BIZMANDU
www.bizmandu.com

बौरिएन कोभिडले थलिएको हेलिकप्टरको व्यापार, दिनमा मुस्किलले दुई फ्लाइट, संचालन खर्चसमेत धानिएन


बौरिएन कोभिडले थलिएको  हेलिकप्टरको व्यापार, दिनमा मुस्किलले दुई फ्लाइट, संचालन खर्चसमेत धानिएन
बौरिएन कोभिडले थलिएको हेलिकप्टरको व्यापार, दिनमा मुस्किलले दुई फ्लाइट, संचालन खर्चसमेत धानिएन

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिडले पर्यटन क्षेत्र थला परेसँगै पिल्सिएको आन्तरिक वायुसेवा विस्तारै लयमा आउँदै गरेको भए पनि रोटर विङ्स (हेलिकप्टर) कम्पनीहरु भने टिक्नै मुस्किल अवस्थामा छन् ।

२०७६ चैत ११ बाट बन्द आन्तरिक उडानको नियमित संचालन गत असोज ५ बाट सुरु भएको थियो। नियमित उडान सुरु भए पनि धेरैजसो वायुसेवा कम्पनीले इन्धनमा हुने ठूलो खर्च बचाएर संचालन लागत नै कम गर्न फ्लिट (जहाज) संख्या नै घटाएका समेत थिए। 

यसका बाबजुद यात्रु बोक्न पाउन थालेपछि सुगम गन्तव्यमा उडान गर्दै आएका फिक्स्ड विङ्स वायुसेवाको बिजनेस विस्तारै संकटबाट बाहिर निस्कँदै छ। तर, स्टल (दुर्गम) रुटको हवाई सेवा केन्द्रित कम्पनीहरु भने धरमर अवस्थामा रहेको सम्बन्धित कम्पनीहरुले बताएका छन्। यसबाट हेलिकप्टर कम्पनीहरु नराम्ररी पीडित भएका छन्।

प्रायः विदेशी पर्यटकमा निर्भर रहँदै आएकाले पनि स्टल रुट केन्द्रित हेलिकप्टर कम्पनीहरु तत्काल सामान्य अवस्थामा आउने सम्भावना नरहेको पाइएको छ। 

अन्तर्राष्ट्रिय पर्यटन अझै पनि कोभिड प्रभावबाट पूर्णरूपमा बाहिर आउन नसकेकाले पर्यटकीय सिजन नजिकिए पनि अहिलेसम्म विदेशी पर्यटकको नेपाल आवागमन बढ्ने संकेत देखिएको छैन। अर्कोतर्फ दुर्गममा सामान ढुवानी (कार्गो) सेवाबाट पनि बिजनेस गर्दै आएका हेलिकप्टर कम्पनीहरुमा अहिले पहिलेजस्तो सामान ढुवानीको चाप पनि छैन। 

खासगरी यी दुई कारणले हेलिकप्टर कम्पनीहरु संकटमा देखिएका छन्। यसबाट व्यवसायलाई जोगाउन हेलिकप्टर कम्पनीहरुले आन्तरिक पर्यटक लक्षित गरेर विभिन्न भ्रमण प्याकेजहरु ल्याएका भए पनि त्यो संचालन खर्च धान्नका लागि पनि पर्याप्त नभएको सम्बन्धित कम्पनीहरुले जनाएका छन्। 

'अहिले विदेशी पर्यटक आएका छैनन्। पर्यटक नै नभएपछि सामान ढुवानीको माग हुने कुरै भएन,' अल्टिच्युट एयरका बजार प्रबन्धक सिताराम सापकोटाले भने, 'फाट्टफुट्ट आन्तरिक पर्यटकका लागि माउन्टेन फ्लाइट, रेस्कयु फ्लाइट लगायत मात्र भइरहेको छ। तर यसबाट टिक्न सक्ने अवस्था छैन।'

पोहोर सामान्य अवस्थामा एउटा फ्लाइटको भाडा १८ सयदेखि दुई हजार डलरसम्म लिँदै आएकोमा अहिले एक हजार डलरभन्दा कम लिएर उडान गरिरहेकाले टिक्न मुस्किल रहेको उनको भनाइ छ। 
 

दिनमा मुस्किलले दुईवटा फ्लाइट
कोभिडअघिको सामान्य अवस्थामा हरेक हेलिकप्टर कम्पनीले एक दिनमै १० देखि १२ वटा फ्लाइट गर्दथे। तर अहिले दिनमा दुई पटक हेलिकप्टर उडाउने अवस्था अधिकांश कम्पनीको बिरलै छ।

एयरबसको दुई वटा हेलिकोप्टर संचालन गरिरहेको अल्टिच्युटले यतिखेर दैनिक एउटा मात्र हेलिकप्टर उडाइरहेको बताइएको छ। प्रभु हेलिकप्टरले पनि दिनमा एकदेखि बढीमा दुइटा मात्र फ्लाइट गरिरहेको कम्पनीका उपमहाप्रबन्धक नोबलकुमार राजलावतले बताए। 

