रेसिभ योजना बनाउनुपर्थ्यो,' परिसंघकै एक पदाधिकारीले भने, 'सस्तो लोकप्रियताका लागि जीडीपीदेखि रोजगारीसम्मका योजना समेटेर अभियानलाई सस्तो बनाउन खोजिएको जस्तो देखिन्छ।'