BIZMANDU
www.bizmandu.com

२० हजारभन्दा महँगो स्मार्टफोनको व्यापार बढ्यो, आयात घट्दा पनि साढे सात करोड बढी राजस्व


२० हजारभन्दा महँगो स्मार्टफोनको व्यापार बढ्यो, आयात घट्दा पनि साढे सात करोड बढी राजस्व
२० हजारभन्दा महँगो स्मार्टफोनको व्यापार बढ्यो, आयात घट्दा पनि साढे सात करोड बढी राजस्व

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड संक्रमण घट्दै गएपछि महँगा स्मार्टफोनको व्यापार बढ्न थालेको छ। सेयर बजार, घरजग्गा कारोबार हुँदै अन्य व्यवसायिक क्षेत्र पनि पुरानै अवस्थामा फर्किन थालेपछि महँगा स्मार्टफोनको व्यापार बढ्न थालेको हो।

भन्सार विभागका अनुसार माघ महिनामा ३ अर्ब ४३ करोड ७८ लाख ४८ हजार रुपैयाँ बराबरको ७ लाख ४ सय थान मोबाइल आयात भएको छ। यो आयातबाट सरकारले ५४ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबर भन्सार पाएको छ। जबकी  पुसमा तीन अर्ब रुपैयाँ बराबरको आठ लाख ९१ हजार सात सय ८७ थान स्मार्टफोन आयात भएको थियो।

पुसको भन्दा माघमा ४३ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ। आयात मूल्य बढेसँगै सरकारको भन्सार असुलीमा पनि वृद्धि भएको छ। पुसको भन्दा माघमा सरकारले करिब सात करोड ४० लाख रुपैयाँ बढी भन्सार असुलेको जनाएको छ।

उपभोक्ताहरु विस्तारै महँगा स्मार्टफोनतर्फ सिफ्ट हुने क्रम बढेपछि आयात मूल्य र भन्सार दुवै बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष तथा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले बताए। उपभोक्ताहरु २० हजार रुपैयाँ वा सोभन्दा कम मूल्यका स्मार्टफोनभन्दा मिडियम तथा हाइरेन्जका स्मार्टफोन खरिद गर्न थालेको उनको भनाइ छ।

'बेसिक फिचर फोन बोकिरहेका उपभोक्ताहरुले आफूलाई अपग्रेड गर्दै स्मार्टफोन, त्यो पनि लो रेन्जभन्दा माथिका अर्थात् मिडियम र हाइ रेन्ज खरिद गरिरहेकाले आयात संख्या कम देखिएको हो,' मल्होत्राले भने, 'नौ सय एक हजार रुपैयाँमा पाइने बेसिक फोनहरुको आयात स्वाट्टै घटेर मिडियम र हाइ रेन्जका स्मार्टफोनहरुमा उपभोक्ताहरु झुम्मिनु नै अहिलेको परिस्थितिको मुख्य कारक हो।'

कोभिड संक्रमणका बेलामा अनलाइन क्लासका कारण बेसिक स्मार्टफोनको बिक्री बढेको थियो। अनलाइन क्लासका लागि उपभोक्ताले सस्ता स्मार्टफोन किन्दा कोभिडका बेलामा मोबाइलको व्यापार चम्किएको थियो।

चालु आवको सात महिनामै झण्डै २४ अर्ब रुपैयाँ बराबरको ४३ लाख ६९ हजार थान स्मार्टफोन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। कोभिड-१९ ले भर्चुअल गतिविधिलाई बढाएसँगै उपभोक्ताहरु स्मार्टफोन खरिदमा झुम्मिएपछि मोबाइल व्यापारमा चमक छाउँदै आएको छ। ग्रे मार्केट न्यूनीकरण गर्न सके नेपालको मोबाइल व्यापार अझै उत्साहजनक मुडमा अघि बढ्ने व्यापारीहरुको भनाइ छ।

'ग्रे मार्केट पुरानै अवस्थामा फर्कियो'

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सीमा क्षेत्र सील गर्दा मोबाइलको ग्रे मार्केट बन्द भएको थियो। ग्रे मार्केट बन्द हुँदा वैधानिक रूपमा मोबाइलको व्यापार चम्किएको थियो।

कोरोना संक्रमण न्यून भएपछि सीमा क्षेत्र पनि अहिले खुकुलो भइसकेको छ। सीमा खुकुलो हुनेबित्तिकै अवैध रूपमा मोबाइल सेट आयात बढ्न थालेको छ। बजारमा बिक्री भइरहेका मध्ये ४०% स्मार्टफोनहरु अवैध तवरले बिक्री भइरहेको मल्होत्राले जानकारी दिए। केही महिनाअघि एसोसिएसनले अवैध रूपमा भित्रिएका स्मार्टफोन बिक्री गर्ने पसलहरुलाई चेतावनीयुक्त पत्र पठाएर बिक्री नगर्न गरेको पत्राचारप्रति सरकारले गम्भीर रूपमा लिएको देखिदैन्।

भारतीय सीमा केही सहज भएपछि पछिल्लो समय अवैध रुपमा भित्रिएका स्मार्टफोनहरु बजारमा ह्वात्तै बढेको देखिन्छ। अवैध रूपमा भित्रिएका मोबाइल सेटलाई काम नगर्ने बनाउने एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) जडान तीन महिना भित्र सञ्चालनमा ल्याउने तयारी साथ नियामक नेपाल दूसञ्चार प्राधिकरणले काम अघि बढाइरहेको जनाएको छ।

व्यवसायीहरुसँगको पछिल्लो भेटमा पनि प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले तीन महिना भित्रमा एमडीएमएस जडान गरी मोबाइल फोनको अवैध आयात रोक्ने विषयमा दृढ देखिएको व्यवसायीहरुले बताएका छन्।