हेली एभरेस्टका निर्देशक योगराज कँडेल शर्माका अनुसार यस कम्पनीले पनि अहिले दैनिक बढीमा दुईवटा मात्र उडान गर्दै आएको छ। मनाङ एयरले पनि पछिल्लो समय दैनिक बढीमा दुईवटा उडान गर्दै आएको कम्पनीका कर्पोरेट सेफ्टी म्यानेजर राजु न्यौपानेले बताए। 

हाल नेपालमा १० हेलिकप्टर कम्पनी सञ्चालित छन्। यी कम्पनीसँग ३५ वटा हेलिकोप्टर छन्। तर कोभिडका कारण पर्यटन क्षेत्र सर्वाधिक प्रभावित भएकाले कतिपय कम्पनीहरु आंशिकरूपमा सञ्चालित छन् भने केहीले तत्कालका लागि सेवा बन्द गरेको अवस्था छ।

प्रायः अन्य हेलिकप्टर कम्पनीहरुको पनि अवस्था यस्तै छ। यसमा पनि कतिपय कम्पनीको आन्तरिक पर्यटकलक्षित भ्रमण प्याकेजको उडान रहेको छ।
 

आन्तरिक पर्यटकको भरमा टिक्नै गाह्रो

आन्तरिक पर्यटकको भरमा मात्र हेलिकोप्टर व्यवसाय सामान्य अवस्थामा आउने सम्भावना नै नरहेको अल्टिच्युटका सापकोटा बताउँछन्। 'अहिले प्याकेज ल्याएर हेलिकप्टर संचालन गर्नु भनेको बिरामीलाई स्लाइन हालेजस्तो मात्र भइरहेको छ। यसबाट संचालन खर्च उठ्नै धौधौ छ,' उनले भने, 'कम्पनी ठप्पै बन्द गर्ने कुरो पनि आएन। हेलिकप्टर सेवा यथावत छ है भन्ने सन्देश प्रवाहबाहेक यसबाट हुने केही छैन। यो समयमा नाफा आर्जन गर्ने कल्पना त परको कुरा हो।' 

प्रभु हेलिकप्टरका उपमहाप्रबन्धक राजलावत भन्छन्, 'अहिले  साताको १० देखि ११ वटा मात्र उडान भइरहेको छ। सिजनमा भने दिनमै १० देखि १२ वटा हुन्थ्यो। अहिले भएको उडानले संचालन खर्च पनि उठ्दैन।' यसका बाबजुद केही खर्च उठाउनका लागि विदेशी पर्यटक नआउन्जेल आन्तरिक पर्यटकलाई नै लक्षित गरेर विभिन्न गन्तव्यका भ्रमण प्याकेजहरु ल्याएको उनले बताए। 

सरकारले तत्काल बाह्य पर्यटक आगमनका लागि सहज हुने निर्णय नगरिदिएसम्म हेलिकप्टर कम्पनीको अवस्था झन् जटिल हुँदै जाने संचालकहरुको भनाइ छ।

यतिखेर हेलिकोप्टर र स्टल रुटका फिक्स्ड विङ्स अपरेटरहरु मर्कामा रहेको फिस्टेल एयरका अध्यक्ष विकास राणाले बताए। कोभिड-१९ विरुद्धको भ्याक्सिन फुल फ्लेजमा प्रयोगमा नआएसम्म यो उद्योग मर्कामा पर्ने उनको भनाइ छ।

राणा भन्छन्, 'भ्याक्सिन लगाउन सुरु भएपछि केही आशा पलाएको छ। भोलिको दिनलाई हेरेर पनि अहिले अप्ठ्यारो भयो भनेर व्यवसाय नै छोड्न त भएन। यहाँसम्म आउन कति पैसा, मेहनत लागेको छ। एक डेढ वर्षको पीडालाई लिएर गिभअप गर्नु हुँदैन। यही सोचेर उडान संचालन गर्दै आएका छौं।'

अवस्था सामान्य भएसँगै नेपालको पर्यटन र उड्डयन क्षेत्र पुनः सामान्य अवस्थामा आउने आशा हेलिकप्टर कम्पनी संचालकहरुको छ।  

विदेशी पर्यटकबिना साना जहाज र हेलिकप्टर संचालन असम्भव रहेको बताउँदै राणाले भने,'स्टल अपरेटरको बिजनेस प्लान बनाउँदा केही प्रतिशत पर्यटकको कम्पोनेन्टलाई पनि ध्यानमा राखिएको हुन्छ। तर अहिले पर्यटक नै छैनन्। त्यसले गर्दा समग्र अर्थतन्त्र गडबड हुन्छ। हेलिकोप्टर र साना जहाज त विदेशी पर्यटककै भरमा चल्ने हो।'

