BIZMANDU
www.bizmandu.com

मेलम्ची खानेपानीको सुरुङमा पानी परीक्षण, आकस्मिक उद्धारका लागि हेलिकप्टर स्ट्याण्डबाइ

२०७७ फागुन १०

मेलम्ची खानेपानीको सुरुङमा पानी परीक्षण, आकस्मिक उद्धारका लागि हेलिकप्टर स्ट्याण्डबाइ
मेलम्ची खानेपानीको सुरुङमा पानी परीक्षण, आकस्मिक उद्धारका लागि हेलिकप्टर स्ट्याण्डबाइ

Tata
GBIME
Nepal Life

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्ग परीक्षण सुरु गरिएको छ। कुनै अनपेक्षित घटना भइहाले तत्काल उद्धार गर्न हेलिकप्टर स्ट्यान्डबाइ राखेर परीक्षण थालिएको हो।

खानेपानी मन्त्री मणिचन्द्र थापाले मुहान क्षेत्र अम्बाथान पुगेर सुरुङमार्गमा पानी पठाउनको कामको शुभारम्भ गरेका हुन्। प्रतिसेकेण्ड २६० लिटरका दरले सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको आयोजनाले जनाएको छ।

पानीले भर्न करिब १५ देखि २० दिन लाग्नेछ। मेलम्चीबाट पठाइएको पानी १६औं दिन सुन्दरीजल आइपुग्नेछ। पानी भरिएपछि सुरुङका दुवैतिरको गेट बन्द गरेर एक साता राखिने छ।

त्यसपछि उक्त पानी फ्लसिङ गर्न १५ देखि २० दिन लाग्नेछ। पानी खाली भएपछि कहीँ केही समस्या छ कि भनेर करिब १० दिन जति निरीक्षण हुने सम्बद्ध प्राविधिकले बताएका छन्। कुनै समस्या नदेखिए सुरुङमार्ग पानी हाल्नका लागि तयार हुनेछ। त्यसपछि स्थायीरूपमा पानी पठाउने काम गर्न सुरुङमार्ग तयार भएको मानिनेछ।  

अहिले खानेपानी आयोजनाको स्थायी हेडवर्क्स तयार नभएकाले कफर ड्याम (अस्थायी हेडवर्क्स)बाट पानी हालिएको हो। स्थायी हेडवर्क्स निर्माणाधीन अवस्थामा छ, जसको ९६ प्रतिशत काम सकिएको छ। तर जर्मनीबाट आउनुपर्ने सामान नआइपुगेकाले यसको अन्तिम काम रोकिएको छ। जर्मनीबाट फोहोर छान्ने मेसिन (ट्रयास र्‍याक क्लिनिङ मेसिन) ल्याउन लागिएको हो। वैशाखसम्ममा आइसक्ने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीको दाबी छ। उक्त मेसिन जडान गरेर जेठबाट स्थायीरूपमा पानी पठाउने काम गर्न सकिने उनको भनाइ छ।

आयोजनाको सुरुङमार्ग परीक्षण गर्न लागिएको यो दोस्रोपटक हो। यसअघि गत असार अन्तिम साता परीक्षण थालिएको थियो। तर असार ३० गते सुरुङमार्गको गेट फुस्किएर दुर्घटना भएपछि परीक्षण रोकिएको थियो । त्यसको करिब आठ महिनापछि त्यसमा भएका त्रुटिहरु सच्याएर पुन:परीक्षण सुरु गरिएको हो।

गत असारमा परीक्षण गर्दा टनेलको गेट फुस्किएर दुर्घटना भएपछि छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले डिजाइन अनुसार भित्रबाट राख्नुपर्ने गेट बाहिरपट्टिबाट राखिएकाले पानीको चाप थेग्न नसकेर त्यतिबेला दुर्घटना भएको निष्कर्ष निकालेको छ।

उक्त प्रतिवेदनका आधारमा करेक्सनको काम गरेर सुरुङ पुनः परीक्षण सुरु गरिएको हो। अहिले बाहिरबाट भित्रतिर धकेलेर खोल्न मिल्नेगरी गेट राखिएको छ। एउटा मात्रै गेट फुस्किएको भए पनि समान हिसाबले राखिएकाले अम्बाथान, ग्याल्थुम, सिन्धु लगायतका तीन अडिट टनेल र सुन्दरीजल आउटलेट गरि चारवटा गेट करेक्सन गरिएको छ। भारतीय कम्पनीले डिजाइन तथा निर्माण गरेर गेट जडान गरेको हो।

अहिले परीक्षणका क्रममा त्यस्तो दुर्घटना हुन सक्ने जोखिमलाइ मध्यनजर गरेर आकस्मिक उद्धारका लागि हेलिकप्टर तयार अवस्थामा राखिएको खत्रीले बताए। उनका अनुसार उद्धार योजना धुलिखेलदेखि काठमाडौंसम्मका अस्पतालहरुसँग समन्वय  गरिएको छ।

आयोजनाका इन्जिनियर शेखर खनालका अनुसार सोमबार सुरु भएको परीक्षण पूरा हुन करिब ५५ दिन लाग्नेछ। यसपटक सुरक्षाको पूर्ण व्यवस्था गरेर मात्रै परीक्षण थालिएको उनले बताए।