BIZMANDU
www.bizmandu.com

फोनलोनबाट निवेदनको केही मिनेटमै खातामा पैसा, एक सय दिनमा एक हजारले ऋण लिए

२०७७ फागुन १०

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालमा पहिलोपटक सुरु भएको फोन लोनमार्फत एक सय दिनमा एक हजार जनाले ऋण लिएका छन् । फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्नेहरु माझ आकर्षण बढिरहेको एफवान सफ्टले जनाएको छ।  

हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन्। हालसम्म नबिल, लक्ष्मी र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन्।

फोन लोनबाट बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार मोबाइलबाट ऋण लिन सक्ने एफवान सफ्टले जानकारी दिएको छ। बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ।

हाल बैंकले यस्तो लोन दुई लाख रूपैयाँसम्म दिने गरेका छन्। बैंकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाइल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ।

यसका लागि बैंकसम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झन्झट हुँदैन। ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल  बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन् ।

बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए।

उनले भने ‘एफवान सफ्टले जहिले पनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ। यसै क्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गर्‍यौं। जसलाई बैंकहरूले एडप्ट गरिदिनुभयो। यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ। आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौं।’

यसअघि एफवान सफ्टले इ-सेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरिसकेको छ। एफवान सफ्ट ग्रुपले एक हजारभन्दा बढीलाई रोजगारी दिएको जनाएको छ।