हाल गर्दै आएको उडानबाट कुनै पनि हेलिकप्टर कम्पनीको संचालन लागत नउठेको हेली एभरेष्टका निर्देशक शर्माको पनि भनाइ छ।
'अवस्था नाजुक छ। अहिले आन्तरिक उड्डयन क्षेत्रमा प्रभावित भएको भनेकै स्टल रुटमा उडान गर्ने वायुसेवा कम्पनी र हेलिकप्टर कम्पनी हुन्,' उनले भने, 'कोभिडयता हेलिकप्टर उद्योगले मात्र ८० करोड रुपैयाँ घाटा व्यहोरेका छन्। उडान संचालन नै नभए पनि पार्किङ शुल्क, कर्मचारी तलब, घर भाडा, विद्युत महसुल लगायत तिर्नै पर्‍यो ।'
 

सुस्त मागमा प्राइसवारले झन् कठिन
हेलिकप्टर संचालन गरिराखिएको भए पनि अहिलेको माग सुस्त रहेको अवस्थामा बिजनेस लिनका लागि कम्पनीहरु बीचको मूल्य प्रतिस्पर्धा (प्राइसवार) ले संचालन खर्च उठ्न पनि धौधौ रहेको कैलाश हेलिकप्टरका संचालक प्रतापजंग पाण्डेले बताए। सामान्यतया अवस्थामा हप्ताको ८०-९० वटा उडान गर्दै आएको कम्पनीहरूले यतिखेर साताभरमा बढीमा २० वटासम्म उडान गर्दै आएको उनले जानकारी दिए। 

'यो व्यवसाय ८० प्रतिशत विदेशी पर्यटकमै निर्भर छ। तर सरकारले स्पष्ट नीति र विदेशी पर्यटक आगमनमा सहजता नल्याइँदिदा यो उद्योग नै धरासायी हुने अवस्थामा पुगेको छ। नीति स्थायी नहुँदा ठाउँ नै पिच्छे नियम परिवर्तन हुँदै आएको छ,' पाण्डेले भने। उनका अनुसार यतिखेर हेलिकप्टरबाट गोसाइँकुण्ड र लाङटाङ लगायतका ठाउँको साइट सिइङ प्याकेज अघि सारिएको भए पनि यसमा सीमित आन्तरिक पर्यटकको मात्र सहभागिता रहँदै आएको छ।   

माग कम आपूर्ति धेरै भएका कारण यतिखेर हेलिकप्टर कम्पनीबीच आन्तरिक यात्रु तान्न पनि प्राइसवारको अवस्था छ। उनीहरुले छिटफुट उद्धार उडान र प्याकेज अन्तर्गतको साइट सिइङ सेवा सुरु गरेपनि मूल्य प्रतिस्पर्धाले गर्दा संचालन खर्च समेत उठ्न धौधौ रहेको मनाङ एयरका कर्पोरेट सेफ्टी म्यानेजर न्यौपानेले बताए। 

उनी भन्छन्, 'अवस्था नाजुक छ। फाट्टफुट्ट रेस्क्यु, साइट सिइङको हवाई सेवा दिँदै आएका छौं। अहिले सप्लाई धेरै डिमाण्ड कमको अवस्था छ। बिजनेस न्यून हुँदा ऋण लिएर कम्पनी संचालन गर्नुपर्ने बाध्यता छ।'
 

एयर डाइनेस्टी मार्च १ बाट संचालन हुँदै, मुस्ताङ र अन्नपूर्ण दोधारमा
माग नै नआएर उडान संचालन स्थगन गरेर बसेको एयर डाइनेस्टीले आउँदो मार्च १ तारिखदेखि उडान सुरु गर्ने योजना रहेको कम्पनीका अपरेशन म्यानेजर बालकृष्ण पण्डितले बताए।

उनी भन्छन्, 'यात्रुको माग नै नआएपछि हामीले केही समयका लागि उडान स्थगित गरेका थियौं। अब एक्सपिडिसनका लागि पर्यटक आउलान् कि भन्ने आशाले मार्च १ देखि पुनः उडान सुरु गर्न लागेका छौँ।' यद्यपि पर्यटक आउने सम्भावना भने न्यून रहेको उनी स्वयम् बताउँछन्।

दुई वर्ष अगाडिदेखि हेलिकप्टर उद्योगमा प्रवेश गर्न प्रक्रिया सुरु गरेका मुस्ताङ र अन्नपूर्ण लगायत नयाँ कम्पनीले तत्काल सेवा सुरु गर्ने अवस्था नरहेको जनाएका छन्। यी दुवै कम्पनीले एयरबस हेलिकप्टर खरिद गरि सञ्चालनमा ल्याउने योजना बनाएका थिए। 

तर कोभिडका कारण पर्यटन क्षेत्र संकटमा हुँदा अहिले संचालनमा रहेका कम्पनीहरुकै बिजनेस धरमराइरहेकाले यी कम्पनी यतिखेर दोधारमा छन्। कम्पनी सञ्चालकहरू तीन विकल्पमा छलफल गरिरहेका छन्- अनुमतिका प्रक्रिया पूरा गरेर नयाँ हेलिकप्टर भित्र्याउने, अरुका पुराना किन्ने वा कम्पनी सञ्चालनको योजना नै स्थगन गर्ने।