BIZMANDU
www.bizmandu.com

हुलाकी राजमार्गको ठोरी-वीरगंज खण्ड कालोपत्रे गर्न दिन निकुञ्ज तयार, काम अघि बढाउन निर्देशन

२०७७ फागुन १०


काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जको अवरोधले रोकिएको  हुलाकी राजमार्गको काम अघि बढ्ने भएको छ।

Tata
GBIME
Nepal Life

निकुञ्जकै कारण हुलाकी राजमार्गको काम रोकिएको समाचार आइतबार प्रकाशित भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्नो तर्फबाट सडक निर्माणमा अवरोध नगर्ने प्रतिबद्धता जनाएको हो। विभाग र सडक विभागबीच भएको बैठकमा निकुञ्ज आसपासको ७ किलोमिटर बाहेकमा काम गर्न दिन निकुञ्ज तयार भएको छ।

सडकले आयोजनालाई ७ किमि बाहेकमा काम अघि बढाउन निर्देशन दिइएको सडकका महानिर्देशक अर्जुनजंग थापाले बताए। उनका अनुसार बाँकी ७ किलोमिटरमा भने थप अध्ययनपछि मात्रै गरिनेछ। सब बेस, बेस बिछ्याइसकेको उक्त सडक निर्माणका लागि करिब ८ अर्ब लाग्ने अनुमान गरिएको छ। उक्त रकम नेपाल सरकारकै स्रोतबाट निर्माण गरिने थापाले बताए।

आयोजनाका अनुसार निकुञ्जले राजमार्गको ठोरी-वीरगन्ज सडकको करिब २० किलोमिटरमा अवरोध गरेको थियो। 'उहाँहरुसँग हाम्रो वार्ता भयो। विश्वसम्पदा सुचीमा रहेकाले थप अध्ययन गरेर मात्रै अघि बढाउन आग्रह गर्नुभयो,' थापाले भने, '७ किमिमा चाहिँ युनेस्को लगायतसँग सहमति लिएर काम गर्ने भन्ने निर्णय भएको छ। त्यसका लागि निकुजञ्जले सहजीकरण गर्नेछ।'

ठोरी-वीरगंज खण्ड यो खण्ड ६० किलोमिटर छ। जसमा पछिल्लो ३० किमि निर्माण जिम्मा कालिका-बानियाँ जेभीले पाएको छ। सोही खण्डमा निकुञ्जले अवरोध गरेको थियो। जसमा कल्भर्ट लगायका संरचना निर्माण गरेर बेस,सब-बेस राख्ने काम भइसकेको छ। कालोपत्रे सुरु गर्नका लागि अलकत्रा छर्ने तयारी भइरहेको थियो। निकुञ्जले तत्काल रोक्न निर्देशन दिएपछि काम काम रोकिएर बसेको थियो।