BIZMANDU
www.bizmandu.com

इन्जिन फेल भएपछि युनाइटेड एयरलाइन्सका सबै जहाज ग्राउन्डेड, जापानले लगायो प्रतिबन्ध

२०७७ फागुन १०

Tata
GBIME
Nepal Life

कोलोराडोस्थित डेनभर विमानस्थलबाट उडे लगत्तै इन्जिन फेल भएको अमेरिकी जहाज कम्पनी युनाइटेड एयरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ जहाज ग्राउन्डेड गरेको बताएको छ।

शनिबार डेनभर विमानस्थलबाट टेक अफ लगत्तै युनाइटेड एयरलाइन्सको बोइङ ७७७ विमानको इन्जिन फेल भएर आगो लागेको थियो।

२ सय ३१ यात्रु र १० जना चालक दलका सदस्य रहेका उक्त जहाज तुरुन्तै डेनभर विमानस्थल फर्किएको थियो। घटनामा इन्जिनका टुक्रा खसे पनि थप अप्रिय अवस्था भने आउन पाएन।

यस घटनापछि जापानले  दुर्घटना भएको मोडल प्राट एण्ड ह्विटनी ४००० इन्जिन प्रयोग भएको बोइङ ७७७ को कुनै पनि विमान प्रयोग नगर्न निर्देशन दिइसकेको छ।

बोइङले पनि जापानको यस निर्णयको सम्मान गर्ने भन्दै उस्तै इन्जिन भएका सबै ७७७ विमानहरुमा अनुसन्धान अघि बढाउने जनाएको छ।

उत्पादक कम्पनी बोइङका अनुसार अहिले यो इन्जिन प्रयोग भएका बोइङ ७७७ जम्मा ६९ वटा संचालनमा छन्।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन एफएएका अनसार अमेरिकामा युनाइटेड एयरलाइन्समात्रै यस्तो मोडलको जहाज प्रयोग गर्ने कम्पनी हो। बाँकी विमानले जापान र दक्षिण कोरियामा उडान गर्दै आएको छ।

होनोलुलु जाँदै गर्दा युनाइटेडको फ्लाइट नम्बर ३२८ को दाहिने इन्जिन फेल भएर दुर्घटना भएको थियो।

एफएएका प्रशासक स्टिभ डिकसनले भने –'हामीले उक्त दुर्घटनाका बारेमा उपलब्ध सबै सुरक्षाको अवस्था तथा तथ्यहरुको समीक्षा गरेका छौं।प्रारम्भिक सूचनाका आधारमा हामी के निष्कर्षमा पुगेका छौं भने यस मोडलको इन्जिनमा थप जाँचको आवश्यकता देखिएको छ।'

जापानले यो मोडलको इन्जिन प्रयोग भएका सबै बोइङ ७७७ लाई अर्को निर्देशन नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ। यो विमानको उडान अवतरण र कुनै पनि उडान तालिका नराख्न निर्देशन दिइएको हो।

गत डिसेम्बरमा जापानको जेएएल एयरलाइन्सको विमानको देब्रे इन्जिनमा गडबडी भएका कारण उडान रोक्नुपरेको थियो। उक्त विमान पनि शनिबार घटना भएको जहाज जत्तिकै पुरानो अर्थात २६ वर्ष पुरानो थियो।

यसअघि सन् २०१८ मा पनि युनाइटेड एयरलाइन्सको जहाज होनोलुलुमा ल्याण्ड भए लगत्तै भाँचिएको थियो।