BIZMANDU
www.bizmandu.com

तातोपानी नाका पुनः संचालनमा, भन्सारमा नयाँ व्यवस्था सुरु, अब दिनमा २० वटासम्म कन्टेनर भित्रिने

२०७७ फागुन १०

तातोपानी नाका पुनः संचालनमा, भन्सारमा नयाँ व्यवस्था सुरु, अब दिनमा २० वटासम्म कन्टेनर भित्रिने
तातोपानी नाका पुनः संचालनमा, भन्सारमा नयाँ व्यवस्था सुरु, अब दिनमा २० वटासम्म कन्टेनर भित्रिने

Tata
GBIME
Nepal Life

काठमाडौं । चिनियाँ नयाँ वर्षको समयमा बन्द भएको तातोपानी नाका १० दिनपछि पुनः संचालनमा आएको छ ।

नाका संचालनमा आएसँगै आजैदेखि तातोपानी भन्सारमा नयाँ व्यवस्था समेत गरेको बताइएको छ । जसअनुसार अब तातोपानी भन्सारको वार्डमा सामान राख्न मिल्ने व्यवस्था भएको हो । यो व्यवस्था भएसँगै चिनियाँ पक्षले त्यहीअनुरुप सामान पठाउने भएका छन्।

नयाँ व्यवस्थापछि तातोपानी नाकामा अबदेखि सिन्डिकेट लागु नहुने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीको भनाइ छ । साथै, अब दैनिक यस नाकाबाट १६ देखि २० वटासम्म नेपाली कन्टेनर भित्रिन सक्ने उनले बताए । 

१० दिनपछि खुलेको यस नाकाबाट सोमबार भने नेपाली व्यपारीले आयात गरेका फलफूलका आठवटा कन्टेनर भित्रिएका छन् । जसमध्ये ६ वटामा स्याउ र दुइटामा ओखर रहेको खत्रीले जानकारी दिए ।

यसअघि कोभिडको कारण देखाउँदै चिनियाँ पक्षले तातोपानी नाकाबाट दिनमा पाँचदेखि १८ वटासम्म कन्टेनर पास हुन दिइरहेको थियो । अहिले भन्सारमा पुरानो कन्टेनर नभएकाले व्यवसायीहरुले आश्यकताअनुसार ठूलो परिमाणमा सामान आयात गर्न सक्ने  खत्रीको भनाइ छ ।

चिनियाँ कामदारहरु नयाँ वर्ष मनाउनका लागि घर गएपछि यस नाकाबाट १० दिनदेखि सामान भित्रिएको थिएन । उनीहरु नयाँ वर्ष मनाएर फर्किएपछि नाका सुचारु हुनुका साथै चिनियाँ सामानको कारोबार पनि सुरु भएको छ । तर कामदार बिदामा गएका कारण नाका बन्द भएपनि भन्सार भने खुल्ला नै थियो ।

नाकामा वर्षदिनदेखि रोकिएका सामानहरु भन्सारमा ल्याएर मात्र चिनियाँ नयाँ वर्षका दौरान नाका बन्द गरिएको थियो । त्यसअघि माघ महिनामा मितेरी पुल निर्माणका लागि भन्दै नाका २० दिनका लागि बन्द भएको थियो । पुल बनिसकेर संचालनमा आएको एक साता नबित्दै चिनियाँ नयाँ वर्ष सुरु भएपछि तातोपानी नाकाबाट सामान आउन बन्द भएको थियो।

केरुङ नाकाबाट भने मंगलबारदेखि सामान पठाउने सुरु हुने जानकारी चिनियाँ पक्षबाट आएको रसुवा भन्सार कार्यलयका प्रमुख राम प्रसाद रेग्मीले बताए । केरुङमा पुरानो कन्टेनरहरु नभएकाले सामान नआएको उनको भनाइ छ । मंगलबारदेखि लाह्सातर्फ भएको सामान भने आउन थाल्ने बताइएको छ ।

यद्यपि, दैनिक के कति कन्टेनर पास हुन्छ भन्ने चिनियाँ पक्षले कुनै जानकारी नदिएको रेग्मी बताउँछन् । 'केरुङ नाकाबाट २३ तारिखबाट सामान पठाउन थाल्ने भनेका छन् । यसबाहेक थप जानकारी दिएका छैनन्,' उनले भने ।